
कर्तव्य ज्यान मुद्दामा दाेषी ठहर भएपछि कैद भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसलाले आफूमाथि न्याय नगरेको बताएका छन्।
मंगलबार सर्वोच्च अदालतले पूर्वसांसद तथा टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसलालाई सदर गरेको छ।
‘सर्वोच अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलाेकनको बाटो हाम्रो लागि खुला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ। साथै सम्मानित अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नुपर्दछ,’ उनले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्न हुन अनुरोध गर्दछु। मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाइमा छौँ।’
..............
पार्टीका नेता, कार्यकर्ता, बुद्धिजीवी,मेरा समर्थक तथा दाजुभाइ, दिदीबहिनीहरू,
मिति २०८० जेठ २ गते सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलाेकनको बाटो हाम्रा लागि खुला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ। अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नुहुन अनुरोध गर्दछु। मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेकाे छु !
म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु !
स्वस्थ छु रत्तिभर मन विचलित छैन, पुस्तक लेखिरहेको छु ।
केही दिनमा ‘धरातलु’ नामक पुस्तकको साथ तपाईंसमक्ष साक्षात हुनेछु भन्दै बिदा चाहान्छु ।
जय नागरिक
रेशम चौधरी
डिल्लीबजार कारागारबाट ॥