
भुटानी शरणार्थी बनाउन भन्दै जुटाइएका युवालाई विश्वास दिलाउन तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि पुग्थे वेलावेला शेर्पाको कार्यालय
भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै पैसा उठाउन तथा कागजात मिलाउने प्रयोजनका लागि कांग्रेस पूर्वसांसद आङटावा शेर्पाले ललितपुरमा कार्यालय नै सञ्चालन गरेको पाइएको छ । यसरी पैसा उठाउन तीन लटमा तीन ठाउँमा कार्यालय राखिएको पीडितहरूले बताएका छन् । यही प्रकरणमा शेर्पा अहिले हिरासतमा छन् ।
ठगी धन्दाका लागि खोलिएको कार्यालयमा पूर्वसांसद शेर्पा आफैँ बस्थे । उनको छुट्टै च्याम्बर थियो । आवेदकलाई विश्वासमा पार्न तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पनि वेलावेला उनको कार्यालयमा पुग्ने गर्थे । रेटिनासहितको फोटो, डिजिटल फिंगर प्रिन्ट संकलन र फाराम भराइसकेपछि प्रत्येक आवेदकसँग ६ लाख रुपैयाँ असुल गरिन्थ्यो । अधिकांशले आङटावा शेर्पाको नाममै चेक काटेको र नगद दिनेहरूले पनि उनकै बैंक खातामा जम्मा गरिदिएको पीडितहरूको भनाइ छ ।
०७० मा संविधानसभा सदस्य रहेका रामेछापका शेर्पा ठगीमा मुछिएका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणनिकट मानिन्छन् । गत १८ चैतमा प्रहरी कार्यालयमै पुगेर उनले पैसा फिर्ता गराइदिने आश्वासन दिँदै खाणलाई बयानमा नपोल्न अभियुक्तहरूसँग आग्रह गरेका थिए । त्यसको दुई–चार दिनमै केही रकम फिर्ता पनि गरिएको सूचना प्रहरीले पाएको छ । पूर्वगृहमन्त्री खाण अहिले प्रहरी हिरासतमै छन् ।
पीडितका अनुसार आवेदन भरेका अधिकांश युवा दोलखा र रामेछापका छन् । शेर्पाले नक्कली भुटानी शरणार्थी बनाएबापत ५० लाख तिर्नुपर्ने आवेदकहरूलाई बताएका थिए । जसमध्ये ६ लाख रुपैयाँ फाराम भर्ने क्रममा लिने भनिएको थियो । २४ लाख नक्कली भुटानी शरणार्थीको कार्ड आएपछि र बाँकी २० लाख भिसा झरेपछि दिने सहमति गरिएको थियो । फाराम भर्ने क्रममै ६ लाख भने असुल गरिसकिएको थियो । यो धन्दामा शेर्पाले तीन सयभन्दा धेरैसँग रकम उठाएको पीडितहरूको भनाइ छ ।
नयाँ पत्रिकाको सम्पर्कमा आएका एक पीडितले भने, ‘आङटावा शेर्पाले भुटानी शरणार्थी बनाएर अमेरिका, अस्ट्रेलियालगायतका राम्रा देश पठाइदिने र त्यसका लागि ५० लाख लाग्छ भनेका थिए । गाउँगाउँबाट युवा जम्मा गराएर फाराम भर्न लगाए । मैले पनि फारम भरेपछि ६ लाख बुझाएको हुँ ।’
दोस्रो लटमा पैसा उठाउन सानेपामा दुई कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएको थियो । जहाँ कागजपत्र मिलाउन सरकारी कर्मचारीको जस्तै ड्रेस भएका कर्मचारी खटिएका थिए । पहिलो लटमा रकम उठाउन पुल्चोकस्थित साझा पेट्रोल पम्पनजिक र तेस्रो तटको कार्यालय सानेपाकै अर्को भवनमा राखिएको उनीहरूले बताएका छन् ।
शेर्पाले एक वर्षअघि दोस्रो लटका लागि ठूला दुई कोठा रहेको कार्यालय खोलेका थिए । पहिलो कोठामा नक्कली भुटानी शरणार्थीका आवेदकलाई जम्मा गरिन्थ्यो भने अर्कोमा उनीहरूका लागि आवश्यक कागजात मिलाउने र रकम बुझ्ने धन्दा गरिन्थ्यो । नयाँ पत्रिकाको सम्पर्कमा आएका दोलखा घर भएका एक पीडितका अनुसार सरकारी पोसाकजस्तै ड्रेसमा हुने कर्मचारीले आवेदकको आँखाको रेटिनासहितको फोटो खिच्थे, जसका लागि आवश्यक क्यामेराजडित अत्याधुनिक कम्प्युटर त्यहीँ जडान गरिएको थियो । आवेदकको डिजिटल फिंगर प्रिन्ट लिने मेसिन पनि व्यवस्था गरिएको थियो ।
पीडितका अनुसार नक्कली भुटानी शरणार्थीका लागि छुट्टै आवेदन फाराम निर्माण गरिएको थियो । फारामको माथिल्लो भागमा एकातर्फ गृह मन्त्रालयलाई सम्बोधन गरिएको छ भने अर्कोतर्फ आवेदकको फोटो टाँसिएको छ । मध्यभागमा निवेदन दिनुको कारण र अन्तिममा आवेदकको नाम, जन्ममिति, लिंग, बाबुको नाम, भुटानको ठेगाना, भुटान छाडेको मिति, नेपाल प्रवेश गरेको मिति, हाल नेपालमा बसेको ठाउँ, परिवारका सदस्यको नामावली, जन्ममिति र नाता उल्लेख गरिएको विवरण भर्ने व्यवस्था गरिएको छ ।
बाहिरै फाराम भराएर मात्रै उनीहरूले कार्यालयमा प्रवेश गर्न पाउने व्यवस्था गरिएको थियो । कार्यालयमा प्रवेश गर्नुअघि प्रत्येक आवेदकको शरीर खानतलासी हुन्थ्यो । मोबाइल, क्यामेराजस्ता सामग्री बाहिरै राख्नुपथ्र्यो । खानतलासी गरेर मात्रै भित्र पठाइन्थ्यो । ‘राष्ट्रिय परिचयपत्रको फोटो खिचेजस्तै हाम्रो फोटो खिचियो । पाँचवटै औँलाको फिंगर प्रिन्ट लिइयो । काम गर्नेहरू सबै सरकारी कर्मचारीको पोसाकमा थिए । घाँटीमा पनि सरकारी कर्मचारीको जस्तै कार्ड पनि झुन्ड्याएका थिए । कागजात तयार गर्ने ठाउँमा मोबाइल लैजान बन्देज गरिएको थियो,’ रामेछापका अर्का एक पीडितले भने ।
शरणार्थीको नाममा विदेश पठाइदिने नाममा आङटावाले ठगी गरेको थाहा पाएपछि पीडितहरूले गत माघमा नेपाल शेर्पा संघमा उजुरी दिएका थिए । अधिकांश पीडित शेर्पा समुदायकै भएकाले फसेको रकम उठाउन पहल गरिदिन भन्दै उनीहरूले संघमा उजुरी दिएका थिए । आङटावा र पीडितहरूलाई सँगै राखेर संघका महासचिव लाक्पा शेर्पाले विवाद मिलाउन पहल पनि गरेका थिए । छलफलमा आङटावाले दुई महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको महासचिव शेर्पाले बताए । तर, केही पीडितबाहेक अधिकांशको रकम फिर्ता गरिएको छैन ।
‘भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै आङटावा शेर्पाले रकम असुल गर्यो । तर, हालसम्म न परिचय पत्र बनाइदियो, न रकम फिर्ता गर्यो भनेर पीडितहरू संघमा उजुरी लिएर आएका थिए । हामीले आङटावालाई बोलाएर छलफल पनि गर्यौँ । दुई महिनाभित्र सबैको रकम फिर्ता गर्छु भनेका थिए । तर, पछि रकम फिर्ता गरे कि गरेनन् त्यस विषयमा अपडेट छैन,’ महासचिव शेर्पाले नयाँ पत्रिकासँग भने ।
जिल्ला प्रहरी परिसर टेकुका प्रमुख एसएसपी दानबहादुर कार्कीले कार्यालय नै स्थापना गरेर ठगी गरेको उजुरी नआए पनि अहिले आङटावाबारे अनुसन्धान भइरहेको बताए । ‘त्यही विषयमा त हामीकहाँ उजुरी आएको छैन । तर, हामी अनुसन्धान गरिरहेका छौँ । वास्तविकता खुल्दै जाला,’ उनले भने ।
बाहिरिए तीन भिडियो क्लिप
आङटावा शेर्पाले नक्कली भुटानी शरणार्थी बनाउन कागजपत्र तयार गर्दाको सन्दर्भका तीन भिडियो क्लिप पीडितहरूले उपलब्ध गराएका छन् । पहिलो भिडियो क्लिपमा आङटावा आफैँ देखिन्छन् भने उनको सामुन्ने केही युवा छन् । पीडितका अनुसार युवाहरू नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरू हुन् । उक्त भिडियो ललितपुरकै बखुन्डोलस्थित बिगमार्टसँगै रहेको टिड्लट्स रेस्टुरेन्टमा जम्मा हुँदाको हो । पीडितका अनुसार भिडियो ३ मे २०२२ मा खिचिएको हो ।
त्यस्तै, आङटावाले सानेपामा खोलेको दोस्रो लटको कार्यालयमा नेपाली युवाहरू जम्मा भएको अर्को भिडियो छ, जहाँ शेर्पा भने देखिएका छैनन् । उक्त भिडियो आँखाको रेटिनाको फोटो र फिंगर प्रिन्ट लिन लाइनमा बस्दाको समयको भएको पीडितले बताए । युवाहरू बसेकोभन्दा अर्को कोठामा रेटिनाको फोटो र फिंगर प्रिन्ट लिने गरिन्थ्यो, जहाँ क्यामेरा लैजान बन्देज गरिएको थियो । शरीर खनतलासी गर्न सोही कोठाबाहिर सूक्ष्म ढंगले खानतलासी गरिन्थ्यो ।
त्यस्तै, तेस्रो भिडियो पनि सार्वजनिक भएको छ, जहाँ आङटावा र पीडितबीच विवाद भएको देखिन्छ । भिडियोमा आङटावा युवाबाट घेरिएका छन् । रकम फिर्ताका लागि युवाले उनलाई दबाब दिइरहेका छन् । शेर्पा भने सम्झाउने प्रयास गरिरहेका देखिन्छन् । उनीसँगै मिलन गौतम नामका अर्का युवा पनि देखिन्छन् । पीडितका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकारमध्ये मिलन पनि एक हुन् । उनकै नेतृत्वमा रामेछाप, दोलखा र सिन्धुपाल्चोकबाट युवा भेला गरिएका थिए । भिडियोमा उनी पनि युवालाई आश्वासन दिइरहेका देखिन्छन् । घटना सर्वजनिकपछि मिलन अहिले फरार छन् ।
नयाँ पत्रिकाको सम्पर्कमा आएका पीडितले भने, ‘आङटावालाई पैसा उठाउन लगाउने दृश्यमा देखिएको तिनै व्यक्ति हुन् । उनकै आश्वासनपछि आङटावाले युवा भेला गरेर रकम संकलन गरेका थिए । हामीसँग कुराकानी गर्दा उनले आफूलाई मिलन गौतम भनेर परिचय दिन्थे । घर झापा भन्थे ।’
अनुसन्धानका लागि तीन दिनको म्याद थप
हिरासतमा रहेका आङटावाविरुद्ध जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको छ । तर, उनलाई हिरासत नभई ट्रमा सेन्टरमा राखिएको छ । हिरासतमा ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका उनलाई प्रहरीले अस्पतालमा राख्ने निर्णय गरेको हो ।
टाउकोमा चोट लागेका उनको अवस्था उपचारपछि सामान्य छ । टाउकोमा सात टाँका लगाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले आङटावाविरुद्ध तीन दिनको म्याद थप भएको र उनी घाइते भएकाले अस्पतालमा राखिएको बताए ।
अनुसन्धान अन्तिमतिर, दबाबमा प्रहरी
राज्यकै संलग्नतामा नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बिहीबारभित्र रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरी तयारी छ ।
अनुसन्धान अन्तिम चरणमा पुगे पनि यो प्रकरणका कतिपय पक्ष अझै खुल्न सकेका छैनन् भने थप उच्चपदस्थमाथि पनि प्रहरीले बलिया प्रमाण जुटाउन सकेको छैन । अनुसन्धानको हदम्याद सकिन लाग्दा प्रहरी दबाबमा परेको छ । यद्यपि, पक्राउ परिसकेका व्यक्तिविरुद्ध भने प्रहरीले बलिया प्रमाण जुटाइसकेको छ ।
१३ जना हिरासतमा रहेको यो मुद्दामा १२ जनाको बयान सम्पन्न भइसकेको छ । मंगलबार प्रहरीमा उपस्थित भएका पूर्वसभासद् आङटावा शेर्पाको बुधबार बयान हुनेछ । उनको बयान सकिएपछि बिहीबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले छिटो प्रतिवेदन बुझाउन प्रहरीलाई आग्रह गरेको छ ।
‘अब एकजनाको मात्र बयान बाँकी भएकाले बिहीबारसम्म प्रतिवेदन आउँछ भन्ने छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने भन्छन्, ‘अनुसन्धान प्रतिवेदन हेरेर कुन–कुन मुद्दामा अभियोजन गर्ने तय गर्नेछौँ ।’
पक्राउ परेका सबैलाई संगठित अपराध र ठगी मुद्दा चल्ने निश्चितजस्तै रहेको स्रोत बताउँछ । साथै केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चल्नेछ । राज्यविरुद्धको अपराधको कसुर आकर्षित हुने कि नहुने अन्योल नै छ । ठगी मुद्दामा सात वर्षसम्म र त्यसमा संगठित अपराध मुद्दा जोडिँदा थप ५० प्रतिशत सजाय हुने कानुनी प्रावधान छ । जसअनुसार सबैलाई कम्तीमा साढे १० वर्ष कैद सजायको मागदाबी गर्ने प्रहरी तयारी छ । विशिष्ट श्रेणी तथा सांसद पदमा रहेकालाई थप दुई वर्ष सजाय हुने माग दाबी पनि लिने सम्भावना छ । यसबाहेक सरकारी पदमा रहेकाको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वसाधारणको हकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उनीहरूको सम्पत्ति छानबिनका लागि लेखिपठाउने तयारी छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँछन् । ‘हदम्याद हेरेर अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ उनी भन्छन्, ‘एक–दुई दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाउँछौँ ।’
संगठित अपराध मुद्दामा ६० दिनभित्र मुद्दा चलाउनुपर्ने प्रावधानका कारण १० जेठभित्र यससम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता हुनेछ । उच्चपदस्थ जोडिएकाले मुद्दालाई कमजोर बनाउन प्रहरी तथा सरकारी वकिललाई दबाब दिने चलखेल विभिन्न व्यक्तिबाट भइरहेको स्रोत बताउँछ ।
सुरुमा दबाबकै कारण प्रहरीले उच्चपदस्थमाथि अनुसन्धान गर्न सकेन । पछि अनुसन्धान सुरु गरे पनि प्रमाण जुटाउन पर्याप्त समय नभएको प्रहरी अधिकारी बताउँछन् । जसकारण पक्राउ परेका बिचौलियाले पैसा बुझायौँ भनेर नाम लिएका थप व्यक्तिको हकमा प्रहरी अनुसन्धान अधुरै हुन पुगेको छ । ‘पछि प्रमाण जुटेको अवस्थामा पूरक अभियोजन लैजानेबारे छलफल गरिरहेका छौँ,’ प्रहरी स्रोत भन्छ, ‘त्यसो गर्दा अन्य व्यक्तिमाथि सधैँ जोखिम हुने भएकाले अहिले नै सबै टुंगो लगाउन दबाब परिरहेको छ ।’
खाण र रायमाझीको इन्कारी बयान
यो मुद्दामा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणको बयान सकिएको छ । रायमाझीको बयान सोमबार बेलुका नै सकिएको हो भने खाणको सोमबार र मंगलबार बयान लिइएको हो । दुवैजनाले इन्कारी बयान दिएको स्रोत बताउँछ ।
‘रायमाझीजीले फटाफट प्रश्नका जवाफ दिनुभयो,’ अनुसन्धानमा आबद्ध प्रहरी भन्छन्, ‘तर, खाणले शब्द–शब्द ख्याल गरेर बोलेका छन्, धेरैजसोमा थाहा छैन भन्ने जवाफ छ ।’ उनले छोटो–छोटो बोल्दै सबै आरोप अस्वीकार गरेका छन् । तर, दुवैजनाविरुद्ध बलिया प्रमाण रहेको प्रहरी अधिकारी बताउँछन् ।
सोमबार बयानका क्रममा मुख्य प्रश्नमा प्रवेश गरेलगत्तै स्वास्थ्यको कारण देखाएर खाणले बयान रोकेका थिए । त्यसपछि कानुन व्यवसायीहरूसँग विस्तृत छलफल गरेर मात्र मंगलबार बोलेका हुन् । ‘तर, धेरै बाठो हुन खोज्दा उहाँ बयानमा चुक्नुभएको छ,’ प्रहरी स्रोतले भन्यो । खाणले गृहमन्त्री हुँदा बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराउनेदेखि प्रतिवेदन नै किर्ते गरेर नाम थप्नेलगायत काम गरेको प्रहरी दाबी छ । बिचौलिया मात्र नभई पक्राउ परेका सचिव टेकनारायण पाण्डेले समेत उनको विपक्षमा बयान दिएका छन् ।