
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाल प्रहरीको भर्तीका लागि अन्तरवार्ता काठमाडौंमा गर्ने गरी बोलाइएको भन्दै आपत्ति जनाए। केही दिनपछि हुन लागेको प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौं बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उनको भनाइ छ।
‘अब दुई, तीन दिनपछि नेपाल प्रहरीको भर्तीका लागि अन्तरवार्ता भइरहेको छ। प्रहरी जवानहरूको पनि छनोट हुने गर्छ, कार्यालय सहयोगीदेखि लिएर सानो पोस्टको अन्तर्वार्ता भइरहेको छ। त्यसले ठूलो भिड काठमाडौंमा भइरहेको छ, प्रहरी जवानको भर्ना जिल्ला जिल्लामा गर्नुपर्छ,’ उनले भने।
नेपाली सेनाले अहिले जिल्लामै छनोट हुने व्यवस्था गरेको उल्लेख गर्दै सांसद बडूले नेपाल प्रहरीको भर्ती पनि जिल्लाबाटै हुने पद्धति विकास गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराए।