Skip This
इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा बढ्दो जनआक्रोश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Saturday, 27 July, 2024
अलजजिरा
र्‍
२o८o जेठ २ मंगलबार o७:३५:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा बढ्दो जनआक्रोश

Read Time : > 2 मिनेट
अलजजिरा
र्‍
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार o७:३५:oo

पाकिस्तानको राजनीतिक विमर्शमा ‘अभूतपूर्व’ शब्द यति धेरै प्रयोग हुने गर्छ, कहिलेकाहीँ लाग्छ, यस शब्दले अर्थ नै गुमाइसक्यो । तर, फेरि त्यहाँको राजनीतिक स्थितिलाई सटिक रूपमा यही शब्दले प्रतिबिम्बित गर्ने गर्छ । ह्विलचेयरमा बसेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट अर्धसैनिक बलको टोलीले नाटकीय रूपमा गिरफ्तार गरेपछि पुनः यही स्थिति देखिएको छ । खानको पक्राउले क्रोधको बाँध फुटेजस्तो स्थिति देखियो ।

आक्रोशको बाढी देशभरका सडकमा छताछुल्ल भयो । तथापि पाकिस्तानीहरूको आक्रोश नयाँ भने होइन । पाकिस्तानले धेरै हिंसात्मक विरोध झेलेको छ र निःसन्देह भविष्यमा पनि तिनलाई देख्नु पर्नेछ । तर, यसपटक आक्रोशको निशानामा विगतमा कुद्धभन्दा क्रुद्ध भिडको निसाना नपरेको निकाय पर्‍यो : शक्तिशाली सैन्य प्रतिष्ठानको प्रतीक र किल्ला । 

प्रदर्शनकारीले लाहोर कोप्र्स कमान्डरको सरकारी निवासमा तोडफोड गरे । सैन्य कमान्डरको निवासको फर्निचर थुपारेर आगजनी गरिएको फुटेज सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । केही प्रदर्शनकारीले निवासका पेन्टिङदेखि गल्फ क्लबसम्मका सामान गौरवका साथ लिएर हिँडेको देखियो । एक प्रदर्शनकारीले त बँगैचामा चरिरहेको मयुर नै लिएर निस्किरहेको पनि देखियो ।

दुई वर्षअघि मात्र खानको पार्टी पिटिआई र सैन्य प्रतिष्ठानबीचको सम्बन्ध मजबुत देखिन्थ्यो, जुन इमरान खानका राजनीतिक विपक्षीको चिन्ताको विषय बनेको थियो । खानको कार्यकालमा धेरै विपक्षी नेता गिरफ्तारी र कारबाहीको सिकार भएका थिए ।

महत्वपूर्ण सामान निकालिसकेपछि पूरै भवनमा आगो लगाइयो । त्योभन्दा पनि महत्वपूर्ण घटना सेनाको स्नायु केन्द्र मानिने रावलपिन्डीस्थित सेनाको मुख्यालयमा देखियो, जहाँ एक महिलाको नेतृत्वमा रहेको एक भिड पसेको थियो । अझ अचम्म, तिनले त्यहाँ कुनै प्रारम्भिक प्रतिरोधको सामना गरेनन् । कतै सेनाले मुख्यालयमा प्रवेश दिएर इमरान खानको पार्टीविरुद्ध व्यापक धरपकडको बहाना खोजेको त होइन भन्ने आशंका पनि देखियो । पिटिआई नेताहरू पछिल्लो हिंसाले निम्त्याउने जोखिमबाट सचेत भएर होला, आफ्नो पार्टीलाई हिंसाबाट टाढा राख्ने प्रयास गरिरहेका थिए । 

केही विज्ञले सम्भवतः सेनाको उच्च पंक्तिमा विभाजनका कारण सो दिन प्रतिरोध नभएको चिन्ता पनि व्यक्त गरे । तथापि हालसम्म यस अनुमानलाई समर्थन गर्ने कुनै प्रमाण भेटिएको छैन । सम्भवतः ठूलो रक्तपात हुन सक्ने प्रक्षेपणमा सैन्य अधिकारीले संयमता अपनाएको हुन सक्छ । तर, पाकिस्तानको राजनीतिक खेलमा वास्तविकता के हो र कल्पना के हो प्रायः बताउन असम्भव हुन्छ ।

पाकिस्तानका अन्य भागमा पिटिआई समर्थकले सार्वजनिक भवन, बस र टोल बुथ जलाए । कम्तीमा एउटा विद्यालय खरानीमा परिणत भएको पुष्टि भएको छ । धेरै स्थानमा प्रदर्शनकारी र सुरक्षा बलबीच हिंसात्मक झडप भएका थिए । झडपमा कैयौँ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ । पिटिआईका धेरै वरिष्ठ नेता पक्राउ परेका छन् र पार्टीविरुद्धको धरपकड तीव्र भएको छ । विद्युतीय माध्यमलाई दंगाका फुटेज प्रदर्शन गर्न रोक लगाइएको छ । ट्विटर, फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जाल अवरुद्ध छन् । 

दुई वर्षअघि मात्र खानको दल पिटिआई र सैन्य प्रतिष्ठानबीचको सम्बन्ध टुट्न नसकिने बलियो देखिन्थ्यो, जुन खानका राजनीतिक विपक्षीको चिन्ताको विषय बनेको थियो । खानको कार्यकालमा धेरै विपक्षी नेता गिरफ्तारी र कारबाहीको सिकार बनेका थिए, जुन अहिले खान आफैँले सामना गर्नुपर्ने स्थिति आएको छ । खान र सैन्य प्रतिष्ठानबीचको सम्बन्ध कुनै वेला गहिरो रहेर पछि एकअर्काको दुस्मनीमा बदलिएको कथाजस्तो देखिन्छ ।

१७औँ शताब्दीका एक अंग्रेज नाटककारले यस्तो सम्बन्धबारे भनेका छन्, ‘घृणामा बदलिएको प्रेममा जस्तो क्रोध अरू कतै पाइँदैन ।’ खान र सेनाबीच सम्बन्ध किन तिक्त बन्यो भन्ने कारण भने अझै खुलिसकेको छैन । विश्वासको मत लिने समयमा खानविरुद्ध कुनै वेला उनलाई सत्तामा पुर्‍याउन र त्यहाँ कायम राख्न भूमिका खेलेको संस्था नै हात धोएर लाग्यो । त्यही संस्थाले पिटिआईका प्रमुख सत्ता साझेदार दल र पार्टीकै केही सांसदलाई अविश्वासको मत दिन प्रेरित गरेको मानिन्छ । तर, खान सेनाले सोचेभन्दा निकै चतुर प्रतिद्वन्द्वी साबित भए । उनले सुरुमा आफ्नो बर्खास्तीमा अमेरिकालाई दोष दिए । पछि उनको मुख्य निसानामा तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवा परे । 

कुनै वेला खानले प्रतिरक्षा गर्ने र प्रशंसा गर्ने जनरल बाजवा प्रमुख साझेदार र सहयोगी भएबाट उनकै भाषामा ‘देशद्रोही’मा बदलिए । बाजवा अब पिटिआईका अत्यन्त मुखर समर्थकको आलोचनाको तारो बन्न थाले । सामाजिक सञ्जाल र सार्वजनिक र्‍यालीमा विरोधको विषय उनी हुन्थे । संस्थानका षड्यन्त्रविरुद्ध आफूहरूसँग उभिन खानका समर्थकले सबैलाई आह्वान गर्न थालेका थिए । यी विरोध र अडानमा पाखण्डपन हुँदैनथ्यो भने ती प्रशंसनीय हुने थिए । त्यो किनभने केही समयअघि यिनै नव–क्रान्तिकारी सेनाबारे तिनले अहिले प्रयोग गरेभन्दा नरम र सतर्क टिप्पणी गर्नेलाई ‘देशद्रोह’को बिल्ला भिराइदिन्थे । आलोचनात्मक पत्रकारमाथि हुने हमला, अपहरण र हत्या प्रयासप्रति ती या खुसी व्यक्त गर्थे या केही थाहा नपाएझैँ गर्थे । खानले उनको कार्यकालमा आफ्ना राजनीतिक विपक्षीलाई जेल हाल्ने कुरालाई प्राथमिक नीतिमध्ये एक बनाएका थिए ।