
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन्।
उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको दाबी गरे। उनले चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको बताए।
राष्ट्र बैंकले बैंकको कर्जामा पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिए पनि पाँच करोडमा मात्रै सीमित भएको बताउँदै उनले असार मसान्तसम्म बैंकको कर्जामा पाँच करोडसम्मको मात्रै पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा पर्याप्त नभएको धारणा राखे।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझावहरू सम्बोधन नै भएनन् भन्न नमिल्ने पनि बताए।
उनले भने, ‘महासंघले दिएको सुझावअनुसारको आउन सकेन। मौद्रिक नीतिको समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन सक्दैन। बैंकको दर कम गर्ने काम गरेको छ। केही सुझाव सम्बोधन भएका छन्, महासंघले केही भएन भन्नुहुँदैन। अहिलेको अर्थतन्त्रमा देखिएका समस्या र चुनौती रहेका छन्। महासंघले दिएका सुझाव मौद्रिक नीतिको समीक्षामा सम्बोधन गरेको छैन। ती सुझाव आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्छ।’