१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१ जेठदेखि एमडिएमएस प्रणाली सुरु

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:२२:oo

१ जेठदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारले दुई थान मोबाइल सेट ल्याउन पाउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस सुरु गर्न लागेको हो । 

प्राधिकरणले गत १५ पुसदेखि नै एमडिएमएस सञ्चालनमा ल्याउने तयारी गरेको थियो । सो समयमा यात्रुहरूले आफ्ना साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ बमोजिम विदेशबाट फर्केका नेपालीले साथमा एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था थियो । सोही व्यवस्थाअनुसार भन्सार विभागले विदेशबाट फर्केका नेपाली नागरिकले साथमा ल्याएको एउटा मोबाइल मात्रै एमडिएमएसमा दर्ता गर्ने प्रज्ञापनपत्र दिने भयो । जसअनुसार वैदेशिक रोजगारीबाट फर्केका कामदारले पनि एउटा मात्रै मोबाइल ल्याउन पाउने भए । रेमिट्यान्समा योगदान गर्ने कामदारहरूले आफ्नो परिवारका लागि थप मोबाइल ल्याउन नपाउने भएपछि यसको चौतर्फी विरोध भयो । लगतै, सरकारले केही समयका लागि यो प्रणाली लागू नगर्न आदेश दियो । 

तर, २६ वैशाखमा सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा कम्तीमा ६ महिना काम गरी फर्केका कामदारलाई थप एक थान मोबाइल सेट ल्याउने दिने निर्णय गर्‍यो । यो निर्णयसँगै अन्योलमा परेको एमडिएमएस सञ्चालनको तयारी गरिएको प्राधिकरणले जनाएको छ । 

विदेशबाट ल्याएका मोबाइल आफैँ दर्ता गर्न सक्ने
विदेशबाट फर्केका नेपालीले साथमा ल्याएको मोबाइल सेट आफैँ अनलाइनमार्पmत एमडिएमएसमा दर्ता गर्न सक्नेछन् । भन्सार विभागका अनुसार यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ बमोजिम विदेश गएका नेपाली यात्रुले नेपाल फर्कंदा आफूले प्रयोग गरेकोबाहेक साथमा नयाँ एक सेट मोबाइल ल्याउन सक्नेछन् । सो मोबाइल सेट व्यक्ति आफैँले अनलाइनमार्फत एमडिएमएसमा दर्ता गर्न सक्नेछन् । 

त्यस्तै, व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेटहरू प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । तर, यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्तिले राहदानी, नागरिकता, डिपार्चर स्ट्याम्प र अनअराइभल राहदानीको पृष्ठ वा बोडिङ पास प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्नेछन् ।  

एमडिएमएस प्रणाली लागू भएपछि मोबाइल आयातकर्ताले सबै मोबाइल प्रणालीमा दर्ता गरी ल्याउनुपर्नेछ । यो सिस्टम सञ्चालनमा आएसँगै मोबाइल आयातकर्ताले पनि प्राधिकरणसँग अनुमति लिएर र आइएमइआई नम्बर दर्ता गरेर मात्रै मोबाइल आयात गर्नुपर्नेछ । 

त्यस्तै, प्राधिकरणले नेपाली बजारमा मोबाइल खरिद गर्दा एमडिएमएसमा दर्ता भए–नभएको यकिन गर्न आग्रह गरेको छ । प्राधिकरणको वेबसाइटमा गएर मोबाइल सेटको आइएमइआई नम्बर राखेपछि सेट एमडिएमएसमा दर्ता भए–नभएको थाहा पाउन सकिन्छ । यसरी दर्ता नभएका मोबाइल नेपालभित्र नचल्ने हुँदा खरिद गर्दा सजकता अपनाउन प्राधिकरणले आग्रह गरेको छ । 

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) भनेको के हो ?
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यो प्रणालीले अवैध रूपमा राज्यमा भित्रिने मोबाइललाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाइल तथा सिमको अनधिकृत प्रयोगलाई कानुनी दायरमा ल्याउने काम गर्छ । 

दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाका अनुसार मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न यो सिस्टम लागू गरिएको हो । यसले मोबाइल आयातलाई व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ–ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्नेछ । 

एमडिएमएसमा कसरी दर्ता गर्ने ?
कुनै व्यक्तिले विदेशबाट आउँदा साथमा ल्याएको मोबाइल आफैँले एमडिएमएस प्रणालीमा दर्ता गर्न सक्नेछन् । यसका लागि सबैभन्दा पहिला प्राधिकरणको एमडिएमएस वेबसाइटमा जानुपर्नेछ । यसमा चारवटा चरण छन् । डब्लुडब्लुडब्लु एमडिएमएस डट एनटिए डट जिओभी डट एनपी वेबसाइटमा जानुपर्छ । वेबसाइट सबैभन्दा तल व्यक्तिगत दर्ता भन्ने बटम राखिएको छ, त्यसमा प्रवेश गर्ने । 

पहिलो चरणमा मोबाइलको आइएमइआई नम्बर, मोबाइलको ब्रान्ड, मोडल र मोबाइल पहिला प्रयोग भए–नभएको विवरण भर्नुपर्नेछ । सो विवरण भरिसकेपछि मात्रै दोस्रो चरणमा प्रवेश गर्न सकिन्छ । दोस्रो चरणमा इमेल राख्नुपर्छ । इमेल राखिसकेपछि त्यसमा ओटिपी नम्बर आउँछ । त्यो ओटिपी नम्बर राखेपछि तेस्रो चरणमा पुगिन्छ । तेस्रो चरणमा विदेशबाट आउँदाको विवरण (कुन मुलुकबाट आएको हो र मिति) भर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण राख्नुपर्नेछ । जसमा व्यक्तिको नाम, राष्ट्रियता, मोबाइल नम्बर र पासपोर्ट राख्नुपर्नेछ । राष्ट्रियतामा नेपाली र विदेशी हो भने फरक–फरक फर्म भर्नुपर्नेछ । 

राष्ट्रियता नेपाली हो भने त्यसमा दुईवटा विकल्प हुन्छन् । यदि हवाईमार्गबाट नेपाल आएका हुन् भने पासपोर्टको पहिलो पेज, अध्यागमनले छाप लगाएको पूरा पेज र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ । तर, सडक अर्थात् भारतबाट नेपाल प्रवेश गरेका  नागरिकता वा पासपोर्ट, भन्सारले प्रमाणित गरिदिएको पत्र र मोबाइल खरिद गरेको बिल अपलोड गर्नुपर्नेछ ।

यदि विदेशी नागरिकको हकमा पासपोर्ट, भिसा अपलोड गर्नुपर्नेछ । विदेशीको हकमा भिसा अवधिभर मात्रै मोबाइल नम्बर नेपालमा प्रयोग गर्न सकिनेछ । 

आइएमइआई नम्बर भनेको के हो ?
सिम प्रयोग हुने उपकरणमा १५ अंकको आइएमइआई नम्बर हुन्छ । त्यस्तो उपकरणहरूको आइएमइआई एक–अर्कासँग मेल खाँदैन । आइएमइआई नम्बरमा उक्त उपकरणको परिचय प्रदान गर्ने गुण हो । आफ्नो मोबाइलको किप्याडमा गई ८३ण्ट३ डायल गरेपछि उक्त उपकरणको आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ । 

प्राधिकरणले प्रयोगमा ल्याएको एमडिएमएस प्रणालीमा कम्तीमा १० करोड आइएमइआई नम्बर दर्ता गर्न सकिनेछ । यो प्रणालीमा आइएमइआई नम्बर राखिएका हरेक डिभाइसहरूको दर्ता र रेकर्ड हुनेछ । करिब एक अर्ब रुपैयाँ लगानीमा तयार गर्न लागिएको एमडिएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्नेछ ।

यो प्रणालीमा दर्ता भएका आइएमइआईका आधारमा तीनवटा सूची बनाइनेछन् । जसमा ह्वाइट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछन् । ह्वाइट लिस्टमा हुने मोबाइल ह्यान्डसेट प्रयोग गर्न पाइने र वैधानिक हुनेछन् । त्यस्तै, ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरू राखिनेछ भने दर्ता भएका, तर प्रयोग गर्न नमिल्ने, उजुरी परेर छानबिन हुँदै गरेका तथा शंकास्पद नम्बरहरू ग्रे लिस्टमा रहनेछन् ।

सिस्टम सञ्चालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवाप्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ । हराएका, चोरी भएका मोबाइल ह्यान्डसेट ट्र्याकिङ र ब्लक गर्न सकिनेछ । 

ad
ad