
आयोजनाका संरचना मर्मत गर्नुपर्ने भएकाले १ जेठदेखि दुई सातासम्मका लागि मेलम्चीको खानेपानी रोकिने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु– १ स्थित आयोजनाको मुहान तथा हेडवर्क्स मर्मत र त्यसमा उपकरण जडान गर्नुपर्ने भएकाले खानेपानी बन्द गर्न लागिएको हो ।
उक्त कार्य हुन्जेल बाँधबाट मेलम्चीको ढोका बन्द गरिने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार दुई साताका लागि पानी बन्द गर्ने तयारी गरिएको हो ।
बर्खा नजिकिनै लागेकाले त्यसको बाँध क्षेत्रमा पनि सो समयमा केही मर्मतका काम हुने आयोजनाले जनाएको छ । आयोजनाले यसपटक बर्खामा कम समय मेलम्चीको पानी बन्द गर्ने गरी काम भइरहेको जानकारी गराउँदै आएको छ ।
हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आइरहेको छ । आयोजनाले नयाँ पाइपलाइनमार्फत उपत्यकाका अधिकांश ठाउँमा खानेपानी वितरण पनि सुरु गरिसकेको छ ।
यसबाहेक केही स्थानहरूमा पाइप बिछ्याउने कार्य पनि भइरहेको आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी बन्द भएका वेला पुरानै तालिकाअनुसार खानेपानी वितरण गरिनेछ ।