
कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा संलग्न कुनै पनि नेतालाई नछाड्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले यस प्रकरणमा अहिलेसम्म सरकारले लिएको अग्रसरता प्रशंसनीय रहेको बताए ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिँदै उनले भने, ‘हामी सबैको एउटै आवाज छ, संलग्न जोसुकै होस्, जुनसुकै दल, तह र ओहोदाको होस्, कारबाहीको दायरामा ल्याउनुस्, कसैलाई नछाड्नुस् ।’
उनले बजारको हल्ला, भेटघाट र कुनै प्रभावले छानबिन प्रभावित हुन नहुने बताए । ‘निर्दोष कोही नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछाड्नुस्,’ प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले भने, ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भनेर सुशासनको नारा लगाउन सकिन्छ । तपाईंको फिल्म चल्छ, हाउसफुल हुन्छ ।’