मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी क्वालालम्पुर
२०८० बैशाख २७ बुधबार ०६:५१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया कप श्रीलंका वा बंगलादेशमा हुने सम्भावना

पाकिस्तान र भारतबीचको बदलिँदो परिस्थितिका कारण एसिया कप अर्को राष्ट्रमा गर्ने तयारीमा एसिसी

Read Time : > 1 मिनेट
एजेन्सी, क्वालालम्पुर
२०८० बैशाख २७ बुधबार ०६:५१:००

भारत र पाकिस्तान क्रिकेट बोर्डले आ–आफ्नो अडान कायम राख्दा एसियन क्रिकेट काउन्सिल (एसिसी)ले एसिया कप क्रिकेट प्रतियोगिताको आयोजनास्थल नै सार्ने तयारी गरेको छ । आउँदो सेप्टेम्बर २–१७ सम्म पाकिस्तानका विभिन्न सहरमा एसिया कप हुँदै छ । भारत पाकिस्तान नजाने र पाकिस्तानले तटस्थ भूमिमा प्रतियोगिता खेल्न अस्वीकार गरेपछि एसिसीले दोस्रो विकल्पका रूपमा प्रतियोगिता अर्को देशमा गर्ने तयारी थालेकोे हो । 

पाकिस्तानमा एसिया कप नहुने देखिएपछि श्रीलंका र बंगलादेश आफूहरू प्रतियोगिता आयोजना गर्न तयार भएको जनाएका छन् । भारतीय मिडियाले एसिसीका अधिकारीहरूको भनाइ उद्धृत गर्दै एसिया कप श्रीलंकामा हुने सम्भावना उच्च रहेको जनाएका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) बंगलादेशभन्दा श्रीलंकाको पक्षमा छ । 

‘बिसिसिआई पहिलेदेखि नै श्रीलंकाका पक्षमा रहेको छ । यस कारण एसियाको नयाँ आयोजक राष्ट्र श्रीलंका बन्न सक्नेछ,’ भारतीय मिडियाले दाबी गरेका छन् । बिसिसिआईका सचिव तथा एसिसीका अध्यक्षसमेत रहेका जय शाहले एसिया कपलाई तटस्थ भूमिमा गर्ने बताउँदै आएका छन् । 

पाकिस्तानद्वारा तटस्थ भूमिमा खेल्ने प्रस्ताव अस्वीकार
गत साता बिसिसिआईले छिमेकी राष्ट्रसँगको राजनीतिक तनावका कारण भारतले पाकिस्तानमा गएर क्रिकेट खेल्न अस्वीकार गरेको थियो । भारत पाकिस्तानसँगको खेल युएईमा खेल्न तयार छ । तर, पिसिबीले एसिया कप आफ्नै भूमिमा हुनुपर्ने र कुनै पनि हालतमा तेस्रो मुलुकमा गएर आफूहरू नखेल्ने स्पष्ट पारेको थियो । दुई क्रिकेट बोर्ड र राजनीतिक खिचातानीका कारण सेप्टेम्बरमा हुने एसिया कपको भविष्य अन्योलमा परेको हो । 

एसिसीले श्रीलंका, युएई वा बंगलादेशमा प्रतियोगिता आयोजना गर्दा पाकिस्तानले बहिष्कार गर्न सक्छ । पिसिबीले अन्य राष्ट्रमा एसिया कप हुँदा पाकिस्तानको सहभागितासमेत अनिश्चित भएको स्पष्ट पारेको छ । यस्तो परिस्थिति आए यसै वर्ष भारतमा हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा असर पर्न सक्छ । पाकिस्तानले भारतमा नखेल्ने अडान राख्दा विश्वकप पनि नखेल्न सक्छ । 

एसिया कपमा भारत, पाकिस्तान र नेपाल समूह ‘ए’मा छन् । नेपालले गत साता त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपको स्थान पक्का गरेको हो । नेपाल २१ वर्षपछि एसिया कपमा छनोट भएको हो । समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।