१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १५:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँदर नियन्त्रणका लागि बागलुङमा वन्यजन्तु पार्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि वन्यजन्तु पार्कको अवधारणा ल्याएको छ। बाँदरआतंकले किसानलाई अन्नबाली जोगाउन मुस्किल भएपछि नगरपालिकाले वडा नम्बर ८ छिस्तीको पुरानो गाउँमा वन्यजन्तु पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन थालनी गरेको हो।

वन्यजन्तु पार्कका विषयमा नगरपालिकाले शनिबार स्थानीय र विभिन्न सरोकारवाला निकायसँग छलफलसमेत गरेको छ। बृहत् योजनासहित पुरानो गाउँमा रहेको राष्ट्रिय वनमा संघ र प्रदेश सरकारसँग समन्वय गरी वन्यजन्तु पार्क निर्माण गर्ने योजना बनाएको नगर प्रमुख नरबहादुर पुनले बताए। उनका अनुसार यस क्षेत्रका सबै बाँदरहरूलाई यही जंगलमा छाड्ने र यहाँबाट बाहिर जान नसक्ने गरी व्यवस्थापन गर्ने योजना रहेको छ। तर, यसका लागि ठूलो योजना आवश्यक पर्ने उनले बताए।

‘जैमिनी क्षेत्रमा बाँदरआतंकले बसाइँसराइ बढ्दै गएको छ। यसको रोकथामका निम्ति हामीले बाँदर बगैँचा अर्थात् ‘मंकी पार्क’को परिकल्पना गरेर छलफल अगाडि बढाएका छौँ,’ नगरप्रमुख पुनले भने, ‘सबै कुराको सम्भाव्यता अध्ययन गर्छौँ। र, सोहीअनुसार अगाडि बढ्छौँ।’ पार्कमा बाँदरसँगै अन्य वन्यजन्तुको पनि संरक्षण हुनुका साथै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने अपेक्षा छ। 

समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको पुरानो गाउँमा ‘बाँदर बगैँचा’ निर्माणको प्रारम्भिक छलफल थालिएको हो। ‘यो प्रारम्भिक चरणको छलफल हो। यो अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र पनि बन्न सक्छ,’ पुनले भने। पुरानो गाउँ चार हजार दुई सय रोपनी समथर जमिनसहित सात हजार दुई सय रोपनीमा फैलिएको छ ।

पार्कमा खेती ध्वस्त पार्ने बाँदरलाई समूहअनुसार ब्लक बनाएर राखिने नगर उपप्रमुख हरिहर शर्मा बताउँछन्। ‘बाँदरको पनि विभिन्न ग्रुप हुने रहेछ। सोहीअनुसार ब्लक बनाएर राखिनेछ,’ उनले भने। कालीगण्डकी करिडोरसँग जोडिएकाले पनि बाँदर बगैँचा पर्यटकका लागि समेत आकर्षक गन्तव्य बन्ने शर्माको भनाइ छ। बाँदरको आतंक रोक्नका लागि छिमेकी पालिकासँग समेत समन्वय गरिने उनले बताए।

केही समय पहिले नगरपालिकाले आयोजना गरेको विज्ञ सम्मेलनबाट प्राप्त सुझावअनुसार बाँदर बगैँचा निर्माणका लागि छलफल अघि बढाइएको शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले बताए।

बाँदर बगैँचाका लागि प्रारम्भिक छलफल भएको र यस क्षेत्रमा उक्त सम्भावना हुन सक्ने जिल्ला वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीको भनाइ छ। विस्तृत सम्भाव्यता अध्ययनसहित वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम गरिने र सोहीअनुसार योजना अघि बढ्ने बताए। बाँदर बगैँचा निर्माणका लागि संघीय सरकारले नै ठूलो सहयोग गर्नुपर्ने पनि उनले प्रस्ट्याएका छन्।