१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख २४ आइतबार १०:३३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दरबार हाई स्कुल प्रांगणमा लहलह तरकारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख २४ आइतबार १०:३३:००

दरबार हाई स्कुलअन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपरिसर यतिवेला विभिन्न प्रकारका हरिया साग र तरकारीले हराभरा भएका छन् । यी दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीले रोपेका केही तरकारी खानयोग्य भएका छन् भने खुर्सानी, भिन्डीजस्ता तरकारीका बिरुवामा फूल लाग्न थालेको छ । काठमाडौं महानगरपालिकाले १२ वैशाख ०८० बाट माध्यमिक तहका विद्यार्थीका लागि ल्याएको छोटो अवधिको सीपमूलक तालिमअन्तर्गत विद्यार्थीले तरकारी खेती सुरु गरेका हुन् । विद्यार्थीको मिहिनेत अहिले अवलोकनयोग्य बनेको छ । 

नमुना विद्यालयका लागि महानगरबाट प्राप्त पाँच–पाँच लाख रुपैयाँ विद्यार्थीले सहरी तथा कौसी तरकारी खेतीमा लगानी गरेका थिए । संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव अधिकारीका अनुसार प्रांगणको खाली ठाउँमा तरकारीका बिरुवा रोपिएका हुन् । खेती गर्न विद्यार्थीका समूह बनाइएका छन् । यसका लागि परामर्शदाता तथा विज्ञहरूसँग सहयोग लिइएको थियो । तरकारी रोप्नकै लागि भनेर दुईवटा टावर निर्माण गरिएको छ । एउटामा करिब ३५ वटा प्वाल छन् । हरेक प्वालमा बिरुवा रोपिएका छन् । ‘एक महिनामा तरकारी उत्पादन सुरु हुने रहेछ,’ प्रधानाध्यापक अधिकारीले भने, ‘यहाँ उत्पादित तरकारी यहीँको छात्रावासमा प्रयोग गर्ने लक्ष्य छ । तरकारी बिक्री गर्न सकियो भने यसबाट आएको रकम विद्यार्थी कल्याण कोष बनाएर संकलन गर्छौँ । यसबाट विद्यार्थीको क्षमता विकासमा खर्च गर्छौँ ।’ 

सहरी तथा कौसीखेतीमा यो विद्यालयसँगै अन्यले पनि रुचि देखाएका छन् । बालाजुमा रहेको तरुण माध्यमिक विद्यालयका ३० विद्यार्थीले पनि यससम्बन्धी प्रशिक्षण लिएका छन् । विद्यालयको कक्षा नौमा ८५ भन्दा बढी विद्यार्थी छन् । ‘विद्यार्थीको रुचिका आधारमा विद्यालयले सहरी तथा कौसीखेतीका लागि ३० जनाको समूह बनाएका छन् । विद्यार्थीलाई पाठ्यक्रममा आधारित माटो, मल र बिउका प्रकार चिनाउने, उत्पादन बढ्ने वातावरण र तत्वका विषयमा जानकारी दिने, जैविक मल बनाउन सिकाउनेलगायत सीप सिकाउँछौँ,’ तालिमकी प्रशिक्षक टावर ग्यालेक्सकी संस्थापक प्रलिशा अधिकारीले भनिन् । 

महानगरको लक्ष्य : सीपसहितको शिक्षा
काठमाडौं महानगरले पुस्तकविहीन शुक्रबार कार्यक्रमअन्तर्गत थालेको तालिमबाट विद्यार्थीले व्यावहारिक र जीवन उपयोगी सीप प्राप्त गर्न सक्नेछन् । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको उद्देश्य छ । कक्षा ९ का विद्यार्थीमाथि नमुनाका रूपमा सुरु गरिएको ९० घन्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन् ।