१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
वर्षा कम हुने र नदीमा सीधै ढल मिसाउँदा काठमाडौंको शंखमूल क्षेत्रमा देखिएको बागमती नदी, जहाँ लेदो मात्र बग्छ । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ६ आइतबार १o:o४:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती संरक्षण अभियानका २९ वर्ष : १८ अर्ब खर्च, तर नदीमा पानी होइन ढल बग्छ 

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:o४:oo

२९ वर्षअघि बागमती संरक्षणका लागि सरकारले आयोजना नबनाएकै अवस्थामा बागमतीमा स्वच्छ पानी बग्थ्यो । थोरै ठाउँमा नदी अतिक्रमणको चपेटामा परेको थियो । नदी थप प्रदूषित नहोस् भनी अतिक्रमणको चपेटाबाट बचाउन ०५१ चैतदेखि सरकारले बागमती नदी संरक्षण आयोजना तय ग¥यो । तर, नदी संरक्षणका लागि आयोजना नै बनाएपछि नदी मिचिने क्रम र आसपासमा अवैध टहरा बनाउने क्रम झन् बढ्यो ।

३० वर्षअघिसम्म बागमतीमा अहिलेभन्दा स्वच्छ पानी बग्थ्यो, तर नदी स्वच्छ बनाउन आयोजना सुरु भएपछि नदी झन् प्रदूषित बन्यो । नदीआसपासमा घर बनाउनेहरूले नदीमै ढल फर्काए । नदीमै फोहोर फ्याँक्न थाले । नदीको दुवैपट्टि करिडोरमा ढल पाइप नराख्दा आसपासका घरबाट नदीमै ढल मिसिन थाल्यो । पछिल्लो समय बागमती नदीमा पानी होइन ढल बग्छ । उपत्यकाको सभ्यतासँग जोडिएको यो नदीमा ढलैढल मिसिएपछि आसपासका बस्तीमा समेत दुर्गन्ध फैलिएको छ । 

उद्धव तिम्सेना, अध्यक्ष, सुविधासम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति

बागमती नदी फोहोर बनेको छ, यसमा पानीभन्दा धेरै ढल बगेको हाम्रो अनुमान छ । त्यसका लागि ल्याब परीक्षण गर्दै छौँ । आगामी पुसभित्र बागमतीमा सफा पानी बगाउँछौँ । त्यसका लागि १२ अर्ब लागतमा ड्याम बन्दै छ ।

उपत्यकाकै सभ्यता र चिनारीसमेत जोडिएको बागमती अहिले सुरुदेखि अन्तिमसम्म गन्हाउने अवस्थामा छ । नदीको ढल गन्हाएर आसपास बस्नेलाई दुर्गन्धले हैरानी पारेको छ । पानीको मात्रा निकै कम भएपछि हिउँदको वेलामा नदी गन्हाउँछ । यो नदीलाई व्यवस्थित र स्वच्छ बनाउने काम सुविधासम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको हो । तर, समितिले वर्षौँ बित्दा पनि नदीलाई सफा बनाउन सकेको छैन । सामाजिक अभियन्ता, टोल सुधार समिति र सरकारी निकायले कहिलेकाहीँ नदी सरसफाइ गर्ने गरे पनि ढल मिसिएकाले जति सफाइ गरे पनि नदी फोहोर नै रहेको अभियन्ताहरू बताउँछन् । ‘हामीले पटक–पटक नदी सफा गरेका छौँ, तर नदीतर्फ ढल फर्काइएको छ,’ तीनकुनेका स्थानीय बाबुराम गिरीले भने, ‘नदीको पानी फोहोर हुँदा आसपासमा समेत दुर्गन्ध फैलिएको छ ।’ 

मानव बस्तीका ढल मिसिँदा बागमती ढलमतीमा परिणत बनेको छ । यहाँ पशुपति क्षेत्रको फोहोरसमेत मिसिने गरेको छ । घाटबाट निस्किएको फोहोर, काठका टुक्रा, बाँस, कपडालगायत फोहोर नदीमै मिसिने गरेको छ । नदीमा पानीको मात्रा कम भएकाले बगाएर लैजाने अवस्था छैन । ठाउँठाउँमा फोहोर होल्ड भएर बस्ने गरेका कारण आसपासमा दुर्गन्धसमेत फैलिने गरेको छ । नदी सरसफाइकै अर्का अभियन्ता नवीन्द्र बस्नेतले नदीमा फोहोर पानी बग्दा आसपास बस्नेलाई कठिन भएको बताए । ‘सरकारले बागमती नदीको पानी सफा गर्नुपर्ने हो, तर पानी सफा गरेको छैन,’ उनले भने, ‘नदीमा अत्यधिक ढल मिसिँदा आसपासमा दुर्गन्ध फैलिएको छ ।’

समितिको सबैभन्दा महत्वपूर्ण कार्य नै नदी सफा गर्नु हो । यसबाहेक नदीआसपासमा पर्खाल लगाउने, ढल व्यवस्थापन, करिडोर सडक निर्माण गर्ने र हरियाली कायम गर्ने पनि समितिकै काम हो । तर, सीमित ठाउँमा मात्रै समितिले करिडोर सडक निर्माण, रूखबिरुवा रोप्ने काम गरेको छ । अतिक्रमणको चपेटामा परेको क्षेत्रमा समितिले कामै गरेको छैन । यो आयोजना ०५१ चैतदेखि देखि सुरु भएको थियो । बागमती सफाइका नाममा ०७९ चैतसम्म १८ अर्ब १७ करोड २० हजार रकम खर्च भएको छ । उक्त खर्चमध्ये दुई अर्ब ६५ करोड रुपैयाँ एसियाली विकास बैंक (एडिबी)ले दिएको हो । हाल बागमती नदी क्षेत्रमा तीनकुने र थापाथली क्षेत्रमा गरेर एक हजार हाराहारी सुकुमबासीका घरटहरा छन् ।

कहाँ–कहाँ मिसिन्छ ढल ? 
बागमतीमा सबैभन्दा बढी ढल मिसिने क्षेत्र तीनकुने र थापाथलीस्थित सुकुमबासी बस्ती, गोकर्ण दक्षिण गेट, पशुपतिनाथ क्षेत्र र गुह्येश्वरी हो । गुह्येश्वरी क्षेत्रको ढल हाल व्यवस्थापन गरे पनि अन्य ठाउँको ढल व्यवस्थापन हुन सकेको छैन । यसबाहेक गौरीघाटमा पनि ढल मिसिन्छ । त्यसपछि पशुपति क्षेत्रमा रहेको ड्यामनजिकै पनि ढलपाइप नदीतर्फ नै फर्काइएको छ । पशुपति क्षेत्रमै उत्तरतर्फ रहेका घरको ढल सानो खोल्सी हुँदै नदीमै मिसिन्छ । त्यस्तै, तीनकुने पुलदेखि दक्षिण क्षेत्र र शान्तिनगरआसपासका घरको ढल नदीमा मिसिन्छ । थापाथलीमा पुगे पनि फेरि नदीमा ढल मिसिन्छ । सहरी क्षेत्रको ढल र फोहोरको डंगुर नदीमा मिसिँदा बागमती प्रदूषित बनेको छ । 

पानीको ल्याब परीक्षण गरिँदै 
बागमती नदीमा पानीभन्दा फोहोरको मात्रा बढी बग्न थालेपछि पानीको ल्याब परीक्षण थालिएको छ । समितिले तीनजना इन्जिनियरलाई पानी परीक्षण गर्न जिम्मा दिएको हो । ‘नदी निकै फोहोर बनेको छ, यसमा पानीभन्दा धेरै ढल बगेको हाम्रो अनुमान छ,’ समितिका अध्यक्ष उद्धव तिम्सेनाले भने, ‘त्यसका लागि ल्याब परीक्षण गर्दै छौँ ।’ उनले नदीको पानीमा पानी र ढलको मात्रा कति छ भन्ने पनि अध्ययनपछि थाहा हुने बताए । परीक्षणको रिपोर्ट तीन दिनपछि आउने समितिले जनाएको छ ।

मूलको पानी फर्काएपछि नदी सुक्न थाल्यो 
बागमतीको शिरका रूपमा सुन्दरीजल क्षेत्रमा रहेको बागद्वार र धाप ड्यामलाई लिइन्छ । यहाँ ठुल्ठूला तीन–चारवटा मूल छन् । तर, त्यहाँको पानी हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानीका लागि प्रयोग गरेको छ । जसकारण नदीमा पानीको मात्रा निकै कम छ । समितिले समय–समयमा नदी सफा गर्न र होल्ड भएको फोहोर बगाउन धाप ड्याम र बागद्वारको पानी बागमतीमा फर्काउने गरेको छ । तर, खानेपानी नदीमा बगाउन सम्भव नभएकाले यसका लागि छुट्टै योजना चाहिने समितिले जनाएको छ । चालू आर्थिक वर्षमा बागमती नदी र पशुपति क्षेत्रमा १८ वटा कार्यक्रम गर्दा ड्यामको पानी नदीतर्फ फर्काइएको थियो । 

१२ अर्बमा नागमतीमा ड्याम बन्दै, पुससम्म नदी सफा बनाउने समितिको दाबी 
बागमतीमा सफा पानी बगाउन समितिले छुट्टै योजना अघि बढाएको छ । त्यसका लागि नागमती क्षेत्रमा ९४ मिटर उचाइको ड्याम बनाउने तयारी गरिएको हो । यो ड्याम आगामी पुसभित्र सम्पन्न हुने समितिले जनाएको छ । १२ अर्ब लागतमा निर्माण हुने यो ड्याम बनेपछि बागमतीमा होल्ड गर्दै पानी छाडिनेछ । ड्याम बनेपछि प्रतिसेकेन्ड चार सय लिटर पानी नदीमा पठाउने समितिका अध्यक्ष तिम्सेनाले बताए । ‘आगामी पुसभित्र बागमतीमा सफा पानी बगाउँछौँ,’ उनले भने, ‘त्यसका निम्ति १२ अर्बको लागतमा ड्याम बन्दै छ ।’ उनले ड्याम तयार भएपछि बागमतीमा सफा पानी बग्ने र त्यतिवेलासम्म नदीआसपासका ढल पनि व्यवस्थापन भइसक्ने दाबीसमेत गरे ।

हालसम्म के–के काम भयो ? 
समितिले नदीमा तटबन्ध बाँध्ने, ढल व्यवस्थापन, सडक व्यवस्थापन, ब्युटिफिकेसन, नदीआसपासमा पर्खाल लगाउने, कालोपत्रे गर्ने, सडक चौडा पार्नेलगायत काम गर्छ । हालसम्म गोकर्णदेखि चोभारको धोबीघाटसम्म ढलको पाइप दुवैतर्फ बिछ्याइएको छ । तर, पुरानो ढल पुरेर नयाँ ढल सञ्चालनमा ल्याइएको छैन । सुन्दरताको काम गोकर्णदेखि गुह्येश्वरीसम्म ६.२ किमि र तिलगंगादेखि तल सात सय मिटरमा भइरहेको छ । यो आयोजनाको क्षेत्र सुन्दरीजलस्थित बागद्वारदेखि चोभारनजिक कटुवाल दहसम्मसम्म ४४ किमि छ । हालसम्म समितिले २४ किमि सडक निर्माण गरेको छ । गोकर्णदेखि गुह्येश्वरी, तिलगंगा, युएनपार्क–बल्खु पुलक्षेत्रमा हरियालीको काम सम्पन्न भएको छ । त्यस्तै, थापाथली पुलदेखि विष्णुमती दोभानसम्म हरियाली पार्क बनेको छ । सुकुमबासी बस्ती भएको क्षेत्रमा नदी सरसफाइ, करिडोर निर्माण र हरियालीको काम बाँकी छ । 

कहाँ–कहाँ अतिक्रमण भएको छ करिडोर ?
गौशालादेखि सिनामंगलसम्म वरिपरि नदी क्षेत्र बाँधिएको छ । त्यसपछि तीनकुनेसम्म नदीको क्षेत्र बाँधिएको छैन । उक्त ठाउँमा टहरा र घर निर्माण भएका छन् । तीनकुनेस्थित बानेश्वर क्याम्पसनजिकको पुलदेखि शंखमूलसम्म नदी हरियाली छ । त्यहाँदेखि थापाथली पुलसम्म सुकुमबासी बसोवास गर्छन् । सुकुमबासीकै कारण थापाथली क्षेत्रमा बागमती करिडोर सडक खुल्न सकेको छैन । 

सुविधासम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा एक सय ३० जना कर्मचारी छन् । त्यसमध्ये एक सय चारजना इन्जिनियरसहितका करार कर्मचारी र अन्य २६ जना स्थायी कर्मचारी छन् । करार कर्मचारीमध्ये नौजना अधिकृत छन् । कर्मचारी संख्या मात्रै थुपारेर कार्यालयलाई आर्थिक व्ययभार पारेको समितिले २७ वर्षमा १७ किमी मात्रै करिडोर निर्माण गरेको छ । नदी सफा पार्ने, ढल व्यवस्थापन गर्ने, हरियाली पार्ने, फुटपाथ र सडकपेटी निर्माण गर्नेलगायतका थुप्रै काम गर्नै बाँकी छ । हाल उपत्यकाका सबैजसो नदीका करिडोर सडक खुलिसकेका छन् । बागमती, विष्णुमती, धोबीखोलामा करिडोर सडक काठमाडौं महानगरपालिका, सडक विभाग, सडक डिभिजनले ती सडक बनाएका थिए । 

 

 

ad
ad