१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरको फोहोर वर्गीकरण योजना : चर्चा धेरै, काम शून्य 

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५o:oo

निर्वाचित हुनेबित्तिकै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोरमैला व्यवस्थापनलाई विशेष प्राथमिकता दिँदै चासो देखाएका थिए । मेयर भएको दुई महिना नबित्दै (१ साउनदेखि) उनले स्रोतमै फोहोरमैला छुट्याएर (कुहिने र नकुहिने) उठाउने भन्दै सार्वजनिक सूचना जारी गरे । कुन दिन कस्तो फोहोर संकलन गर्ने भनेर बार नै तोके । सोहीअनुसार आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा कुहिने फोहोर घरमै मल बनाउन महानगरवासीलाई सहुलियत दिनेसमेत घोषणा गरे । मेयर साहलाई सहयोग गर्ने भन्दै धेरैजसो महानगरवासीले स्रोतमै फोहोर छुट्याउन सुरु पनि गरेका थिए । तर, महानगरको आफ्नै तयारी नपुग्दा यो योजनाले अझै गति लिन सकेको छैन । मेयर साहले सार्वजनिक सूचना नै जारी गरेर फोहोर वर्गीकरणसम्बन्धी योजनालाई कसरी अघि बढाउने भनेर महानगरले अझै पनि निर्णय लिन सकेको छैन । 

महानगरको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार फोहोर छुट्याउन सहज नभएको र यही कारण कहिलेदेखि सुरु गर्ने भनेर निर्णय लिन नसकेको हो । ‘यद्यपि, यत्तिकै बसेका पनि छैनौँ । यसबारे निरन्तर छलफल भइरहेको छ । धेरै समस्या छन्,’ प्रमुख श्रेष्ठले भने । 

रविनमान श्रेष्ठ, प्रमुख, वातावरण विभाग, महानगर
फोहोर छुट्याउन सहज छैन र यही कारण कहिलेदेखि सुरु गर्ने भनेर निर्णय लिन नसकेको हो । यद्यपि, यत्तिकै बसेका पनि छैनौँ । यसबारे निरन्तर छलफल भइरहेको छ । धेरै समस्या छन् । 

तत्कालीन मेयर विद्यासुन्दर शाक्यकै पालादेखि फोहोरमैला स्रोतमै वर्गीकरण गरेर उठाउने चर्चा चलेको थियो । यही चर्चालाई मेयर साहले पूर्णता दिने गरी सूचना जारी गरेका थिए । सूचनाअनुसार वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को हवाला दिँदै महानगरवासीलाई स्रोतमै फोहोरको पृथकीकरण गर्न आग्रह गरेको थियो । घर वा कार्यालयमै फोहोर नछुट्याए महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने सूचनामा उल्लेख थियो । 

फोहोर छुट्याउनका लागि कति समस्या छ भन्ने दृश्य २७ चैतमा मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा सिंहदरबारसहित भिभिआइपी क्षेत्रको फोहोर नउठाउनुको १४ कारणमध्ये ७ नम्बर बुँदामा उल्लेख कारणले पनि देखाउँछ । उनले काठमाडौंमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गालगायतको विषयमा चारजना मन्त्रीसँग पटक–पटक पहल गर्दा कुनै प्रतिक्रिया नआएको उल्लेख गरेका थिए ।

महानगरका अनुसार स्रोतमै छुट्याएको फोहोर ल्याएर पुनः प्रयोग, प्रशोधन गर्न मिल्ने फोहोर छुट्याउन आवश्यक जग्गा प्राप्ति हुन सकेको छैन । वडा ५, १० र १२ मा रहेका जग्गाबारे अध्ययन गरे पनि स्थानीयको विरोधका कारण प्राप्ति गर्न सकिएको छैन । ‘टेकु ट्रान्सफर स्टेसनमै हाम्रो ३२ रोपनी जग्गा छ । तर, फोहोर बढेर गन्ध आउने र फोहोका गाडीको आवागमन बढ्नेबित्तिकै स्थानीयले विरोध गरिहाल्छन् । काम गर्नै गाह्रो छ,’ वातावरण विभागका प्रमुख श्रेष्ठले भने । फोहोर छुट्याउने जग्गा नपाएपछि जलाउने मेसिन किन्ने विकल्पसमेत महानगरले अघि सारेको छ । यसबारे पनि छलफल भइरहेको महानगरले जनाएको छ ।

ठाउँ नहुँदा निजी क्षेत्रले पनि रोक्यो काम
छुट्याएको फोहोर वर्गीकरण गरी राख्ने ठाउँ नहुँदा निजी क्षेत्रले पनि मिश्रित स्वरूपमै उठाउने गरेको छ । हाल फोहोरमैला व्यवस्थापन संघ नेपालले पाँचवटा वडामा वर्गीकरण गरिएको फोहोर मात्र उठाइरहेको छ । महानगरले जग्गा उपलब्ध गराउन नसक्दा अन्य वडामा विस्तार गर्ने योजना थाती छ । संघले सोही वडामा पनि आंशिक रूपमा मात्र फोहोर छुट्याउने गरेको छ । ‘हामीले फोहोर छुट्याएर उठाएर पनि के गर्ने, महानगरले जग्गा उपलब्ध गराउन सकेको छैन । जग्गा नभएपछि पुनः प्रयोग, प्रशोधन गर्ने वा कम्पोस्ट गर्ने फोहोर कसरी छुट्याउने ?’ संघका महासचिव मित्र घिमिरेले भने, ‘अन्य वडामा पनि फोहोर छुट्याउने कामलाई अगाडि बढाउने भनेको हो । तर, अहिले काम गर्ने अवस्था रहेन ।’ संघका अनुसार हाल महानगरका ३, ४, ७, १० र १५ नम्बर वडामा आंशिक रूपमा छुट्याएको फोहोर संकलन भइरहेको छ । तर, त्यो फोहोर पनि सीधै बन्चरेडाँडामा जाने गरेको संघले जनाएको छ । संघले २२ नम्बर वडामा पनि केही समयपछि फोहोर छुट्याउने तयारी गरिरहेको छ ।

नगरवासी भन्छन्– छुट्याएको फोहोर महानगरले उठाएन
महानगरपालिकाले गत १ साउनदेखि वर्गीकरण नगरे फोहोर नै नउठाउने र कसुर मानी पाँच सय रुपैयाँसम्मको जरिवाना गर्ने चेतावनी दिएको थियो । चेतावनीअनुसार महानगरवासीले फोहोर वर्गीकरण गरेर राखे पनि मिश्रित रूपमै उठाएपछि छुट्याउन छाडेको बताए ।

ad
ad