
दार्चुला र बझाङमा यार्सा टिप्न गएका ६ जना हिमपहिरोमा बेपत्ता भएका छन् । दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिङमा पाँच र बझाङको सुर्मा गाउँपालिकास्थित पार्थी हिमाल क्षेत्रमा एक बेपत्ता भएका हुन् ।
दार्चुलाको बोलिङमा बेपत्ता भएकाकै टिममा रहेका सातजनाले भने भागेर ज्यान जोगाएका छन् । सोही क्षेत्रमा पुगेका अर्को टोलीका १४ जना पनि ओडारमा लुकेर जोगिएका छन् । सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म छाङरुका डिएसपी ईश्वरीदत्त भट्टका अनुसार मंगलबार अपराह्न पौने ३ बजेतिर हिमपहिरो गएको थियो । यार्सा टिप्न गएकाहरू त्रिपाल टाँगेर बसेको अवस्थामा हिमपहिरो खसेको उनले बताए ।
प्रहरीका अनुसार बेपत्ता भएकाहरू डोटीको जोरायल गाउँपालिका बुडरका नोक्माडोमा थापा, ईश्वरी थापा र क्षिमी सोमो थापा तथा दार्चुला दुहु गाउँपालिका– ४ फोक्सेका कमला कुँवर र प्रवीण कुँवर छन् ।
‘हिमपहिरो गएको क्षेत्रमा यार्सा टिप्न गएका दुई टोली रहेछन्, एउटा टोली दुई–तीन दिनअघि र अर्को टोली मंगलबार मात्रै त्यहाँ पुगेको रहेछ,’ डिएसपी भट्टले भने, ‘१२ जनाको टोलीका सातजना भागेको र अर्को टोलीका सबै १४ जना ओडारमा लुकेर जोगिएछन् ।’
घटनाको सूचना पाएलगत्तै छाङरुस्थित सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मबाट २५ र प्रहरी चौकी सीतापुरबाट पाँचजना प्रहरी गरी ३० जना सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । उनीहरूले रातिसम्म बेपत्ताको खोजी गरे पनि भेट्टाउन सकेनन् । जोगिएकाहरूको भने उद्धार गरेको छ । छाङरुबाट घटनास्थल पाँच किलोमिटर दूरीमा पर्छ ।
‘रातिसम्म खोज्दा पनि हराएकाहरू भेटिएनन्, त्यहाँ निरन्तर हिमपात भइरहेको छ,’ डिएसपी भट्टले भने, ‘बुधबार फेरि खोजी गर्छौं ।’ हिमपहिरोमा हराएकाहरूको खोजीका लागि दार्चुला प्रशासनले गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको छ । प्रमुख जिल्ला अधिकारी किरण जोशीले हेलिकोप्टरका लागि अनुरोध गरेको बताइन् । गृहअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले त्यहाँको परिस्थितिअनुसार गृहले उद्धारका लागि थप पहल गर्ने बताए । ‘हेलिकोप्टर आवश्यक परेछ भने पठाउन सकिन्छ,’ उनले भने ।
बझाङमा पनि हिमपहिरोमै एक महिला हराइन्
बझाङमा पनि यार्सा टिप्न गएकी एक महिला हिमपहिरोमा हराएकी छिन् । सुर्मा गाउँपालिका– १ देवडीकी ३३ वर्षीया झल्लादेवी बोहरा सोही पालिकाको पार्थी हिमाल क्षेत्रमा हिमपहिरोमा परेको जिल्ला प्रहरी कार्यालयले जनायो ।
वर्षा र हिमपातपछि घर फर्किन लागेकी उनी बिहान हिमपहिरोमा परेको जानकारी पाएको बझाङ प्रहरी प्रमुख डिएसपी जागेश्वर भण्डारीले बताए । सो क्षेत्रमा यार्सा संकलनका लागि धेरै पुगे पनि अन्य मानवीय क्षतिबारे कुनै जानकारी नआएको उनले बताए । बेपत्ताको खोजीका लागि हिमपहिरो गएको क्षेत्रमा दौलीचौर प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ ।
ओडारमा बसेर ज्यान जोगाएका ललितसिंह विष्ट भन्छन्–हिमपहिरोले ओडारको मुख नै थुनेको थियो
मेरो घर दार्चुलाको नौगाड गाउँपालिका– २ दल्लेकमा पर्छ । चार दिनअघि बोलिङ पुगे पनि तीन दिनदेखि लगातार हिउँ परेकाले यार्सागुम्बा टिप्न पाएका थिएनौँ । मेरो टोलीमा १४ जना थियौँ । एउटा ओडारको बाहिरपट्टि त्रिपाल लगाएर बसेका थियौँ । अर्को टोलीका भने खुला चउरमा त्रिपाल टाँगेर बसेका थिए । आज (मंगलबार) पनि हिउँ परेकाले बाहिर निस्किने अवस्था थिएन । हामी ओडारमै रहेको वेला दिउँसो ३ बजेतिर हिमपहिरो खस्यो । हामी ओडारभित्र पस्यौँ । केहीबेरमै हिमपहिरोले ओडारको मुख नै थुनियो । दुई घन्टापछि हिउँ पन्छाएर बाहिर निस्किएको हो ।
उद्धारका लागि हेलिकोप्टर माग
हिमपहिरोमा हराएकाहरूको खोजीका लागि दार्चुला प्रशासनले गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको छ । प्रमुख जिल्ला अधिकारी किरण जोशीले हेलिकोप्टरका लागि अनुरोध गरेको बताइन् ।
गृहअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले त्यहाँको परिस्थितिअनुसार गृहले उद्धारका लागि थप पहल गर्ने बताए । ‘हेलिकोप्टर आवश्यक परेछ भने पठाउन सकिन्छ,’ उनले भने ।
प्रिमनसुनका वेला हिमपहिरोको जोखिम बढी हुन्छ : सुदीप ठकुरी डिन, विज्ञान तथा प्रविधि संकाय (मध्यपश्चिम विश्वविद्यालय)
नेपालमा पूर्वको ताप्लेजुङदेखि पश्चिममा दार्चुलाको अपिनप्पा क्षेत्रसम्मै हिमपहिरोको जोखिम छ । भिरालो जमिन हुने हिमाली क्षेत्रमा पानी परेको वेला र हिमपात भइरहेका वेला हिमपहिरो जाने सम्भावना हुन्छ । वर्षाैँदेखि हिउँ जमेर बसेको हुन्छ, ओभर लोड भयो भने दबाबका कारण पहिरो जान सक्छ । दार्चुलाको घटना हेर्दा लगातार हिमपात भइरहेका वेला हिमपहिरो गएको छ । प्रिमनसुनका वेला तापक्रम पनि बढी हुन्छ र हिउँ पग्लिएर पहिरोको रूपमा खस्छ ।
हिमपहिरो उच्च हिमाली क्षेत्रमा बारम्बार जान्छ, तर मान्छे हिमपहिरोमा परेपछि बढी चर्चा हुने हो । हिमाली क्षेत्रका लागि हिमपहिरो नियमित र प्राकृतिक प्रक्रिया नै हो । पछिल्लोपटक हिमपहिरोलाई जलवायु परिवर्तनसँग जोडेर हेरिए पनि थप अध्ययन गर्न जरुरी छ । सन् १९२२ देखि २०१९ सम्मको तथ्यांक हेर्दा खुम्बु र अन्नपूर्ण क्षेत्रको हिमपहिरोमा बढी मान्छे परेका छन् । यो अवधिमा हिमपहिरोमा तीन सय ७० जनाको मृत्यु भएको छ ।