१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छत्रकोटका स्वयंसेविकालाई पेन्सन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४३:oo

सोमबार गाउँपालिकाले पेन्सन दिएपछि छत्रकोट गाउँपालिका– ४ श्रृंगाकी भागीरथी कँडेल निकै खुसी भइन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा गाउँपालिकाले कँडेललाई पेन्सन र चारजनालाई सम्मानजनक बिदाइ गरेको छ । भागीरथीले ३० वर्ष महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको काम गरिन् । सुरुमा गाउँमा काम गर्दा कोही थिएनन् । विना स्राेतसाधन र सुविधा घर–घरमा पुग्दा कैयौँ चुनौती थिए । तर, सुविधाभन्दा सेवालाई प्राथमिकतामा राखेर कँडेलले काम गरिन्। 

गत गाउँसभामा गाउँपालिकाले ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजारका दरले निवृत्तिभरण दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम उमेर हदका कारण अवकाश पाएकी कँडेलले चार महिनाको पेन्सन र ३० हजार प्रोत्साहन रकम पाएकी हुन् । ६० वर्ष उमेर पुगेर सेवा निवृत्त हुनेलाई संघीय सरकारले दिने २० हजारमा गाउँपालिकाले ३० हजार थपेर ५० हजार प्रोत्साहन रकम पनि दिने गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले बताए ।

गाउँपालिकाले पाँच वर्षभन्दा बढी सेवा अवधि पुगेर छाड्नेहरूको हकमा १० हजारसहित सम्मानजनक बिदाइ गर्ने निर्णय गरेको छ । सोही सुविधा लिएर चारजना बिदा भएको गाउँपालिकाका प्रमुख पाण्डेयले जानकारी दिए । उनले गाउँपालिकाले पेन्सन र प्रोत्साहन रकम वृद्धि गर्दै लैजाने जाने बताए । ‘जनप्रतिनिधिले सुविधा लिन हुने । तर, स्वयंसेविका तड्पिनुहुँदैन भनेर सानो रकमबाट पेन्सन सुरु गर्‍यौँ,’ उनले भने, ‘बिस्तारै बढाउँदै जान्छौँ ।’ त्यस्तै, ८६ जना स्वयंसेविकालाई प्राथमिक उपचार बक्स वितरण गरिएको छ ।

गाउँपालिकाको निर्णयले उत्साहित स्वयंसेविका
छत्रकोट गाउँपालिका– २ की महिला स्वयंसेविका सावित्रा टन्डनले महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्न थालेका १५ वर्ष भयो ।  त्यसवेला मासिक सय रुपैयाँ सुविधा थियो । उनीसँग भोकै काम गरेका विगतका तीता अनुभव पनि छन् । तर, समयसँगै पालिकाले गरेको निर्णयले आफूहरू उत्साहित भएको टन्डनले बताइन् ।

‘हामी समुदायमा भूमिका धेरै हुँदा पनि सुविधाविहीन थियौँ । महिला स्वास्थ्य स्वयंसेविका पदले खुसी भए पनि कामका आधारमा पीडित थिए,’ उनले भनिन्, ‘गाउँपालिकाको पेन्सनको निर्णयले ठूलो राहत महसुस भयो ।’ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति छत्रकोट अध्यक्ष राधा न्यौपानेले गाउँपालिकाको निर्णयले विगत दुःख बिर्साएको प्रतिक्रिया दिइन् । उनले गाउँगाउँमा दुःख गरेर काम गरेका देशभरका महिला स्वयंसेविकालाई उत्साहित बनाउँदै स्थानीय तहलाई सोच्न बाध्य बनाएको बताइन् । छत्रकोटमा महिला स्वास्थ्य स्वयंसेविका ८६ जना छन् । 

कार्यान्वयनमा आकर्षक कार्यक्रम
गाउँपालिकाले पोषणमैत्री गाउँपालिका घोषणाको योजना बनाएको छ । अहिलेसम्म वडा नम्बर २ को पल्लीकोटलाई पोषणमैत्री वडा घोषणा गरिएको छ। त्यस्तै, सुत्केरीलाई भाले उपहार कार्यक्रम कार्यान्वयनमा रहेको छ । यो आर्थिक वर्षमा एक सय २५ जनालाई उपप्रमुख घरमै पुगेर भाले उपहार प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले जानकारी दिए । त्यस्तै, पालिकाभित्रका हरेक सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने गरिएको छ भने पालिकाले नयाँ दुई एम्बुलेन्स खरिद गरेकाले गर्भवतीलाई पनि निःशुल्क गर्ने विषयमा कार्ययोजना बनिरहेको पोख्रेलले बताए । त्यस्तै, पालिकाभित्रका चारवटा प्रयोगशालाबाट सुगर, डेंगु र स्क्रप टाइफसको जाँच निःशुल्क गरिएको पालिकाले जनाएको छ । 

कृषक पेन्सन (कृषक प्रोत्साहन) कार्यान्वयनमा
छत्रकोट गाउँपालिकामा कृषकलाई कृषक पेन्सन (कृषक प्रोत्साहन) दिने कार्यक्रम पनि कार्यान्वयनमा रहेको छ । गाउँपालिकाले कृषिमा व्यवसायीकरण गर्न ‘कृषक पेन्सन (कृषक प्रोत्साहन) कार्यक्रम सञ्चालन कार्यविधि’ २०७७ पारित गरेर कार्यान्वयन गरिरहेको छ । जसका लागि गाउँपालिकाले कृषकलाई तीन वर्गमा विभाजन गरेको छ । कृषि र पशुपालनको क्षेत्रमा उत्पादनको आधारमा गाउँपालिकाले प्रोत्साहन रकम दिइरहेको गाउँपालिकाका कृषि अधिकृत टेकबहादुर खनालले बताए । पहिलो वर्ष ३२ जना र गत वर्ष ३८ जना कृषकले प्रोत्साहन रकम पाउनेछन् । खनालका अनुसार उनीहरूले मासिक एक हजारका दरले प्रोत्साहन रकम पाउँछन् । 

२० युनिट विद्युत् महसुल नि:शुल्क

छत्रकोट गाउँपालिकाले पालिकाभित्रका हरेक नागरिकको २० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गरेको छ । पालिकामा झन्डै पाँच हजार नागरिक रहेका छन् । उनीहरूले २० युनिटसम्म प्राधिकरणको शुल्कअनुसार मासिक ३० रुपैयाँ बुझाउनु पर्थ्याे । गत कात्तिक महिनादेखि यो सुविधा कार्यान्वयनमा आएको गाउँपालिकाकी उपप्रमुख सावित्रा भण्डारीले बताइन् । यो सुविधाका लागि गाउँपालिका वार्षिक २० लाख रकम खर्च गर्नुपर्छ । मासिक २० युनिटको ३० रुपैयाँ सामान्य विषय भए पनि प्राधिकरण बुझाउन पुग्नुपर्ने बाध्यताबीच नागरिकले गरेको खर्च र सास्तीलाई पनि कम गरिएको भण्डारीले बताइन् । 
 

ad
ad