१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नारायण रिजाल काठमाडाैं
२०८० बैशाख १८ सोमबार ०८:५२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाग्लुङमा एचआइभी संक्रमित बढ्दै

विगतमा भन्दा पछिल्लो समय संक्रमितहरू समाजमा खुल्दै गएका छन्

Read Time : > 2 मिनेट
नारायण रिजाल, काठमाडाैं
२०८० बैशाख १८ सोमबार ०८:५२:००

बाग्लुङमा एचआइभी संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचान हुने दर बढ्दै गएको हो । जिल्लामा हाल एक सय ८१ जना सक्रिय संक्रमित छन् । 

अघिल्लो वर्षको असार मसान्तसम्म कुल एक सय ६९ संक्रमित रहेकोमा यस आर्थिक वर्षको फागुन मसान्तसम्म १२ जना संक्रमित रहेको धौलागिरि अस्पताल एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले जानकारी दिए । संक्रमितमध्ये सबैभन्दा बढी बाग्लुङ नगरपालिकामा ८९ जना छन् । एआरटी सेन्टरको तथ्यांकअनुसार काठेखोला गाउँपालिकामा २२ जना संक्रमित छन् । ताराखोला गाउँपालिकामा ७, निसीखोलामा ६, तमानखोलामा ३, बडिगाडमा १०, ढोरपाटन नगरपालिकामा ५, गलकोट नगरपालिकामा १९, जैमिनी नगरपालिकामा १६ र बरेङ गाउँपालिकामा एकजना संक्रमित रहेको एआरटी प्रमुख आचार्यले जानकारी दिए । जिल्लाभित्र बसोबास गर्ने र अन्य जिल्ला ठेगाना भएका तीनजना संक्रमित छन् ।

सबै संक्रमितले  लिन्छन् एआरटी
संक्रमित सबैले नियमित एआरटी लिएका छन् । पुरुषभन्दा महिला नै बढी संक्रमित छन् । जिल्लामा ७९ जना पुरुष र ९६ महिला संक्रमित छन् । एचआइभी संक्रमितको क्षेत्रमा काम गर्ने धौलागिरि पोजेटिभ समूहमार्फत २१ जना बालबालिकाले सेवा लिएका छन्, जसमा बाग्लुङका ६ जना बाग्लुङका रहेका छन् भने अन्य छिमेकी जिल्लाका बालबालिका रहेको धौलागिरि पोजेटिभ समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए । 

संस्थाले सञ्चालन गरेको कावा कार्यक्रमअन्तर्गत संक्रमित बालबालिकाका लागि मासिक एक हजार रूपैयाँ सहयोग गर्दै आएको छ । संक्रमित बालबालिकाको पोषण र अन्य सुविधाका लागि संस्थाले राष्ट्रिय एचआइभी तथा एड्स महासंघ नेपाल साझेदारीमा सेभ द चिल्डेन र ग्लोबल फन्डको सहयोगमा कावा कार्यक्रम सञ्चालन गर्दै आएको छ । धौलागिरि अस्पतालमा एआरटी सेवा लिन आउने संक्रमितका लागि खान–बस्नको समेत व्यवस्था गर्न पोजेटिभ समूहले हेरचाह केन्द्र सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष खत्रीले बताए । 

‘हामीले कावा कार्यक्रमसँगै हेरचाह केन्द्र पनि सँगै सञ्चालन गरेका छौँ, बालबालिकाको खातामा मासिक रूपमा एक हजारका दरले राखिदिन्छौँ । अन्यका लागि हेरचाह केन्द्रमा खान–बस्नको व्यवस्था गरेका छौँ । उहाँहरू अस्पतालमा आउँदा यहाँ बस्नुहुन्छ । संस्थाका कर्मचारीसँग समन्वय गरेर सेवा लिएर फर्कनुहुन्छ,’ अध्यक्ष खत्रीले भने । 

संक्रमितलाई हेर्ने दृष्टिकोण अझै साँघुरो
संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारण अहिले पनि थुप्रै एचआइभी संक्रमितले खुलेर जीवन जिउन नपाएको उनले बताए । समाजमा संक्रमितका लागि अझै पनि लाञ्छना तथा भेदभाव रहेको खत्री बताउँछन् । ‘म आफैँ पनि नेपाल प्रहरीको जागिरे थिएँ । त्यहाँ पनि विभेद हुने डरले जागिरबाट अवकाश लिएँ,’ खत्री भन्छन्, म त बल्लतल्ल हिम्मत जुटाएर सार्वजनिक भएँ तर मजस्ता कैयौँ एचआइभी संक्रमितहरू अहिले पनि समाजको डरले खुल्न सकेका छैनन् ।’ संक्रमितलाई समाजले हेर्ने नजर गलत हुँदा एचआइभी संक्रमितले रोग लुकाएर राख्ने गरेको र त्यसले भित्रभित्रै भयानक रूप लिने गरेको उनको बुझाइ छ ।

विगतमा भन्दा संक्रमितहरू खुल्दै गएको र संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय बाग्लुङका एचआइभी एड्स फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । समाजले गर्ने छिछिः र दुरदुरको व्यवहारले अधिकांश रोग लुकाएर बस्ने गरेका छन् । घिमिरेले भने– तैपनि हाम्रा स्वास्थ्यकर्मीको नियमित परामर्शले पछिल्लो समयमा केही खुल्नेको दर पनि बढ्दै गएको छ । एचआइभी एड्स हुँदैमा जीवन समाप्त हुन्छ भन्ने सोच अझै पनि केहीमा रहेको र समाजले हेर्ने दृष्टिकोणका डरले संक्रमितहरू खुल्न डराएको उनले बताए । विशेषतः धेरैजसो असुरक्षित यौन व्यवहारका कारण एचआइभी संक्रमित हुने गरेको पाइएको उनको भनाइ छ । समाजमा एचआइभी कसरी सर्छ र कसरी सर्दैन भन्नेबारे भ्रम रहेका कारण पनि संक्रमित हुनेहरूको संख्या बढी हुने घिमिरे बताउँछन् । 

एचआइभी एड्सको न्यूनीकरणका निम्ति स्वास्थ्य कार्यालय, धौलागिरि अस्पताल, एआरटी सेन्टर, धौलागिरी पोजेटिभ समूह र एड्स हेल्थ केयर फाउन्डेसन तथा स्थानीय तहले नियमित क्रियाकलाप गर्दै आएका छन् । संघीयता लागू भएसँगै सबै अधिकार स्थानीय तहमा गएपश्चात् एचआइभी एड्स न्यूनीकरणका काम कम हुन लागेको पीडितहरूको गुनासो रहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अहिलेसम्म चारवटा स्थानीय तहले मात्र केही कार्यक्रमका लागि सहयोग गरेको खत्रीले बताए ।