मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Saturday, 19 July, 2025
चितवन २ बाट पुनः निर्वाचित रास्वपा सभापति रवि लामिछानेलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : रासस
अनिल यादव काठमाडाैं
२o८o बैशाख १८ सोमबार o८:३८:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रचण्ड–लामिछाने भेटवार्ता : रोजेकै मन्त्रालय दिन प्रधानमन्त्री तयार

रास्वपाले खोज्यो स्थिर सरकारको सुनिश्चितता, भ्रष्टाचारीको फाइल खोल्ने बुँदा हटाएकोप्रति असन्तुष्टि

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार o८:३८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले सम्मानजनक शक्ति बा“डफा“टसहित सरकारमा फर्किन प्रस्ताव गरेका हुन् । 

रास्वपाले भने स्थिर सरकारको सुनिश्चितता खोजेको छ । १० वैशाखको उपनिर्वाचनपछि प्रधानमन्त्री र चितवन २ बाट निर्वाचित लामिछानेबीच पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रास्वपालाई पुनः सरकारमा आउन प्रधानमन्त्रीले प्रस्ताव गरेको तथा सभापति लामिछानेसँग सकारात्मक छलफल भएको बताए ।

‘प्रधानमन्त्रीले सरकारमा आउन प्रस्ताव गर्नुभएको छ । उहाँहरूले पार्टीभित्र छलफल गर्छौँ भन्नुभएको छ । सकारात्मक छलफल भएको छ । शक्ति बाँडफाँटको विषय गठबन्धनमा रहेका दलहरूबीचको छलफलबाट टुंग्याउन सकिन्छ भन्ने छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने । 

रास्वपा महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री प्रचण्ड रास्वपालाई रोजेकै मन्त्रालय दिन तयार भएको दाबी गरे । ‘अब सरकारमा आउनुस्, त्यसका लागि के गर्नुपर्छ, म तयार छु,’ महामन्त्री ढकालका अनुसार सभापति लामिछानेलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव थियो । तर, जवाफमा लामिछानेले तत्काल प्रतिपक्षमै बस्ने मनस्थिति रहेको जवाफ फर्काएको महामन्त्री ढकालले बताए । प्रधानमन्त्रीसँगको भेटमा सभापति लामिछानेले ‘एकातिर सरकार स्थिर हुने अवस्था पनि देखिँदैन । अर्कोतिर हामी नयाँ पार्टी छौँ, संगठन निर्माण केन्द्रित हुनुपर्ने सोचेका छौँ’ भन्ने जवाफ दिएको महामन्त्री ढकालले बताए । 

 

भेटमा सभापति लामिछानेले सरकारको नयाँ नीति तथा कार्यक्रममा ‘भ्रष्टाचारीको फाइल खोल्ने’ बुँदा हटाएकोप्रति असन्तुष्टि जनाएका थिए । ‘हामी सरकारमा हुँदा ल्याएको नीति तथा कार्यक्रममा राखिएको भ्रष्टाचारको फाइल खोल्ने बुँदा अहिले हटाइयो । यसले सरकारमा जाने होइन, बरु समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने अवस्था बनेको छ,’ लामिछाने भनेका थिए । प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा छुटेका विषयमा छलफल गर्न सकिने बताएका थिए ।

भेटमा सभापति लामिछानेले रास्वपाले यसअघि पाएका पुरानो मन्त्रालय पाउने सम्भावनाबारे पनि प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्ड पुराना मन्त्रालय दिन तयार भएको महामन्त्री ढकालको दाबी छ ।‘प्रधानमन्त्रीज्यूले सभापतिसँग रास्वपाले यसअघि पाएको पुरानो मन्त्रालय सबै दिन्छु भन्नुभएको छ । उहाँले तपाईंहरूको कुरा मैले बुझेको छु भन्दै रोजेकै मन्त्रालय दिन तयार हुनुभएको छ,’ महामन्त्री ढकालले भने । 

सरकारमा जान रास्वपाले केही मुद्दाहरूको सुनिश्चितता खोजेको छ । सरकार स्थिरताको सुनिश्चितता, नीति तथा कार्यक्रमको पुनर्लेखनका साथै पूर्ण अधिकार र स्वायत्ततासहित मन्त्रालयमा काम गर्ने वातावरणको प्रतिबद्धता भए सरकारमा जान सकिने रास्वपाको संकेत छ । 

‘एक महिनामै निस्किनुपर्ने गरी अब हामी सरकारमा जाँदैनौँ,’ महामन्त्री ढकालले भने, ‘बरु समर्थन फिर्ता लिएर प्रतिपक्षमै बस्छौँ । सरकार स्थिर हुने सुनिश्चितता र नीति तथा कार्यक्रममा हाम्रो मुद्दा समावेश भए भने जान नसकिने होइन । तर, त्यतिवेला पनि हामी पूर्ण अधिकार र स्वायत्ततासहित जाने हो । जुनसुकै मन्त्रालय लिए पनि भ्रष्टाचारका फाइल खोलेर कारबाही प्रक्रिया अघि बढाउने गरी जाने हो । यसमा रोकतोक नहुने अवस्था भयो भने सोच्न सकिन्छ ।’ 

गत शुक्रबार होटेल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लामिछानेलाई रोजेकै मन्त्रालय दिनुपर्ने अभिव्यक्ति राखेका थिए । आइतबार सभापति लामिछानेसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डको पनि पनि मन्त्री किराँतीकै जस्तै भनाइ आएको महामन्त्री ढकालले बताए । 

यसअघि ११ पुसमा गठन भएको सरकारमा रास्वपाका तर्फबाट लामिछाने गृहमन्त्री भएका थिए । त्यसपछिको विस्तारमा रास्वपाका डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । नागरिकता मुद्दाका कारण लामिछानेको सांसद पद गुमेपछि २२ माघमा रास्वपा सरकारबाट बाहिरएको थियो । 

रास्वपाको बैठक आज, लामिछाने दलको नेता चयन हुँदै
उपनिर्वाचनको परिणामपछि पहिलोपटक आज रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै छ । सोमबार बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । ‘बैठकमा आइतबार भएको प्रधानमन्त्रीसँगको भेटवार्ताबारे पनि सभापतिले ब्रिफिङ गर्ने तयारी छ,’ अर्यालले भने । 

महामन्त्री ढकालका अनुसार बैठकमा सरकारमा जाने या समर्थन फिर्ता गर्ने विषयमा पनि छलफल हुनेछ । ‘सरकारलाई समर्थन फिर्ता गर्ने या सरकारमा जाने भन्ने विषयमा छलफलको सुरुवात हुन्छ, तर निर्णय गर्दैनौँ,’ उनले भने । रास्वपाका अर्का एक नेताका अनुसार पार्टीभित्र सरकारमा जाने विषयमा हतार गर्न नहुने मत बढी छ । ‘एक महिना उपनिर्वाचनका लागि चितवनमै केन्द्रित हुनुपरेकाले सभापति केन्द्रको राजनीतिकबारे अपडेट हुनुहुन्न,’ ती नेताले भने, ‘हतारमा निर्णय नगरौँ, परिपक्व गरौँ भन्ने छ ।’ 

महामन्त्री ढकालका अनुसार सोमबार बैठकले संसदीय दलको नेता चयन गर्नेछ । १३ माघमा नागरिकता मुद्दाका कारण सर्वोच्च अदालतको फैसलाले एकसाथ लामिछानेको गृहमन्त्री, सांसद र पार्टी सभापति गुमेपछि उपसभापति डिपी अर्याल संसदीय दलको नेता बनेका थिए । १० वैशाखमा उपनिर्वाचनमार्फत लामिछाने पुनः सांसद निर्वाचित भएर आएपछि अर्यालले शनिबार दलको नेताबाट राजीनामा दिएका थिए ।

 महामन्त्री ढकालका अनुसार राजीनामापश्चात् पार्टीको विधानबमोजिम पुनः दलको नेताको चयन प्रक्रिया सुरु भएको छ । आकांक्षीका रूपमा सभापति लामिछानेको मात्रै निवेदन परेका छ । आजको केन्द्रीय समितिको बैठकमा निर्णयपश्चात् बस्ने संसदीय दलको बैठकले त्यसलाई अनुमोदन गर्ने तयारी छ । चितवन २ बाट लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले निर्वाचित भएर आएसँगै अहिले रास्वपाका २१ सांसद छन् ।