मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
अजित अधिकारी काठमाडाैं
२o८२ श्रावण ३ शनिबार o६:oo:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक वर्षमै गए आठ लाख ३९ हजार युवा वैदेशिक रोजगारीमा

विश्वका १९३ देशमध्ये ०८१/८२ मा नेपाली १७८ मुलुकमा वैदेशिक रोजगारीका लागि पुगे

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार o६:oo:oo
  • पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ नेपाली वैदेशिक रोजगारीमा गए

गत आर्थिक वर्ष ०८१/८२ मा आठ लाख ३९ हजार २६६ युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यसरी बिदेसिनेमध्ये ६०.२८ प्रतिशत नयाँ हुन् भने २९.७२ प्रतिशत पुन: श्रम स्वीकृति लिएर गएका छन् । यस वर्ष नेपाली १७८ मुलुकमा वैदेशिक रोजगारीका लागि पुगेका छन् । 

वैदेशिक रोजगार विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत यस अवधिमा सात लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला रोजगारीका लागि विदेश गएको जानकारी दिएको हो । युवालाई श्रमका लागि विदेश पठाउन देशभर ७२५ म्यानपावर सक्रिय छन् । 

यो संख्या हालसम्मकै उच्च हो । आव ०८०/८१ मा सात लाख ४१ हजार २९७ युवा वैदेशिक रोजगारीमा गएका थिए । त्यसअघि आव ०७९/८० मा सात लाख ७१ हजार ३२७ युवा विभिन्न देशमा श्रमका लागि पुगेका थिए । 

विभागका अनुसार गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढी युएई पुगेका छन् । गत आवमा युएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराइन रोजगारीका लागि युवाको रोजाइमा पर्दै आएका मुलुक हुन् ।

विभागका अनुसार युएईमा दुई लाख ७४ हजार ५९१ युवा रोजगारीका लागि पुगेका छन् । त्यस्तै, एक लाख ५२ हजार ८५७ जना साउदी अरब र एक लाख ४० हजार ७९१ जना कतार गएका छन् । कुवेतमा ५९ हजार ६५, मलेसियामा ४९ हजार १८७, रोमानियामा २७ हजार ८८४, जापानमा २३ हजार ७१, कोरियामा १४ हजार २२४ र क्रोएसियामा १३ हजार ८३५ युवा रोजगारीका लागि पुगेको मन्त्रालयले जनाएको छ ।

खाडी मुलुकतर्फ मात्रै केन्द्रित युवा पाँच वर्षयता युरोपका देशमा जानेक्रम पनि बढेको तथ्यांकले देखाएको छ । विभागका अनुसार पाँच वर्षयता नयाँ र पुन: श्रम स्वीकृति लिने १० देशको सूचीमा युरोपियन मुलुक रोमानिया छैटौँ र क्रोएसिया १०औँ स्थानमा छन् । 

विभागका अनुसार गत वर्ष व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर एक लाख ३३ हजार ६२७ युवा विभिन्न मुलुक गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर जाने युवाले खाडी मुलुक नभई जापान, रोमानिया, क्रोएसिया, कोरिया र इजरायल रोजेको विभागको तथ्यांक छ ।

त्यस्तै, म्यानपावरमार्फत पहिलोपटक कामको खोजीमा तीन लाख ५९ हजार ६७५ युवा बिदेसिएका छन् । म्यानवापरबाटै पुन: श्रम स्वीकृति लिएर तीन लाख ३३ हजार ३०९ युवा विभिन्न गन्तव्य मुलुक गएका छन् । 

सरकारी प्रक्रियाबाट कोरिया र इजरायल जाने युवाको संख्या १२ हजार ६५३ रहेको छ । यसमध्ये इजरायलमा ६२५ जना पुगेका छन् ।

विभागका अनुसार पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये पुरुष ३१ लाख ८१ हजार १९१ र महिला तीन लाख ३५ हजार ७७४ जना छन् । 

यसैबिच वैदेशिक रोजगारीमा जानुअघि सरकारले प्रदान गर्ने सबै प्रकारका अभिमुखीकरणलाई डिजिटल प्रविधिमा आधारित बनाइने भएको छ । अहिले भौतिक रूपमा उपस्थित भएर एकहप्ते तालिम लिनुपर्ने अवस्था छ । तालिम दिने सरकारको एउटा र निजी क्षेत्रका १३८ संस्था छन् ।

सबै देशमा जाने कामदारका लागि न्यूनतम पारिश्रमिक तोक्ने तयारी
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले सबै मुलुक जाने कामदारका लागि न्यूनतम पारिश्रमिक तोक्ने गरी काम भइरहेको बताए । ‘वैदेशिक रोजगार थप पारदर्शी र प्रभावकारी बनाउन वैदेशिक रोजगार खुला गरिएका मुलुकमा नेपाली श्रमिकले पाउने न्यूनतम पारिश्रमिक तोक्ने कार्यको थालनी भइसकेको छ । युएईको हकमा न्यूनतम एक हजारदेखि १५ सय दिरामसम्म तोकिएको छ,’ उनले भने, ‘आगामी दिनमा सबै गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्दै जाने र सम्बन्धित देशमा पेसागत दक्षताका आधारमा अलग–अलग न्यूनतम पारिश्रमिक तोक्ने व्यवस्था गर्न पहल गर्नेछौँ ।’ वैदेशिक रोजगारीमा जानुअघि सरकारले प्रदान गर्ने सबै प्रकारका अभिमुखीकरणलाई डिजिटल प्रविधिमा आधारित बनाइने पनि विभागले जनाएको छ ।