मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँदिल्ली
२०८० बैशाख १७ आइतबार ०८:४७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतले पाँच क्रिकेट रंगशाला मर्मत गर्न आठ अर्ब खर्चने

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०८० बैशाख १७ आइतबार ०८:४७:००

यसै वर्षको अक्टोबर र नोभेम्बरमा भारतले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । आयोजक भारतले अहमदाबाद, बेंग्लोर, चेन्नई, नयाँदिल्ली, धर्मशाला, गुवाहाटी, हैदराबाद, कोलकाता, लखनउ, इन्डोर, राजकोट र मुम्बईमा अवस्थित विश्वस्तरीय रंगशालामा विश्वकपका खेल आयोजना गर्नेछ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पाँच रंगशालाको पुनर्निर्माण गर्ने भएको छ । बिसिसिआईले यसका लागि पाँच अर्ब भारतीय रुपैयाँ (आठ अर्ब नेपाली) बजेट छुट्याएको छ । 

नयाँदिल्लीको फिरोज शाह कोटला, हैदराबादको राजीव गान्धी, मुम्बईको वानखडे, कोलकाताको इर्डन गार्डेन र मोहालीको पिसिए रंगशाला पुनर्निर्माण हुन लागेको बिसिसिआईले जनाएको छ । ती रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भइरहे पनि विश्वकपका निमित्त फरक मापदण्ड पूरा गर्नुपर्नेछ । आयोजक बिसिसिआईले विश्वकप आयोजना गर्न राखिएको मापदण्डअनुसारै रंगशाला पुनर्निर्माण गर्न लागेको जनाएको छ । 

हैदराबादमा धेरै खर्च
दिल्लीको रंगशाला मर्मत गर्न प्रारम्भिक बजेट एक अर्ब भारु राखिएको छ । यसैगरी, हैदराबादमा बिसिसिआईले १ अर्ब १७ करोड अर्ब भारु बजेट राखेको छ । पुनर्निर्माण हुने रंगशालामध्ये हैदराबादमा धेरै खर्च हुने जनाइएको छ । भारतको चर्चित तथा पुरानो रंगशालाका रूपमा रहेको इर्डन गार्डेनलाई थप सुविधासम्पन्न बनाउन १ अर्ब २७ करोड भारु खर्च हुनेछ । 

मोहालीको पिसिए रंगशालामा ७९ करोड ४६ लाख भारु खर्च हुनेछ । बिसिसिआईले सन् २०११ को एकदिवसीय विश्वकप फाइनल भएको रंगशाला वानखडेमा ७८ करोड ८२ लाख भारु छुट्याएको छ । 

बिसिसिआईले विश्वकप आयोजना गर्न विभिन्न १२ सहर प्रयोग गर्नेछ । मोहालीमा रहेको रंगशालामा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट हुने गर्छ । यहाँ पार्किङको समस्या रहेको छ । पार्किङलगायत अन्य सुविधा जडान गर्न तयारी भएको छ । 

४६ दिनसम्म चल्ने विश्वकप ५ अक्टोबरमा सुरु हुनेछ, जसमा ४८ खेल हुनेछन् । यसपटकको विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । १९ नोभेम्बरमा विश्वकपको फाइनल हुनेछ ।