१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ ६ आइतबार o६:२५:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सस्तिँदै कर्जाको ब्याजदर

बैंकहरूको आधारदर घट्यो, ४ प्रतिशत स्प्रेडदर कायम राख्नुपर्ने व्यवस्थाले साउनसम्ममा अझै घट्ने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:२५:oo

वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर घट्दै जाने देखिएको छ । वाणिज्य बैंकहरूको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घटेको छ । यसले कर्जाको ब्याजदर अझै सस्तिने देखिएको हो । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि विगतमा संस्थाहरूले निक्षेप आकर्षित गर्न ब्याजदर बढाएकै कारणले कर्जासमेत महँगिएको थियो । साथै, राष्ट्र बैंकले पनि विश्वव्यापी महँगीका कारण शोधनान्तर स्थितिमा चाप पर्न थालेपछि माग घटाउने नीति लिएकै कारणसमेत ब्याजदर महँगो भयो । अहिले शोधनान्तर स्थिति बचतमा गइरहेको र कर्जाको मागसमेत कमजोर हुँदा बैंकहरूलाई निक्षेपमा ब्याजदर घटाउनुपरेको हो । 

सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये १७ बैंकहरूको बेस रेट चालू आवको दोस्रो त्रैमासको तुलनामा घटेको छ । बैंकहरूले १२.१३३ प्रतिशत रहको मुद्दती निक्षेपको ब्याजदर गत माघबाट ११ प्रतिशतमा झारेका थिए । यसले बैंकहरूको आधारदर तेस्रो त्रैमासमा घटेको हो । १ वैशाखदेखि लागू हुने कर्जाको ब्याजदर पनि आधारदर घटेको अनुपातमा स्वतः घट्नेछ । नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आधारदर घटेपछि त्यसको प्रभाव ब्याजदरमा देखिने बताए । 

त्यस्तै, असार मसान्तसम्म बैंकहरूको स्प्रेडदर ४ प्रतिशत पुर्‍याउनुपर्ने राष्ट्र बैंकको व्यवस्थाका कारण पनि ब्याजदर सस्तिँदै जाने उनको भनाइ छ । उनले भने, ‘आधारदर घट्दाको प्रभाव ब्याजदरमा देखिने नै भयो । त्यसका साथै राष्ट्र बैंकले स्प्रेडदर ४ प्रतिशत कायम राख्नुपर्ने भनेको छ । यसमा एउटै उपाय भनेको प्रिमियम घटाउने हो । औसतमा प्रिमियम २.२५ प्रतिशतको हाराहारीमा छ ।’ यद्यपि, मर्जरमा जाने बैंकहरूलाई एक वर्षको सुविधा छ । 

तर, गत पुसको तुलनामा चैतमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकको आधार भने बढेका बैंकहरूको अपरिष्कृत वित्तीय विवरणले देखाउँछ । राष्ट्र बैंकले बैंकहरूले निक्षेपमा लिने ब्याजदर र कर्जा दिने औसत ब्याजदरको अन्तर घटाउँदै लगेको छ । यो अन्तर ४.४ प्रतिशत रहेकोमा चैतमा ४.२ प्रतिशत र आगामी असार मसान्तमा ४ प्रतिशत कायम गर्नुपर्ने भएको हो ।  

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कर्जाको माग घट्दै जाँदा निक्षेपमा सहजता बढ्दै गइरहेको बताए । जसकारण ब्याजदर थप सस्तो हुँदै जाने सम्भावना रहेको उनको भनाइ छ । त्यस्तै, चौथो त्रैमासमा सरकारी खर्च बढ्ने विगतको अनुभवले देखाएको थियो । त्यही अवस्था दोहोरिएमा बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त हुने उनको अनुमान छ । उनले भने, ‘हुन त सरकारसँग खर्च गर्ने पैसा छैन भन्ने छ । सरकारले आन्तरिक ऋण उठाएर स्रोत व्यवस्थापन गरिरहेको छ । यसले पनि बैंकिङ प्रणालीमा तरलता सहज बनाउने सम्भावना रहन्छ ।’ 

ग्लोबल आइएमई बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले अहिलेको अवस्थामा ब्याजदर घट्दै जानु स्वाभाविक भएको बताए । उनले भने, ‘अहिले मुद्दती निक्षेपसमेत म्याचुअर हुने वेला हो । निक्षेपमा लागू भएको नयाँ ब्याजदर लागू हुने वेला यही हो । यसले आधारदरमा समेत तुरुन्त प्रभाव देखाउँछ ।’

त्यस्तै, पुरानो ऋण नवीकरण हुने र नयाँ ऋणमा घटेको ब्याजदरसमेत लागू हुने उनको भनाइ छ । त्रैमासको औसत आधारदरमा कर्जाको जोखिमअनुसार बैंकहरूले प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्छ । ‘कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा ‘आधारदर’सँग आबद्ध गर्नुपर्नेछ,’ नेपाल राष्ट्र बैंकले बैंकहरूलाई जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ ।

यस्तै, पुनर्तालिकीकरण वा पुनर्संरचना गरिने कर्जाको ब्याजदरसमेत आधारदरलाई आधार मानी निर्धारण गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यसले पनि कर्जाको ब्याजदर आधारदरले निर्देशित गर्ने स्पष्ट हुन्छ । कर्जाको ब्याजदर घटबढ हुने भए पनि आधारदरमा बैंकहरूले लिने प्रिमियम भने बैंकहरूले आफैँ बढाउन सक्दैन । तर, कर्जाको ब्याजदर घटाउन, प्रिमियम घटाउन भने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । आधारदर बढ्यो भने आफैँ कर्जाको ब्याजदर बढ्ने र घट्दा घट्ने गरी ब्याजदर निर्धारण 
हुने गर्छ ।

बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्दै आएका छन् । राष्ट्र बैंकले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछट्टै प्रिमियम दर तय गरी मासिक रूपमा कर्जा तथा सापटको ब्याजदर निर्धारण तथा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।यस्तै, आगामी महिनाका लागि कर्जा तथा सापटमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनुपूर्व प्रकाशित गरिसक्नुपर्नेछ ।

कर्जा लगानी गर्दा बैंकहरूले लिने प्रिमियम दर कर्जाको जोखिम र राष्ट्र बैंकले उक्त कर्जाको निर्धारण गरेको जोखिम भारलाई समेत ध्यान दिनुपर्ने हुन्छ ।बैंकर्स संघले आधारदरमा जोड्न प्रिमियम अधिकतम ५ प्रतिशतसम्म लिने निर्णय गरेकाले आधारदर कम हुने बैंकमा भन्दा थोरै र बढी हुने बैंकमा तुलनात्मक रूपमा बढी ब्याजदर हुने गर्छ ।

बैंकहरूको ०७९ चैत मसान्तको विवरणअनुसार सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको छ । बैंकको आधारदर चैत मसान्तमा ८.६ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२७ प्रतिशत रहेको छ । यस्तै, एकल अंकमा आधारदर रहेका बैंकमा नेपाल बैंक, एभरेष्ट बैंक र नबिल बैंक छन् । नेपाल बैंकको आधारदर ९.९२ प्रतिशत, एभरेष्टको ९.९४ प्रतिशत र नबिल बैंकको ९.९९ प्रतिशत छ ।यस्तै, चैतमा सबैभन्दा धेरै आधारदर भएको सन्राइजको ११.३४ प्रतिशत छ । माछापुच्छ्रे बैंकको आधारदर ११.३१ प्रतिशत र सिटिजन्स बैंकको ११.१४ प्रतिशत छ ।

आधारदर घट्दा ब्याजदर घट्नु  स्वाभाविक
सन्तोष कोइराला, उपाध्यक्ष, नेपाल बैंकर्स संघ

आधारदर घट्दाको प्रभाव ब्याजदरमा देखिनु स्वाभाविक हो । राष्ट्र बैंकले स्प्रेडदर ४ प्रतिशत कायम राख्नुपर्ने भनेको छ, यसको एउटै उपाय भनेको प्रिमियम घटाउने हो । औसतमा प्रिमियम २.२५ प्रतिशतको हाराहारीमा छ ।

ad
ad