नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाले १५ दिनभित्र आफ्ना माग पूरा नभए बन्चरेडाँडामा फोहोर ढुवानी बन्द गर्ने चेतावनी दिएका छन् । बिहीबार ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अघिल्लो जेठ २३ गते नेपाल सरकार, सहरी विकास मन्त्रायल, काठमाडौं महानगरपालिका, धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरूबीच भएको सम्झौता र सोही जेठको २६ गते काठमाडाैं महानगरपालिका, धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरूबीच भएको सम्झौताअनुरूप बुँदाहरू कार्यान्वयन नभएको भन्दै ती बुँदालाई तत्काल कार्यन्वयनमा ल्याउन माग गरेकाे छ ।
त्यस्तै, फोहोरमैला व्यवस्थापनका लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बन्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्न पनि स्थानीय सरोकारवालाले माग गरेका छन् ।
ककनी गाउँपालिका, धुनीबेँसी नगरपालिकाका वडाहरूमा आर्थिक १० करोडबराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्न नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजन गर्न पनि माग गरिएको छ ।