Skip This
चैतमा चालू आर्थिक वर्षकै बढी आयात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ७ बिहीबार
  • Saturday, 27 July, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८o बैशाख ७ बिहीबार o९:१o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चैतमा चालू आर्थिक वर्षकै बढी आयात

मासिक आयात बढ्दो क्रममा, चैतमा मात्रै एक खर्ब ४३ अर्बको आयात

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ७ बिहीबार o९:१o:oo

सरकारले आयातमा लगाइएको सबै किसिमको प्रतिबन्ध फुकुवा गरेसँगै चैतमा चालू आर्थिक वर्षकै अधिक वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार चैतमा एक खर्ब ४३ अर्बका वस्तु आयात भएको छ । यद्यपि, गत आर्थिक वर्षको चैतमा एक खर्ब ५७ अर्बको वस्तु आयात भएको थियो । यसअघि भदौमा एक खर्ब ४२ अर्बको वस्तु आयात भएको थियो । दसैँ–तिहारलाई लक्षित गर्दै व्यवसायीले सामान आयात बढाएपछि भदौमा मासिक आयात उच्च देखिएको थियो । मासिक आयात बढ्दै गए पनि समग्रमा भने गत आर्थिक वर्षको तुलनामा कमजोर नै देखिन्छ । गत आर्थिक वर्षको नौ महिनामा १४ खर्ब ६६ अर्बको आयात भएको थियो । चालू आवमा १२ खर्ब एक अर्बको मात्रै आयात भएको छ । 

 कुन महिनामा कति आयात ?
आयातमा प्रतिबन्ध कायम रहेका माघ महिनामा चालू आर्थिक वर्षकै कम वस्तु आयात भएको थियो । माघ महिनामा एक खर्ब २६ अर्बको वस्तु आयात भएको थियो । आयात फुकुवापछि फागुनमा एक खर्ब ३९ अर्बको वस्तु आयात भएको थियो । मंसिरमा एक खर्ब ३२ अर्बको, कात्तिकमा एक खर्ब ३१ अर्बको र असोजमा एक खर्ब २७ अर्बको वस्तु आयात भएको थियो । 

 १० अर्बभन्दा बढी आयात भएका वस्तुः सूची बढ्यो, मूल्य घट्यो
१० अर्ब रुपैयाँभन्दा बढी मूल्यमा आयात भएका वस्तुको सूची संख्या २२ पुगेको छ । यो सूचीमा परेका वस्तुहरूको कुल आयात पाँच खर्ब ३१ अर्ब पुगेको छ । सूची बढे पनि यसको यो सूचीमा परेको वस्तु आयात मूल्यमा घटेको देखिन्छ । गत आर्थिक वर्षको नौ महिनामा यो सूची २१ थियो । जसको कुल आयात ६ खर्ब १३ अर्ब थियो । 

 १० अर्बभन्दा बढी मूल्यमा आयात भएका वस्तु
सबैभन्दा बढी आयात हुनेमा डिजेल, पेट्रोल र एलपिजी ग्यास छन् । डिजेल एक खर्ब १२ अर्ब मूल्यबराबरको आयात भएको छ । ४० अर्बको समूहमा पेट्रोल र खाना पकाउने ग्यास छन् । पेट्रोल ४९ अर्ब ७४ करोडको आयात भएको छ भने खाना पकाउने ग्यास ४४ अर्ब ८४ करोडको छ । ४० अर्बको समूहबाट खानेतेलमध्येको प्रमुख भटमासको कच्चा तेल बाहिरिएको छ । गत आर्थिक वर्षको नौ महिनामा ४५ अर्ब ५८ करोडको भटमासको कच्चा तेल आएको थियो । 

 ३० अर्बको समूहमा दुई वस्तु
३० अर्बभन्दा बढी मूल्यमा आयात हुने वस्तुमा फलामजन्य उत्पादन र भटमासको कच्चा तेल छ । फलाम मिश्रित उत्पादन ३० अर्ब ६३ करोडको आयात भएका छन् भने ३० अर्बबराबर भटमासको कच्चा तेल आयात भएको छ । गत आर्थिक वर्षको नौ महिनामा यस्ता चार वस्तु आयात भएका थिए । जसमा फलामजन्य वस्तु, टेलिफोन, कच्चा पाम तेल र भ्याक्सिन थिए । 

 २० अर्बको समूहमा कच्चा पाम तेल र नक्कली सुन 
२० अर्बभन्दा बढी मूल्यमा आयात हुने समूहमा कच्चा पाम तेल र नक्कली सुन छन् । गत आर्थिक वर्षको नौ महिनामा यस्ता वस्तु तीनवटा थिए । जसमा सुन, कोइला र फलामका पाता थिए । अहिले यी वस्तुको आयात खस्किएर १० अर्बको समूहमा झरेका छन् । 

 आयात खस्किएर १० अर्बको समूहमा परेका वस्तुहरू
चालू आर्थिक वर्षमा कम आयात भएर १० अर्बको समूहमा चार वस्तु परेका छन् । जसमा कोइला, सुन र भ्याक्सिनजस्ता वस्तु छन् । चालू आवको नौ महिनामा १९ अर्ब ३३ करोड रुपैयाँको कोइला आयात भएको छ, १७ अर्ब २८ करोडको सुन र १० अर्बको भ्याक्सिन आयात भएको छ । त्यस्तै, अर्धप्रशोधित फलामजन्य उत्पादनको समेत आयात खस्किएर १० अर्बको समूहमा परेको छ । पोहोर चैतसम्म कोइला २८ अर्ब ५४ करोड, सुन २८ अर्ब ५४ करोड र भ्याक्सिन ३१ अर्ब ८५ करोडको आयात भएको थियो । 

 आयात बढेर १० अर्बको समूहमा परेका वस्तु
आयातमा वृृद्धि भएर १० अर्बको समूहमा चार वस्तु थपिएका छन् । यसमा रासायनिक मल, फलामको पाता, हवाई इन्धन र स्मार्टफोन छन् । स्मार्टफोन १८ अर्ब ६६ करोड ४३ लाख रुपैयाँको, हवाई इन्धन १६ अर्ब १५ करोडको, फलामको पाता १२ अर्ब आठ करोड र रासायनिक मल ११ अर्ब २७ करोडको आयात भएको छ । 

 निर्यात २६ प्रतिशतले घट्यो
चालू आवको नौ महिनामा नेपालले एक खर्ब १८ अर्ब २७ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.३४ प्रतिशतले न्यून हो । गत वर्षको नौ महिनामा नेपालले एक खर्ब ६० अर्ब रुपैयाँबराबरको निर्यात गरेको थियो । 

 व्यापारसँगै घाटा पनि घट्यो
चालू आवका नौ महिनामा व्यापारका सबै सूचक ऋणात्मक देखिएका छन् । आयात र निर्यात दुवै घटेका छन् । समीक्षा अवधिमा नेपालले कुल १३ खर्ब १९ अर्बबराबरको व्यापार गरेको छ । जुन गएको आवको सोही अवधिको तुलनामा १८.८९ प्रतिशतले कमी हो । त्यस्तै, व्यापार घाटा पनि अघिल्लो वर्षको तुलनाम १७ प्रतिशतले घटेको छ । यो नौ महिनामा नेपालले १० खर्ब ८३ अर्बको व्यापार घाटा व्यहोरेको छ ।