Skip This
नौ दिनदेखि उठेन भिभिआइपी क्षेत्रको फोहोर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o७:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नौ दिनदेखि उठेन भिभिआइपी क्षेत्रको फोहोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o७:१o:oo

वार्ता नगरी फोहोर नउठाउने महानगरको अडान

काठमाडौं महानगरले भिभिआइपी क्षेत्रको फोहोर नउठाउँदा सिंहदबार, बालुवाटार र शीतलनिवास क्षेत्रमा फोहोर थुप्रिएको छ । सिंहदरबारले स्थानीय तहलाई सहयोग नगरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले २६ चैतमा भिभिआइपी क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि यी क्षेत्रमा फोहोर थुप्रिएको हो ।

नौ दिनदेखि फोहोर नउठ्दा ती ठाउँमा वर्गीकरण गरिएको (कुहिने) फोहोर मात्रै ३० टन (पाँच टिपर)भन्दा बढी भइसकेको छ । दिनहुँ फोहोर थुप्रिँदै गए पनि व्यवस्थापन गर्नेतर्फ महानगरले कुनै संकेत देखाएको छैन । मेयर साहले केन्द्र सरकारसँग गम्भीर वार्ता गरेर मात्रै फोहोर उठाउने बताउँदै आएका छन् । ‘मेयरसाबले केन्द्र सरकारले सहमति र सम्झौता नगरेसम्म फोहोर नउठाउने बताउँदै आउनुभएको छ,’ महानगरका एक कर्मचारीले भने, ‘महानगरका माग केन्द्र सरकारले पूरा गरे महानगरले पनि आफ्नो दायित्व पूरा गर्छ ।’ भिभिआइपी क्षेत्रको फोहोर उठाउने जिम्मा पाएका निजी कम्पनीहरूले मेयरको निर्देशनअनुसार २६ चैतदेखि फोहोर उठाएका छैनन् । नौ दिनदेखि ती कम्पनीहरूले सिंहदरबार, राष्ट्रपतिनिवास र प्रधानमन्त्रीनिवासको फोहोर उठाएका छैनन् ।

महानगरको ९० प्रतिशत फोहोर निजी संस्थाहरूले उठाउँदै आइरहेका छन् । २७ वटा निजी कम्पनीले महानगरको फोहोर बन्चरेडाँडा पुर्‍याउने गरेका छन् । उपत्यकामा दैनिक उत्पादन हुने फोहोरको १० प्रतिशत फोहोर मात्रै महानगरले उठाउँछ । उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ । यो फोहोर व्यवस्थापनका लागि महानगरसँग जम्मा १८ वटा कन्टेनर छन् । यी कन्टेनरले दैनिक १०–१५ टिप मात्रै व्यवस्थापन गर्ने गरेका छन् भने अन्य फोहोर निजीले उठाउने गरेका छन् ।

कसरी भइरहेको छ सिंहदरबारमा फोहोर व्यवस्थापन ?
सिंहदरबारलगायत भिभिआइपी क्षेत्रमा ०६४ सालदेखि निजी कम्पनी परिवर्तन सेवा प्रालिले फोहोर व्यवस्थापन गर्दै आइरहेको छ । काठमाडौं महानगरले सिंहदरबारसँगको टसलका कारण निजी कम्पनीलाई फोहोर नउठाउन दबाब दिँदै आइरहेको छ । फोहोर उठाउँदै आएको निजी कम्पनीका प्रमुख मित्रकुमार घिमिरेका अनुसार महानगरले फोहोर उठाउन रोक लगाएपछि सिंहदरबार र उच्चपदस्थ व्यक्ति बसोवास रहेको क्षेत्रमा फोहोर नउठेको जानकारी दिए ।

‘हामीलाई आदेश आयो भने मात्रै हामीले फोहोर उठाउने हो,’ उनले भने, ‘अनुमतिविना फोहोर उठाउँदा महानगरले हामीलाई कारबाही गर्छ ।’ उनका अनुसार सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गर्छ । दिनहुँ निस्कने फोहोर निकास गर्न नपाउँदा सिंहदरबारभित्रै राख्न अभाव हुन लागेको उनले बताए । उनी भन्छन्, ‘थोरै ठाउँमा फोहोर व्यवस्थापन गर्न सकियोस् भनेर कुहिने, नकुहिने, रिसाइकल हुने फोहोर छुट्याएर व्यवस्थापन गर्न थालेका छौँ ।’ रिसाइकल गर्न मिल्ने फोहोर कबाडीमा बेच्ने गरेको उनले बताए । यसअघि सिंहदरबारको फोहोर वर्गीकरण नगरी सीधै बन्चरेडाँडा लगिने गरिन्थ्यो ।

फोहोर उठाउन माग गर्दै रिट
सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको हो ।

महानगरपालिकाले फोहोर नउठाउने निर्णय गरेपछि फोहोर थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल उठाउन अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ । रिट निवेदनमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाले सिंहदरबार क्षेत्रभित्र, राष्ट्रपतिको कार्यालय क्षेत्रभित्र, प्रधानमन्त्री आवास क्षेत्रभित्रको फोहोरमैला संकलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाऊँ ।’ रिट निवेदनमा स्थानीय सरकार र संघीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर फोहोर व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ । 

ad
ad