राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रूपमा स्विकार्न नसकेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको महत्व बराबर भए पनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताएका हुन्।
सरकारले राष्ट्रिय सभा पनि संघीय संसद्को एउटा ‘पार्ट’ हो र राष्ट्रिय सभाविना संघीय संसद् हुन सक्दैन भन्ने कुरा मान्न नसकेको उनले जिकिर गरे। उनले सरकारले राष्ट्रिय सभाका चारवटा समितिले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको भन्दै आपत्ति जनाए।
‘केही कुराबाहेक, समानन्तर रूपमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको महत्व, गरिमा र अधिकारलाई स्थापित गरेका छौँ । तर, दुःखको कुरा मिडियाको, बुद्धिजीवीहरूको, आममानिसको कुरा छोडौँ। सरकारले राष्ट्रिय सभा पनि संघीय संसद्को एउटा पार्ट हो भन्ने कुरा बुझ्नै खोजिरहेको छैन,’ कांग्रेस सांसद देवले भने।