१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Sunday, 11 May, 2025
रोनाल्ड सनी
२o८o बैशाख ४ सोमबार १o:१२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन युद्धले छायामा पारेको अर्को युरोपेली युद्ध

दक्षिण ककेससमा निरंकुश अजरबैजानविरुद्ध लोकतन्त्रउन्मुख राष्ट्र आर्मेनियाको युद्धलाई युक्रेन युद्धजसरी हेरिएको छैन

Read Time : > 2 मिनेट
रोनाल्ड सनी
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार १o:१२:oo

विश्व युक्रेनमा भइरहेको विनाशको साक्षी बनिरहँदा पूर्वसोभियत संघको अर्को हिस्सामा शत्रुता दिनानुदिन बढ्दो छ । ११ अप्रिल २०२३ मा विवादित नागोर्नो–काराबाख क्षेत्रमा सात सैनिकको ज्यान जाने गरी भएको गोली हानाहानका लागि आर्मेनिया र अजरबैजानले एकअर्कालाई दोषारोपण गरेका छन् ।

यस क्षेत्रमा द्वन्द्व दिनानुदिन घातक बन्दै गएकामा म भने आश्चर्यचकित छैन किनभने आर्मेनिया र अजरबैजानबीचको द्वन्द्व नौलो होइन । तर, युक्रेन युद्धका कारण अहिलेको कलहमा नयाँ आयाम थपिएको छ । अर्को शब्दमा भन्नुपर्दा आर्मेनिया र अजरबैजानबीचको तनावमाथि प्रतिक्रिया दिन पश्चिम र रुस दुवैलाई आ–आफ्नो प्रतिबद्धताका कारण गर्दा गाह्रो भएको छ । तर, यस क्रममा अन्य क्षेत्रीय शक्तिले हस्तक्षेप भने गरेका छन् । नागोर्नो–काराबाखमा युक्रेनमा रुसी अतिक्रमणभन्दा पहिल्यै युद्ध चर्केको हो, तर पश्चिमले यस मामिलामा धेरै कम ध्यान दिएको छ ।

भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्नुभन्दा डेढ वर्षअघि आलोचकले ‘तानाशाह’ संज्ञा दिएका अजरबैजानका राष्ट्रपति इल्हाम अलयेभले आर्मेनियामाथि क्रुर आक्रमण गरेका थिए । २७ सेप्टेम्बर २०२० मा नागोर्नो–काराबाखको आर्मेनियालीको बस्तीको आर्तसाख क्षेत्रमा अलियेभले आफ्ना सेना तैनाथ गरेका थिए (आर्तसाख क्षेत्र अजरबैजान गणतन्त्रले भौगोलिक रूपमा घेरेको क्षेत्र (एनक्लेभ) हो) ।

पहिला विच्छेद त्यसपछि घेराबन्दी :  यो लडाइँले आर्मेनिया र अजरबैजानबीचको १९९४ मा मस्कोको मध्यस्थतामा भएको युद्धविरामले ल्याएको अस्थिर शान्तिलाई समेत खलबल्याएको छ । टर्की र इजरायलले आपूर्ति गरेको ड्रोन र अन्य हतियार प्रयोग गरेर तेलको धनी अजरबैजानले सन् २०२० मा आर्मेनियालाई सजिलै पराजित गरेको थियो । तैपनि, ४४ दिन चलेको युद्धले दुवैतर्फ हजारौँको संख्यामा सेना र आमनागरिकको हताहती भएको थियो । 

यस युद्धलाई पुनः एकपटक रुसको मध्यस्थतामा भएको युद्धविरामले टुंग्याएको थियो । तर, द्वन्द्व कहिल्यै रोकिएन । बरु बीचमा अजरबैजानले सीमा उल्लंघनको (घुर्कीयुक्त) दाबीसँगै आर्मेनिया गणतन्त्रमा आफ्नो सेना पठाउने क्रमलाई जारी राखेको थियो । यसैबीच आर्मेनिया र नागोर्नो–काराबाख जोड्ने एक मात्र मार्ग लाचिन करिडोर सरकार समर्थित स्वघोषित ‘वातावरण अभियन्ता’ले अवरुद्ध गरेका छन् ।

१२ डिसेम्बर, २०२२ देखि अहिलेसम्म करिब एक लाख २० हजार काराबाख आर्मेनियाली नाकाबन्दीका कारण अत्यावश्यक खाद्यवस्तु एवं औषधिबाट वञ्चित भएका छन् । यो नाकाबन्दीलाई अमेरिकासहित धेरै सरकारले आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अलियेभलाई ‘व्यापारिक ढुवानी एवं यातायातका लागि लाचिन करिडोर तुरुन्तै खोल्न’ आग्रह गरेका थिए ।

दक्षिण ककेससमा निरंकुश अजरबैजानविरुद्ध लोकतन्त्रउन्मुख राष्ट्र आर्मेनियाको युद्धलाई युक्रेन युद्धजसरी हेरिएको छैन
 

यद्यपि, वासिङ्टनले अजरबैजानविरुद्धको नाकाबन्दी रोक्नका लागि सक्षम देखिन्न वा अनिच्छुक देखिन्छ । र, युक्रेन युद्धले ऊर्जाको मूल्य आकाश छोइरहँदा पश्चिमा राज्यले तेल र ग्यासका धनी अजरबैजानप्रति सख्त रवैया अपनाउने छुट छैन । त्यसैगरी, आफैँ युक्रेन द्वन्द्वको दलदलमा फसेको अवस्थामा रुसले सन् २०२० मा झैँ युद्धविरामको मध्यस्थताको अवस्था छैन । दक्षिण ककेसस क्षेत्रको एक मात्र साझेदार आर्मेनियालाई पुटिनले सहयोग घटाएका छन् । सम्भवतः रुसले स्रोतसाधन अन्यत्र खर्च गर्नुपर्ने भएकाले यसो भएको हुन सक्छ ।  

क्षेत्रीय साझेदार पाउँदै र गुमाउँदै : रुस अहिले नागोर्नो–काराबाखको द्वन्द्वमा अनुपस्थित छ जुन एक शताब्दी लामो भूराजनीतिक गठजोडबाट भएको विचलन हो । अजरबैजानको शासनबाट स्वायत्तता हासिल गर्न काराबाख आर्मेनियालीको प्रयासलाई केही पर्यवेक्षकले इसाई आर्मेनियाली र मुसलमान अजरबैजानीबीचको असहज संघर्षका रूपमा लिन सक्छन् । यद्यपि, नागोर्नो–काराबाख सोभियत संघमा ७० वर्षसम्म स्वायत्त ओब्लास्ट (प्रान्त)का रूपमा रहेको थियो । सो समयमा क्रेमलिन सोभियतका यी दुई पूर्वमुलुक (अजरबैजान र आर्मेनिया)का बीच शान्ति कायम गर्न सफल थियो ।

तर, सोभियतकालको अन्त्यताका जातीय राष्ट्रवाद बढ्दै गयो र मिखाइल गोर्बाचेभका सुधारले गैररुसी गणतन्त्रमा मस्कोको पकडलाई खुकुलो बनायो, अर्थात् अजरबैजान र आर्मेनियाबीचको वैमनश्य चर्कियो । सन् १९९१ मा सोभियत संघको पतन हुँदा नयाँ बनेका यी दुई स्वतन्त्र गणतन्त्र नागोर्नो–काराबाखका लागि युद्धमा होमिए । रुसले दुवै मुलुकलाई काखी च्याप्यो एकविरुद्ध अर्कोलाई लडायो । तर, यी दुईमध्ये पनि परम्परागत रूपमा रुस आर्मेनियासँग नजिक थियो । तर, हालैका वर्षमा रुस र आर्मेनियाबीचको सम्बन्ध चिसिँदै गइरहेको छ, यसका पछाडि आर्मेनियाले सन् २०१८ मा लोकतन्त्र रोज्नु रहेको बताइन्छ । यद्यपि, मस्को नेतृत्वको रणनीतिक गठबन्धन कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसनको सदस्यका नाताले आर्मेनिया रुसी साझेदार हो । यस अर्थमा पुटिनले सहायता कटौती गर्दा आर्मेनिया जोखिमयुक्त अवस्थामा पुग्नेछ । 

यसविपरीत अजरबैजानले आफ्नो क्षेत्रीय सहयोगीका रूपमा इरानसँग शत्रुता साझा गर्ने इजरायललाई पाएको छ । त्यसैगरी, टर्की पनि हालैका वर्षमा साझेदार बन्न पुगेको छ । दुवैले अजरबैजानलाई उन्नत हतियार उपलब्ध गराउँछन् । 
ठूला शक्तिले उपेक्षा गरिरहेका छन् : युक्रेन युद्धलाई पश्चिममा निरंकुशता र लोकतन्त्रबीचको टकरावका रूपमा प्रस्तुत गरिएको छ । तर, दक्षिण ककेससमा निरंकुश अजरबैजानविरुद्ध लोकतन्त्रउन्मुख राष्ट्र आर्मेनियाको युद्धलाई युक्रेन युद्धलाई झैँ हेरिएको छैन । 

नाकबन्दीप्रति अमेरिकाको हल्का प्रतिक्रिया र रुसको सैन्य खर्चको हिसाब–किताबले यी दुवै मुलुक आर्मेनिया र अजरबैजानले काटमार गरेको हेर्न तयार छन् भन्ने देखाउँछ । आफैँले सिर्जना गरेको लफडाका कारण रुस अहिले युक्रेनमै फसेको छ । तर, वासिङ्टनमा रहेका आर्मेनियाका शुभेच्छुकहरू आफूलाई पीडित जनताको उद्धारकर्ता भनेर चिनाउने अमेरिका कता छ भनेर प्रश्न गरिरहेका छन् ।  
(सनी मिसिगन विश्वविद्यालयका इतिहास एवं राजनीतिशास्त्रका प्राध्यापक हुन्)द कन्भर्सेसनबा