
स्वास्थ्यमा समस्या देखिएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर निवासमा आराम गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि सामाजिक सञ्जालबाटै पार्टीका उम्मेदवारहरूका लागि मत मागेका छन्।
भाइरल ज्वरोका कारण बालकोटस्थित निवासमै आराम गरिरहेका ओलीले सामाजिक सञ्जालबाटै अस्वस्थ भएको जानकारी दिँदै मतदाताहरूलाई एमाले उम्मेद्वारहरूलाई जिताउन आह्वान गरेका हुन्।
‘सबैलाई नमस्कार! भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ। अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन। तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ। तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ,’ ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आह्वान गर्दै भनेका छन्, ‘उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आममतदाताहरूसमक्ष म विनम्र आग्रह गर्दछु।’
स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा मतदातालाई भेट्न आउने प्रतिबद्धता ओलीले जनाएका छन्।