
राष्ट्रपति रामचन्द्र पौडेलले विश्वसामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको बताएका छन्। इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममा मात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे। उनले नेपालमा आर्य, मंगोल र आग्नेय परिवारका समुदायको मिश्रित संस्कृति रहेको बताउँंदै यी सबैलाई मिलाउन सके नेपाली–नेपालीबीचको एकता बलियो हुने बताए।
नेपालीहरू विश्वका कुनाकुनामा पुगेको बताउँदै उनले विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकोमा इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनको प्रशंसा गरे।
फाउन्डेसनले अफ्रिकाबाहेकका ६ महादेशका विभिन्न देशबाट र नेपालबाट मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्समा नेपाली संस्कृति र पहिचान झल्कने नृत्य र गायन प्रतियोगिता गरिरहेको छ।