१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शान्ति तामाङ काठमाडाैं
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:१४:oo
Read Time : > 7 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपत्यकामा व्यायाम केन्द्रसहितका पार्क

Read Time : > 7 मिनेट
शान्ति तामाङ, काठमाडाैं
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१४:oo

स्थानीय जनप्रतिनिधि आएपछि काठमाडौं महानगरमा बने ५६ पार्क, थप १६ निर्माणको चरणमा 

काठमाडौं मेडिकल कलेजका फिजिसियन डा. सुनील चौधरी भन्छन्–उपत्यकाभित्रका खुला ठाउँ र पार्कहरूमा जिम तथा व्यायाम गर्न मिल्ने उपकरण राख्न आवश्यक छ

भक्तपुरमा २३, काठमाडौंमा ६ र ललितपुरमा सात स्थानमा व्यायाम सेन्टर

मनोहरा भक्तपुर पार्क

ललितपुरको हरिसिद्धिस्थित मुख्य सडकको नजिकैको पार्कमा हरेक बिहान ५ बजेदेखि नै स्थानीय जम्मा भएर शारीरिक व्यायाम गर्छन् । व्यायाम गर्न मिल्ने विभिन्न उपकरण पार्कमै छन् । स्थानीयको माग र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ललितपुर महानगरपालिकाले त्यहाँ व्यायामका उपकरणको व्यवस्था गरेको छ । 

शुक्रबार बिहान ६ बजे पार्कमा पुग्दा अधिकांश दौडिरहेका थिए । केही व्यायामका उपकरणसँग व्यस्त थिए । सार्वजनिक पार्कमै व्यायामका सामग्री राखिएपछि दुर्घटनाको डर र धुवाँ–धुलोको जोखिम मोल्दै सडकमा मर्निङवाक गर्ने स्थानीय पार्कमा केन्द्रित हुन थालेका छन् ।

‘सडकमा हिँड्न मुस्किल छ, सबैतिर धुलैधुलो र प्रदूषण मात्रै, पार्कमा आएपछि धुलोको समस्या हुँदैन,’ शारीरिक व्यायामका लागि हरिसिद्धि पार्क पुगेका सातदोबाटोका राजु नेपालले भने, ‘सडक किनारमा दौडिँदा हिँडिरहेको अर्को व्यक्तिलाई अवरोध हुन्छ, दुर्घटनाको डरसमेत लाग्छ ।’ 

शंखपार्क, शंखमूल

ललितपुरको शंखमूलस्थित शंखपार्कमा पनि हरेक दिन शारीरिक व्यायाम गर्न आउनेको भिड लाग्छ । काठमाडौं र ललितपुर महानगरले व्यायाम गर्नेदेखि बालबालिका खेल्नेसम्मका उपकरण राखिदिएका छन् । बागमतीवारि र पारिका मानिस व्यायाम गर्न त्यहाँ पुग्छन् । पार्कमा दिनभर घुम्न आउनेको समेत भिड लाग्छ । एकाबिहानैदेखि उपत्यकाका सडकमा सवारीसाधनको भिड बढ्ने, धुवाँ–धुलो हुने भएकाले पार्कमै व्यायाम गर्न आउने गरेको पाटनका सुदन बज्राचार्यले बताए । ‘सबैतिर भिडभाड मात्रै छ, दौडिनका लागि सीधा सडक छैन,’ उनले भने, ‘त्यसैले पार्कमा आएर शारीरिक व्यायाम गर्छु ।’ 

पार्कमा व्यायाम गर्न आउनेमध्ये कतिपय वृद्धवृद्धा पनि छन् । घरवरपर साँघुरो भएको र सडकमा हिँड्न दुर्घटनाको डर हुने भएकाले बिहान र साँझ पार्कमै आउने गरेको पाटन मंगलबजारका ७३ वर्षीय कृष्ण महर्जनले बताए । ‘घरभित्र कति बस्नु, सडकमा गाडीले हान्छ कि भन्ने डर हुन्छ, त्यसैले पार्कमै आउने गरेको छु,’ उनले भने । पाटन क्षेत्रका बुढापाका साँझपखको समयमा भने पाटन दरबार क्षेत्रको डबलीमा टहलिन्छन् । कतिपय नजिकै रहेको शंखमूल पार्क, विहार र मन्दिर क्षेत्रमा आराम र ध्यान गर्न पुग्छन् । 

कंक्रिटको सहर उपत्यकाभित्र काठमाडौंको गहनापोखरी, भक्तपुरको सिद्धपोखरी, ललितपुर र काठमाडौंको सीमामा रहेको शंखमूल पार्क र शंकपार्कमा बिहान र साँझपख आराम, व्यायाम र ध्यान गर्न आउनेको भिडभाड नै हुन्छ । 

उपत्यकामा खुला व्यायाम केन्द्र राख्नेबारे स्थानीय तहहरूबीच प्रतिस्पर्धा चलेको छ । उनीहरूले आफ्ना नगरवासीलाई शारीरिक व्यायाम गर्न मिल्ने विभिन्न उपकरण पार्क तथा खाली ठाउँमा राखिदिएका छन् । जसमा बिहान र बेलुकीपख शारीरिक व्यायाम र आराम गर्न पुग्नेहरूको भिड लाग्छ । 

भक्तपुरमा २३, काठमाडौंमा ६ र ललितपुरमा सात स्थानमा व्यायाम सेन्टर

नारायणचौर पार्क, नक्साल । 

काठमाडौं महानगरले ६ स्थानमा खुला व्यायामको व्यवस्था मिलाएको छ । शंखपार्क, पुष्पलाल पार्क, गहनापोखरी, चाबहिल गणेश मन्दिरनजिकै, तिलगंगास्थित बागमती नदी करिडोरलगायत ठाउँमा खुला व्यायाम गर्न सकिने उपकरण राखिएको छ । खुट्टा, ढाड, पेट, कम्मर, हात–पाखुरा आदिको व्यायाम गर्न मिल्ने १० प्रकारका उपकरण राखिएका यी ठाउँमा व्यायाम र आराम गर्न आउनेको भिड हुने गरेको छ । एक सेट उपकरणको मूल्य नौ लाख पर्ने महानगरका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले बताए । ‘हामीले खरिद गरेका उपकरण जर्मन प्रविधिका हुन्, लोकल उपकरण भए सस्तो पथ्र्यो,’ उनले भने, ‘हाल एक सेटमा १० प्रकारमा व्यायाम गर्न मिल्ने उपकरण खरिद गरेका छौँ ।’

महानगरले थप सात स्थानमा पनि व्यायाम उपकरण राख्ने योजना अघि सारेको छ । यो आवको कार्यक्रममा उक्त योजना समेटिएको पूर्वाधार विभाग प्रमुख थापाले जानकारी दिए । उनका अनुसार पेप्सीकोला, बालाजु पार्क, रत्नपार्क, भृकुटीमण्डप पार्क, थानकोटस्थित त्रिभुवन पार्क र शंखमूल पार्कमा व्यायाम उपकरण राखिँदै छ ।

त्यस्तै, काठमाडौं महानगरले सबै पार्कमा पनि व्यायाम उपकरण राख्ने योजना अघि बढाएको छ । हाल महानगरभित्र साना–ठूला गरेर ७२ वटा पार्क छन् । यी पार्कमा मानिस दिउँसोको समयमा घुम्न र आराम गर्न आउँछन् । तर, त्यहाँ शारीरिक व्यायाम गर्ने उपकरण पनि राख्दा घुम्न आउनेले व्यायाम गर्ने र मनोरञ्जन लिन सक्ने पूर्वाधार विभाग प्रमुख थापाको भनाइ छ । उनले सबैजसो पार्कमा बालबालिकाका लागि पनि खेल्ने उपकरण राखिने बताए । हाल शंखपार्कमा बालबालिकालाई खेल्न मिल्ने उपकरण राखिएको छ । ‘काठमाडांैमा व्यायाम गर्ने ठाउँको अभाव हुँदै गएको छ, त्यसकारण बिस्तारै सबैजसो पार्क र खाली ठाउँमा व्यायाम उपकरण राख्दै जान्छौँ ।’ 

ललितपुर महानगरले सात स्थानमा खुला व्यायाम केन्द्र स्थापना गरेको छ । हरिसिद्धि, बुङमती, हात्तीवन, सुनाकोठी, खोकना, धापाखेल, पुल्चोक, शंखमूलमा खुला जिम केन्द्र छ । यसबाहेक ललितपुर महानगरले जिल्लामा रहेका साना–ठूला ४७ वटा पार्कमा शारीरिक व्यायाम गर्ने उपकरण राख्ने योजना बनाएको छ । 

तर, चालू आवमा बजेट भने नछुट्याइएको महानगरका जिन्सी महाशाखा प्रमुख सागर थापाले बताए । ‘हामीले विभिन्न वडाले माग गरेअनुसार जिम गर्ने उपकरण गरिद गरेर पठाएका छौँ,’ उनले भने, ‘सर्वसाधारणले बिहान र बेलुकी शारीरिक व्यायाम गर्दा स्वास्थ्यका लागि फाइदा देखिने भएकाले यसमा महानगरले चासो दिएको छ ।’ उनले बिस्तारै सबै वडा र पार्कमा सर्वसाधारणलाई व्यायाम गर्न मिल्ने गरी उपकरण राखिने जानकारी दिए । 

सल्लाघारी पार्क, भक्तपुर

भक्तपुर नगरपालिकाले १० वटै वडाका २३ स्थानमा खुला व्यायाम सेन्टर राखेको छ । नगरपालिकाले जिमशाला राखेको तीन वर्ष भयो । वडा नम्बर १ को सिद्धपोखरी, भाज्यापोखरी र नपली सिर्जनानगर, वडा २ को सहिद स्मृति खेलमैदान नपुखु, वडा ३ को भक्तपुर दरबार क्षेत्रको वंशगोपाल चोकनजिकै र टेकापोखरी, वडा ४ मा भीमसेनस्थान र पोटरी स्क्वायर तालाको नजिकै खुला व्यायाम सेन्टर छ । त्यस्तै, वडा नम्बर ५ को पाँचतले मन्दिरको दक्षिणपट्टि र भीमसेनस्थान, वडा ६ मा खचः पोखरी र च्वछें, वडा ७ मा सुकुलढोका चोरच्वा र महेश्वरी खेलमैदान, वडा ८ मा लिवाली र महेश्वरी खेलमैदान, वडा ९ मा कमलविनायक र टाउनप्लानिङस्थित विभी ब्वंग तथा वडा १० को नागपोखरी र कमलविनायक मन्दिरपरिसरमा व्यायामका लागि १० प्रकारका उपकरण राखिएको छ । 

यी ठाउँमा बिहान र बेलुकी शारीरिक व्यायाम गर्न आउने स्थानीयको भिड लाग्ने गर्छ । नगरपालिकाले राखेको व्यायाम केन्द्रमा खुट्टादेखि टाउकोसम्मको व्यायाम गर्न सकिन्छ । ती उपकरण राख्न नगरपालिकाले एक सेटको तीन लाख रुपैयाँ खर्च गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार तीन वर्षदेखि खुला जिमशाला सञ्चालनमा ल्याइएको हो । व्यायाम तथा खेल्ने उपकरण राखेपछि बालबालिकादेखि वृद्धवृद्धासम्मको आकर्षण बढेको छ । ‘सहरका मानिस आ–आफ्नो कामधन्दामा व्यस्त छन्, शारीरिक व्यायाम गर्ने र शरीरलाई स्वस्थ पार्नेमा चासो दिँदैनन्,’ प्रशासकीय अधिकृत गिरीले भने, ‘शरीर स्वस्थ राख्न व्यायामको आवश्यकता हुने भएकाले हामीले ठाउँ–ठाउँमा व्यायाम गर्न मिल्ने उपकरण राखेका हौँ ।’ उनका अनुसार २३ स्थानमा व्यायाम केन्द्र स्थापना गर्न करिब ६९ लाख खर्च भएको छ । नगरपालिकाले खाली ठाउँ र पार्कहरूमा व्यायाम गर्ने उपकरण थप गर्ने योजनासमेत अघि सारेको छ । 

गोदावरीको चार स्थानमा व्यायाम सेन्टर 
ललितपुरको गोदावरी नगरपालिकाले गोदावरी बसपार्क क्षेत्रमा खुला व्यायाम सेन्टर खोलेको छ । वडा नम्बर ३ ले त्यहाँ व्यायामका उपकरण राखेको हो । बसपार्क क्षेत्र भएकाले खुला व्यायाम सेन्टरमा शारीरिक व्यायाम गर्न आउनेको भिडभाड हुने गरेको छ । 

यसबाहेक नगरपालिकाले चापागाउँ क्षेत्रका तीन स्थानमा व्यायाम केन्द्र राखेको छ । थप व्यायाम सेन्टर राख्ने योजना रहेको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए ।

युएनपार्क, ललितपुर

व्यायामका उपकरण : नेपाली एक सेटको चार लाख, विदेशबाट खरिद गर्दा २० लाख
उपत्यकाका स्थानीय तहहरूले फरक–फरक किसिमका व्यायाम उपकरण राखेका छन् । एउटा व्यायाम सेन्टरका लागि पूरा सेट उपकरण खरिद गर्दाको मूल्य पनि फरक–फरक छ । नेपालमा खरिद गर्दा चार लाख रुपैयाँ लाग्छ भने विदेशबाट आयात गर्दा २० लाख रुपैयाँ लाग्छ । 

हाल काठमाडौं महानगरले जर्मन प्रविधिको व्यायाम उपकरण विदेशबाट खरिद गरेको छ । त्यस्तै, ललितपुर महानगरपालिका– ३ ले पनि चीनबाट उपकरण खरिद गरेको थियो । तर, केही वडाले भने नेपालमै उत्पादित व्यायाम उपकरण प्रयोग गरेका छन् । यहीँ उत्पादन भएको सामान सस्तो पर्छ । हाल स्थानीय तहहरूले ९–१० प्रकारका व्यायाम गर्न मिल्ने उपकरण खरिद गरेका छन् । एउटा पूरा सेटमा १६ प्रकारको व्यायाम गर्न मिल्छ । तर, ९–१० वटा भए पुग्ने भएकाले स्थानीय तहहरूले सोहीअनुसार खरिद गर्ने गरेका छन् । उनीहरूले खरिद गरेका उपकरणहरूबाट हातखुट्टा, ढाड, कम्मर, पेट आदिको व्यायाम गर्न मिल्छ ।

स्वदेशमा जसले बनाउँछन् व्यायामका उपकरण 
ललितपुर महानगरभित्र हरिगोपाल महर्जनले व्यायामका उपकरण बनाउँछन् । उनले पाइप, फलाम, रबर, तारलगायतको प्रयोग गरी उपकरण बनाउने गरेका छन् । तर, कतिपय स्थानीय तहले कच्ची हुने भन्दै सो उत्पादन खरिद गर्दैनन् । 

‘हामीले यहीँको कच्चा पदार्थ प्रयोग गरी व्यायामका उपकरण बनाउँछौँ, हामीले बनाएको उपकरण खिया लाग्ने, भाँचिने वा फुट्ने डर हुँदैन,’ महर्जनले भने, ‘तर उपत्यकाका स्थानीय तहले महँगोमा विदेशबाट खरिद गर्ने गरेका छन् ।’ 

स्थानीय जनप्रतिनिधि आएपछि काठमाडौं महानगरमा बने ५६ पार्क, थप १६ निर्माणको चरणमा

शंखपार्क, शंखमूल

०७४ मा स्थानीय जनप्रतिनिधि आएयता काठमाडौं महानगरपालिकाभित्र ५६ पार्क बनेका छन् । थप १६ वटा निर्माणको चरणमा छन् । निर्माणाधीन सबै पार्क चालू आर्थिक वर्षमै सम्पन्न हुने महानगरले जनाएको छ । 

‘बागमती र धोबीखोला क्षेत्र, जहाँ सार्वजनिक जग्गा धेरै छन् । कतिपय ठाउँमा व्यक्ति र संस्थाले अतिक्रमण गरेर निजी प्रयोगमा ल्याएका थिए । ती अतिक्रमित जग्गा मुक्त गराएर पार्क निर्माण गरेका छौँ । त्यस्तै, कुलेश्वर, डल्लु, गोंगबु, सिनामंगललगायत आवास क्षेत्रमा मापदण्डअनुसार छाडिएका सार्वजनिक जग्गालाई पनि पार्कको रूपमा विकास गरेका छौँ,’ काठमाडौं महानगरअन्तर्गतको सार्वजनिक निर्माण विभाग प्रमुख राम थापाले भने । उनका अनुसार ०७४ मा जनप्रतिनिधि आएयता निर्माण भएका, हाल निर्माणाधीन र यो वर्ष बजेट विनियोजन गरिएका पार्कको संख्या ८४ पुगेको छ ।

सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिँदै तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पार्क निर्माण अभियान थालिएको थियो । व्यक्ति तथा संस्थाहरूले अतिक्रमण गरेका जग्गा खाली गराएर पार्क निर्माण थालिएको हो । 

नयाँ योजनासहित ८६ पार्कमा महानगरको ७३ करोड, १५ पार्कमा ओपन जिम
निर्माण सम्पन्न भएका ५६ र हाल निर्माणकै चरणमा रहेका १६ गरी ७२ पार्कको योजना तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा बनेको हो । जसको खर्च ५५ करोड लाग्ने भएको छ । त्यस्तै, चालू आर्थिक वर्षमा थप १४ पार्क निर्माणको योजना ल्याउँदै महानगरले १८ करोड विनियोजन गरेको छ । १४ मध्ये १३ पार्कको टेन्डर पनि भइसकेको छ । यसरी कुल ८४ पार्क निर्माणमा ७३ करोड लाग्ने भएको छ । महानगरले चालू वर्षमा ल्याएको योजनाअन्तर्गत तीन ठूला पार्क असोजभित्र र बाँकी आर्थिक वर्षमा निर्माण सम्पन्न गरिसक्ने महानगरले जनाएको छ । ‘साना पार्क यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुन्छन् । १८, १९ र २० मा तीनै वडाभित्र पर्ने एउटा पार्क तथा १२ र ३२ वडामा ठूला पार्क निर्माण हुने भएकाले अर्को आर्थिक वर्षसम्म जान्छ,’ थापाले भने । 

महानगरको ४ नम्बर वडामा धुम्बाराही पार्क, ५ नम्बर वडामा बुद्ध पार्क, वडा ६ मा शान्ति नमुना पार्क र सहिद पार्क निर्माण गरिएका छन् । वडा ७ मा गौरीघाट हरियाली पार्क, वडा १० मा सप्तऋषी पार्क, वडा १४ को कुलेश्वर आवासभित्रको सार्वजनिक क्षेत्रमा कुलेश्वर बुद्ध पार्क, वडा २१ मा लगनपार्क, वडा २८ मा इच्छुमति पार्क निर्माण तथा पुनरुत्थान र पद्मकन्या क्याम्पसपरिसरमा पनि पार्क निर्माण भइसकेका छन् । थापाका अनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग मिलेर विष्णुमती र बागमती सौन्दर्यकरण गर्ने कामसमेत यही वर्ष अगाडि बढाउने भएको छ । महानगरलाई हरियाली बनाउने अभियानस्वरूप साना नदी धोबीखोला, महादेव खोला, बल्लु, सामाखुसी, टुकुचालगायतको छेउछाउमा करिडोर खोल्ने र करिडोरसँगै बिरुवा रोप्ने योजना छ । 

थापाका अनुसार स्थानीयबीच पार्क बनाउने कि खेलमैदान भन्ने विवाद आउने गरेको छ । खाली जग्गामा खेलमैदान बनाएर बाँकीलाई हरियाली पार्ने प्रस्ताव युवा समुदायले गर्दा वृद्धवृद्धाले भने पार्क र हरियाली मात्रै बनाउनुपर्ने आवाज उठाउने गरेका छन् । स्थानीयकै मागअनुसार पार्कमा ओपन जिमका सामग्री राखिदिने र अकुपन्चर पार्कको धारणाअनुसार विकास गरिएको उनले बताए । १५ पार्कमा ओपन जिमको व्यवस्था भइसकेको छ । 

‘भित्री वडाहरूमा सार्वजनिक जग्गा नै नपाउने अवस्था छ । त्यसैले जति जग्गा भेटिन्छन् त्यति नै समेटेर कम्तीमा एउटा वडामा एउटा पार्क होस् भन्ने कार्यक्रमको उद्देश्य हो,’ थापाले भने । 

वर्षैपिच्छे बजेट छुट्याइने, तर काम नहुने तिनकुने पार्क

मुआब्जा विवाद छ, केन्द्र सरकारबाहेक अरूले मिलाउन सक्दैनन् : रामबहादुर थापा, निर्देशक, काठमाडौं महानगर सार्वजनिक निर्माण विभाग
तिनकुनेमा पार्क निर्माण अगाडि नबढ्नुको कारण मुआब्जा विवाद हो । जग्गाधनीले मुआब्जा नबुझेसम्म गाह्रै छ । अब यो विवाद केन्द्र सरकारबाहेक अरूले मिलाउन सक्दैनन् ।

महानगरले पार्क निर्माण र हरियालीका लागि भन्दै विभिन्न योजना ल्याए पनि सरकारले ०३१ मै जग्गा अधिग्रहण गरेको तिनकुनेस्थित पार्क अहिलेसम्म पनि मुआब्जा विवादले अलपत्र छ । महानगरले तिनकुनेमा बुद्धपार्क निर्माणका लागि डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) गर्न भन्दै चालू आर्थिक वर्षको बजेटमा २५ लाख रुपैयाँ छुट्याएको छ ।

०७८/७९ मा पनि ५० लाख छुट्याएको थियो । त्यसअघि ०७६/७७ मा महानगरले ‘अन्तर्राष्ट्रियस्तरको आधुनिक बुद्धपार्क’ निर्माण योजना ल्याएर दुई करोड विनियोजन गरेको थियो भने ०७५/७६ मा पनि दुई करोड छुट्याएको थियो । ‘तिनकुनेमा पार्क निर्माण अगाडि नबढ्नुको कारण मुआब्जा विवाद हो । जग्गाधनीले मुआब्जा नबुझेसम्म गाह्रै छ । अब यो विवाद केन्द्र सरकारबाहेक अरूले मिलाउन सक्दैनन्,’ काठमाडौं महानगरअन्तर्गतको सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले भने । 

पार्कमा ५४ फिट अग्लो तीनतले स्तुपा, बाहिरी भागमा दुबोसहितको चौर, तल्लो तलामा पार्किङ, दोस्रो तलामा ध्यान केन्द्र, तेस्रो तलामा क्युरेटर सपहरू, शंखचक्र पार्कसहित दुई सयजनाले योग गर्न सक्ने हललगायत संरचना बनाउने महानगरको योजना छ । स्तुपाको माथि बानेश्वरतर्फ फर्किएको १६ मिटर अग्लो बुद्धको मूर्ति राखिने थापा बताउँछन् । पार्कको कुल लागत एक अर्ब २३ करोड ४६ लाख हुने प्रारम्भिक अनुमान थियो । अपांगमैत्री, बालबालिकालाई खेल्ने ठाउँ, ज्येष्ठ नागरिकको आराम स्थल, साइकल लेन र पैदलमार्ग बनाउने योजना छ । तीनवटा कुनालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक मानेर डिजाइन तयार भएको थियो । 

तस्बिर : सतिश पोखरेल, दिपेन्द्र ढुंगाना, संजित परियार

ad
ad