2023-04-12-03-57-39.jpeg)
चितवन २ सहित देशका तीन ठाउँमा उपनिर्वाचनले राजनीतिक महोल तातेको छ। तर, चितवनका किसानलाई भने मलकै चिन्तामा छन्।
पाँच वर्षदेखि मलका लागि सास्ती खेपेका किसान मल वितरण हुने थाहा पाएपछि उज्यालाे हुनुअघि नै बिक्री केन्द्रमा लाइन लाग्न पुग्छन्। यो लाइनको दृश्य भरतपुर– ६, गीतानगरमा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था लि. (साझा) को हो।
यहाँ महिनौँपछि युरिया मल ५० बोरा आएको थियो। नगरिकता बोकेर सुरुमा आएका किसानलाई १० केजीका दरले मंगलबार वितरण हुँदा किसानको भिड थियो। चैतेधानसँगै घाँस, मकै र तरकारी खेती गर्ने किसानलाई मल अति आवश्यक छ। डिएपी र युरिया मल आवश्यक भए पनि किसानले पाएका छैनन्।
सहकारीका व्यवस्थापक राजु पाैडेल पर्याप्त मात्रामा मलको आपूर्ति नहुँदा हरेक सिजनमा मलको अभाव हुँदै आएको बताउँछन्। चितवनमा मात्र हाेइन देशभरि नै मलको चरम अभाव छ। मल दिन नसकेको सरकारले अहिले मलमा अनुदान पनि घटाएको छ।
सरकारले दिन नसकेको मल कालोबजारीमा भने महँगो मूल्यमा किसानले सहजै मल खरिद गर्न सक्छन्। यसअघिको स्थानीय र केन्द्रीय दुवै निर्वाचनमा मलको विषय प्राथमिकताका साथ दल र उम्मेदारको घोषणापत्रमा थियो। तर, किसान भने पाँच वर्षयता मलकै चिन्तामा छन्।
तस्बिर : विवेक पोखरेल/नयाँ पत्रिका