१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मुना कुँवर मलेसिया
२o८१ जेठ १ मंगलबार o७:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मलेसियामा करिब २० हजार गैरकानुनी नेपाली कामदार

Read Time : > 3 मिनेट
मुना कुँवर, मलेसिया
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:५७:oo

तोकिएको कम्पनी छाडेर अन्य ठाउँमा काम गरेका कारण मलेसियाको नियमअनुसार १५ देखि २० हजार कामदार अवैध

बुटवलका मनबहादुर परियार विगत १६ वर्षदेखि मलेसियामा गैरकानुनी रूपमा काम गर्दै आएका छन् । सन् २००६ मा सिमेन्ट कम्पनीमा काम गर्नका लागि ९० हजार म्यानपावर कम्पनीमा बुझाएर ४१ वर्षीय परियार मलेसिया आएका थिए । श्रीमती, पाँच छोराछोरी र आमाको जिम्मेवारी पूरा गर्न मलेसिया छिरेका परियारलाई काम गर्न कठिन भए पनि उनी नेपाल फर्कन चाहँदैनन् । सोही कारण उनी अहिले कम्पनी छाडेर मलेसियामा नै लुकीछिपी काम गरिरहेका छन् । उनको पासपोर्ट पुरानै कम्पनीमा छ, भिसा पनि बाँकी छैन । त्यसैले उनी मलेसियाका लागि अवैध कामदार हुन् । 

यसबीचमा उनले पासपोर्ट र भिसा लगाइदिने भन्दै एजेन्टलाई पाँच हजार रिंगेट (एक लाख ४५ हजार) पनि बुझाए । लुकीलुकी काम गरेर जोगाएको पैसा पनि पासपोर्ट बनाइदिने भन्दै एजेन्टले खाइदिएको उनले गुनसो गरे । अहिले उनी तीन वर्षदेखि मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेका छन् । कम्पनीले उनलाई दुई हजार रिंगेट (५८ हजार रुपैयाँ) पारिश्रमिक दिएको छ । काखे छोराछोरी छाडेर परदेशिएका परियार अहिले हजुरबुबा बनिसके, तर कागजपत्र नभएकै कारण यसबीच उनी एकपटक पनि नेपाल फर्कन पाएका छैनन् । 

धादिङका पूर्ण तामाङ विगत आठ वर्षदेखि मलेसियामा गैरकानुनी रूपमा बस्दै आएका छन् । ३१ वर्षीय तमाङले गाउँकै एजेन्टलाई दुई लाख रुपैयाँ बुझाएका थिए । एजेन्टले उनलाई १२ सय रिंगेट (३४ हजार आठ सय रुपैयाँ) तलबमा मलेसिया पठाएको थियो । तर, मलेसियामा सम्झौताअनुसार काम नपाएको,  ठूला–ठूला सामानको भारी उठाउन सकस भएको उनले बताए । तैपनि, उनी नेपाल फर्कन चाहेनन्, बरु काम गरेको सात महिनामा कम्पनी छाडेर भागे । अहिले उनीसँग न त पासपोर्ट छ, न त भिसा नै । यसबीचमा उनले विभिन्न ठाउँमा खेताला काम गरे । पछिल्लो पाँच महिनादेखि एक कम्पनीमा सेक्युरिटी गार्डको काम गरिरहेका छन् ।  

मनबहादुर र पूर्ण मलेसियामा गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारका प्रतिनिधि पात्र मात्रै हुन् । मलेसियामा हजारौँ संख्यामा नेपाली कामदार गैरकानुनी रूपमा बस्दै आएको प्रवासी नेपाली समितिका मलेसिया प्रतिनिधि पूर्ण सुब्बाले बताए । अधिकांश नेपाली कामदार बाध्यताका कारण मलेसियामा गैरकानुनी रूपमा बस्छन् । इलामकी मनमाया राई र दीपिका विश्वकर्मा क्लासिक म्यानपावरमार्फत मलेसियाको ग्लोब कम्पनीमा काम गर्न पुगे । तर, मलेसिया पुगेको तीन महिना पनि पूरा नहुँदै कम्पनी बन्द भयो । कम्पनीले उनीहरूलाई तीन महिनाको पारिश्रमिक दिएर बिदा गर्‍यो । तर, उनीहरू नेपाल फर्कन चाहेनन् । आएको तीन महिना पनि पूरा नहुँदै कसरी फर्कनु, घरपरिवारमा कसरी मुख देखाउने दीपिका विश्वकर्मा बताउँछिन् । अहिले उनीहरू मलेसियामा नेपालीले चलाएको रेस्टुरेन्टमा काम गर्छन् । प्रहरीले छापा मार्दा उनीहरू समातिन सक्छन् । 

कम्पनी नछाड्न दूतावासको आग्रह
मलेसियमा रहेका नेपाली कामदारलाई आफूखुसी कम्पनी छाडेर नभाग्न मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले आग्रह गरेका छन् । कम्पनी छाडेर भागेपछि कामदार स्वतः अवैध हुने हुनाले दूतावासले पनि आवश्यक सहयोग गर्न नसक्ने उनको भनाइ छ । अवैध कामदारको अन्तिम अवस्थामा भने डिपोर्ट नै हो । अन्यथा लुकीलुकी काम गर्नुपर्ने हुन्छ । ‘अवैध भएका कामदारलाई कामको समस्या नहोला, तर अवैध भएका कारण रोजगारदाताबाट शोषण हुन सक्छ । रोजगारदाताले भनेको समयमा पारिश्रमिक नदिन सक्छ । अन्य सुविधा नदिन सक्छ,’ उनले भने । अवैध भएकै कारण उनीहरूले कानुनी उपचार नपाउने भएकाले कम्पनीले उचित पारिश्रमिक र सेवा–सुविधा नदिन सक्ने उनले बताए ।   

यदि कुनै कम्पनीमा समस्या छ । कामदारले सम्झौताअनुसार सेवा–सुविधा पाएनन् भने कानुनी उपचार गर्न उनले सुझाए । आप्रवासी श्रमिकको हकमा पनि मलेसियन सरकारको नीति उदार छ । मलेसियन सरकारले कामदारलाई सहज होस् भनी मोबाइल एप पनि निर्माण गरेको छ । कामदारले मोबाइल एपमार्फत मलेसिया श्रम अदालतमा उजुरी पनि दिन सक्छन् । तसर्थ, समस्या भयो भने कम्पनी छाडेर भाग्नुभन्दा पनि पहिला मलेसियन सरकारबाट नै कानुनी उपचार खोज्न उनले आग्रह गरे । 

मलेसियामा कस्ता कामदार गैरकानुनी हुन्छन् ?
मलेसिया सरकारले आप्रवासी कामदारका लागि पहिलोपटक दुई वर्षको भिसा दिन्छ । कामदार र रोजगारदाताको सहमतिमा भिसा अवधि लम्ब्याउन सकिन्छ । तर, भिसा अवधि समाप्त हुनुअगावै कम्पनी छाडेर अन्य स्थानमा काम गर्न थालेमा गैरकानुनी मानिन्छ । प्रहरीको अनुगमनमा भेटिएमा यस्ता कामदारलाई प्रहरीले कम्तीमा १४ दिन हिरासतमा राख्छ । त्यसपछि डिटेन्सन क्याम्पमा पठाउँछ । डिटेन्सन क्याम्पमा ९० दिनसम्म राखिन्छ । 

९० दिनपछि प्रहरीले दूतावासलाई खबर गर्छ । सम्बन्धित कामदारको आफन्त वा साथीभाइ दूतावासको सम्पर्कमा आएमा दूतावासले ट्राभल डकुमेन्ट बनाइदिन्छ । कामदारको परिवारले नै टिकट काटेमा मात्रै कामदार नेपाल फर्कन पाउँछ । डिटेन्सन क्याम्पमा रहेका कामदारका आफन्तले सोधखोज गरेनन् भने यस्ता कामदार महिनाँै डिटेन्सन क्याम्पमा नै बस्नुपर्ने अवस्था आउने प्रवासी समितिका प्रतिनिधि पूर्ण सुब्बाले बताए । तर, कहिलेकाहीँ मलेसियन सरकारले रिक्यालिब्रेसन कार्यक्रम सञ्चालन गरी यस्ता कामदारलाई वैध हुन पाउने अवसर पनि दिन्छन् । यसका लागि रोजगारदाताले सो कामदारलाई नियुक्त गर्न चाहेको व्यहोरासहितको पत्र दिनुपर्छ । त्यसैका आधारमा कामदार वैध बन्छन् ।

कामदारका लागि अर्को विकल्प भनेको दूतावासमा गएर आफूलाई नेपाल फर्काइदिन निवेदन दिने हो । कामदारको निवेदन सन्तोषजनक भएमा दूतावासले ट्राभल डकुमेन्ट बनाइदिन्छ । ट्राभल डकुमेन्टका लागि कामदारले दुई सय २० रिंगेट (६ हजार तीन सय ८० रुपैयाँ) भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, मलेसियन इमिग्रेसनमा जरिवाना तिर्नुपर्छ । कामदार ६ महिनादेखि गैरकानुनी रूपमा बस्दै आएको छ भने ११ सय रिंगेट (३१ हजार नौ सय रुपैयाँ) भुक्तानी गर्नुपर्छ । एक वर्षदेखि गैरकानुनी छ भने २१ सय रिंगेट (६० हजार नौ सय रुपैयाँ) भुक्तानी गर्नुपर्छ भने सो अवधिभन्दा बढी समय अवैध भएको भएमा ३१ सय रिंगेट (८९ हजार नौ सय रुपैयाँ) भुक्तानी गर्नुपर्ने हुन्छ । 

यसबाहेक कुनै कामदारले एजेन्टको प्रयोग गरी भिसा लगाउने गर्छन् । कुनै ठूलो कम्पनीमा सेटिङ मिलाएर पनि कामदारले भिसा लगाउन सक्छन् । तर, यसका लागि कामदारले ठूलो रकम बुझाउनुपर्छ । भिसा लगाएबापत कामदारले चार हजार रिंगेटसम्म (एक लाख १६ हजार) मलेसियन सरकारलाई शुल्क भुक्तानी गर्नुपर्छ । त्यसबाहेक एजेन्सीलाई कमिसन बुझाउनुपर्ने हुन्छ । सामान्यतया कामदारले ६ हजार रिंगेट (एक लाख ७४ हजार रुपैयाँ)सम्म भुक्तानी गरेपछि मात्रै भिसा पाउँछन् । 

ad
ad