Skip This
नसर्ने रोगको भार धेरै, लगानी थोरै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ जेठ १५ मंगलबार o८:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नसर्ने रोगको भार धेरै, लगानी थोरै

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o८:३४:oo

नसर्ने रोग महामारीका रूपमा फैलिइरहे पनि न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रमा लगानी न्यून रहेको विज्ञहरूले बताएका छन् । नसर्ने रोग बढ्नुको कारण पत्ता लगाएर नियन्त्रणमा लगानी गर्नुपर्ने आवश्यकता रहेको चिकित्सकहरूको भनाइ छ । पछिल्ला वर्षमा सर्नेभन्दा नसर्ने रोगको भार बढी देखिए भन्दै उनीहरूले औषधि उपचार प्रभावकारी नहुँदा मुख्य समस्या बनिरहेको बताएका छन् ।

नन कम्युनिकेबल डिजिज (एनसिडी) एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले नसर्ने रोग नियन्त्रणमा न्यून लगानीका कारण महामारीको रूपमा फैलिइरहेको बताए । एलायन्सले बिहीबार काठमाडौंमा आयोजना गरेको नसर्ने रोगको अभिमुखीकरण कार्यक्रममा डा. रेग्मीले उपचारमा सहज पहुँच नहुनु र नसर्ने रोगको जोखिमका विषयमा पर्याप्त जनचेतना नहुनुले समस्या बढिरहेको बताएका हुन् । 

‘नसर्ने रोगको कारण र यसको नियन्त्रणबारे सचेतनाका कार्यक्रम अपुग भइरहेका छन् । साथै उपचारमा पनि सर्वसाधारणको सहज पहुँच नहुँदा समस्या भइरहेको देखिएको छ । कतिसम्म भने एउटै औषधिको मूल्य, उपचारको प्रकृति र खर्चसमेत ठाउँअनुसार फरक छन्,’ डा. रेग्मीले भने, ‘अस्पतालको फार्मेसीमा सस्तोमा पाइने त्यही औषधिबाहिरको मेडिकलमा चर्को मूल्य तिर्नुपर्ने अवस्था छ ।’

 नन कम्युनिकेबल डिजिज (एनसिडी) एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मी भन्छन् ‘नसर्ने रोगको कारण र यसको नियन्त्रणबारे सचेतनाका कार्यक्रम अपुग भइरहेका छन् । उपचारमा पनि सर्वसाधारणको सहज पहुँच नहुँदा समस्या भइरहेको देखिएको छ । ’

डा. अभिनव वैद्यले नसर्ने रोगको भार बर्सेनि बढिरहेकाले नियन्त्रणका लागि उपचारमा मात्रै नभई रोग लाग्न नदिने जीवनशैलीमा समेत लगानी गर्नुपर्ने बताए । उनले पछिल्ला वर्षमा दम, मोटोपन, हाइपरटेन्सन, डायबेटिजलगायत रोग मुख्य समस्याका रूपमा देखिएको बताए ।

‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले नेपालमा नसर्ने रोगका बिरामी प्रत्येक वर्ष गुणात्मक रूपमा बढिरहेको देखाउँछ । नसर्ने रोगको जोखिम नेपालमा मात्रै नभई विश्वभर नै टाउको दुखाइको विषय बनिरहे पनि हामीकहाँ उपचारमा सहज पहुँच नहुँदा समस्या बनिरहेको हो,’ डा. वैद्यले भने ।सहभागी चिकित्सकले नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि जीवनशैली स्वस्थ बनाउनुपर्ने र यसका लागि सचेतनाको आवश्यकता रहेको औँल्याए । 

ad
ad