१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २३ बिहीबार
  • Sunday, 11 May, 2025
रमेश सुवेदी काठमाडौं
२o७९ चैत २३ बिहीबार o६:१४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भियतनामविरुद्ध फिनिसिङमा चुक्यो नेपाल

पेरिस ओलम्पिकअन्तर्गत एसियन छनोटमा नेपाल ५–१ ले पराजित

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २३ बिहीबार o६:१४:oo

नेपाली राष्ट्रिय महिला टोली अर्को वर्ष पेरिसमा हुने ओलम्पिकअन्तर्गत एसियन फुटबल छनोट प्रतियोगितामा बुधबार भियतनामसँग ५–१ ले पराजित भएको छ । दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपालले भियतनामविरुद्ध एक गोल फर्काएको थियो । दोस्रो लेग दशरथ रंगशालामै शनिबार हुनेछ । दुई खेलमा सर्वाधिक अंक जोड्ने टोली दोस्रो चरणमा पुग्नेछ । 

भियतनामको सानदार जितमा कप्तान ह्युन नुले दुई गोल गरिन् । फाम हाई, थी थुय र थान नहाले एक–एक गोल गरे । नेपालका लागि एक मात्र गोल सावित्रा भण्डारीले गरेकी हुन् । यसै वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान सुरक्षित गरेको भियतनामले नेपालमाथि दबाब कायम गरेको थियो । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल सय स्थानमा छ । 

२७ सय घरेलु समर्थकबीच नेपाली महिला खेलाडीले पहिलो तथा दोस्रो हाफमा आकर्षक खेल खेले पनि फिनिसिङमा चुकेका थिए । खेलको नवौँ मिनेटमा अमिषा कार्कीले पाएको अवसर चुकाएकी थिइन् । दीपा शाहीले मिलाएको पासमा अनमार्क रहेकी अमिषाले बक्सभित्रबाट प्रहार गरेको बल क्रसबारमाथि गएको थियो । 

नेपालले बल पोसेसन राम्रो राखेको थियो । नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले सुरुको अवसर गुमाउँदा खेलमा पछि परेको प्रतिक्रिया दिएका छन् । ‘हामीले पहिलो हाफमा गोल सिर्जना गर्न सक्नुपथ्र्यो, गोल नहुँदा धेरै फरक प¥यो,’ थापाले भने, ‘भियतनामले समयमै गोल गर्दा दबाब सिर्जना गर्‍यो ।’

 प्रशिक्षक थापाले विश्वकप खेल्ने टोलीको स्तर फरक हुने बताए । ‘हामीले स्तरअनुसार राम्रो प्रदर्शन गर्‍यौँ, तर विश्वकप खेल्ने टोलीको लेभल नै अर्को हुन्छ,’ थापाले भने । भियतनामका प्रशिक्षक माइ चुङले नेपालले राम्रो खेल प्रदर्शन गरेको बताए । ‘हामीले खेल जितेका छौँ । खेलमा पाँच गोल भयो, तर नेपालले राम्रो प्रदर्शन गर्‍यो,’ उनले भने, ‘नेपाली गोलरक्षकले राम्रो प्रदर्शन गरे, यसैले गोलअन्तर सोचेजस्तो बढी हुन सकेन ।’ नेपाली टोली शारीरिक रूपमा बलियो भए पनि प्राविधिक रूपमा कमजोर रहेको उनको भनाइ छ । ‘नेपाली खेलाडीले कौशल बढाउनुपर्छ,’ प्रशिक्षक चुङले भने । 

भियतनामको पाँच गोल 
भियतनामले नेपाली डिफेन्सको कमजोरीमा पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो । यसपछि आक्रामक बनेको भियतनामले ११औँ मिनेटमा पहिलो गोल गर्‍यो । फाम हाईले थ्री तुङले बक्सभित्रबाट मिलाएको पासमा हेडिङ गोल गरिन् । खेलको ३६औँ मिनेटमा भियतनामले २–० को अग्रता बनायो । कप्तान ह्युन नुले पेनाल्टीमा गोल गरिन् । रक्षक समीक्षा घिमिरले बक्सभित्र ह्यान्ड गरेपछि थाइल्यान्डकी रेफ्री सुनीता थोङथाविनले भियतनामलाई पेनाल्टी अवसर दिइन् । 

खेलको ३८औँ मिनेटमा नेपालले तेस्रो गोल बेहोर्‍यो । थी बिचले प्रहार गरेको बल नेपाली रक्षक अमृता जैशीसँग डिफ्लेक्ट हुँदै गोल भएको थियो । खेलको ४८औँ मिनेटमा भियतनामले ४–० को अग्रता लियो । कप्तान ह्युनले कर्नरबाट आएको बलमा हेडिङ गोल गरिन् ।

खेलको ७९औँ मिनेटमा नेपालले एक गोल फर्कायो । स्ट्राइकर सावित्रा भण्डारीले सरु लिम्बूले मिलाएको पासलाई दुई रक्षक र गोलरक्षकलाई बिट गर्दै आकर्षक गोल गरेकी हुन् थान नहाले खेलको अन्तिम इन्जुरी समयमा भियतनामलाई ५–१ को बलियो स्थितिमा राखिन् । पोस्टभन्दा ३० यार्डबाट उनले सटिक गोल गरेकी हुन् । 

 खेलाडीले अवसर सदुपयोग गर्न सकेनन्
अनन्तराज थापा, प्रशिक्षक, नेपाल 

भियतनामविरुद्ध समग्रमा खेल सोचेजस्तै राम्रो भयो । हाम्रो स्तर बढाउनुपर्छ । यस खेलबाट नेपाल कुन स्तरमा रहेछौँ भन्ने थाहा भयो । अमिषाले गोल गरेको भए खेलको नतिजामा फरक हुन सक्थ्यो । नेपालले समयमा गोल गर्न सकेन । भियतनामले समयमै गोल निकाल्यो । शारीरिक रूपमा भियतनाम कमजोर भए पनि रणनीतिक रूपमा सफल भयो । विश्वकप खेल्ने राष्ट्रको स्तर थाहा भयो । सावित्राले गोल गरेपछि खेल राम्रो भयो । अर्काे खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौँ । बराबर गर्ने र प्रतिस्पर्धात्मक खेल बनाउने योजना थियो । 

 नेपाली टोलीले मिहिनेत गर्नुपर्छ
माइ चुङ, प्रशिक्षक, भियतनाम

हामीले खेल जितेका छौँ । नेपालको पोस्टमा पाँच गोल भयो । नेपाली टोलीले राम्रो प्रदर्शन गरेको छ । सबैले राम्रो खेल खेले । नेपालले लङ पासमा राम्रो खेल्यो । सावित्रालाई ध्यानमा राखेर नेपालले खेलेको थियो । नेपालले धरै अवसर सिर्जना ग¥यो । नेपालको गोलरक्षकले राम्रो गर्‍यो । उनी नभएको भए हाम्रो गोलअन्तर बढी हुने थियो । नेपालले अझ मिहिनेत गर्नुपर्छ, नेपाली खेलाडी प्राविधिक रूपमा कमजोर रहे । नेपाली खेलाडीले आफ्नो कौशल बढाउन आवश्यक छ । शारीरिक रूपमा उनीहरू बलिया छन् । 

 दोस्रो हाफमा राम्रो खेल्यौँ
सावित्रा भण्डारी, खेलाडी, नेपाल

दोस्रो हाफमा राम्रो खेल भयो । पहिलो हाफमा अवसर गुमायौँ । दुई मौका गुमाएका थियौँ । त्यसैले दबाब भयो । दुई गोल भए भियतनाम दबाबमा आउने थियो । उनीहरूले गोल गरेपछि नेपाल दबाबमा आयो । पहिलो हाफको तुलनामा नेपालले दोस्रो हाफमा राम्रो गरेको थियो । नेपालकी रश्मिकुमारी घिसिङ चल्न सकिनन् । उनको बल पनि मैले नै लिनुपर्‍यो । यो लेभलको टोलीसँग अभ्यास गरेको भए राम्रो हुन्थ्यो । हाम्रो लक्ष्य साफ च्याम्पियनसिप मात्र छ । भियतनाम विश्वकपमा पुगेको छ । त्यसैले स्तरमा फरक देखिएको हो ।