मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राखेपले शनिबार आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद २०७९ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १९ आइतबार ०७:०८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलकुदमा बजेट वृद्धि गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १९ आइतबार ०७:०८:००

प्रधानमन्त्री प्रचण्ड भन्छन्–अहिले खेलकुद आर्थिक, राजनीतिक, कूटनीतिकलगायत हरेक दृष्टिकोणले पनि गुणात्मक ढंगले बढ्न गएको छ । खेल क्षेत्रको राजनीतिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के महत्व छ भन्ने कुरा मलाई राम्रो हेक्का छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद सामान्य क्षेत्र नभएको बताएका छन् । राखेपद्वारा शनिबार आयोजित खेलकुद पूर्वाधार नीति संवाद २०७९ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रूपमा विश्लेषण गरेका छन् । ‘खेलकुद सामान्य क्षेत्र होइन । अहिले खेलकुद आर्थिक, राजनीतिक, कूटनीतिकलगायत हरेक दृष्टिकोणले पनि गुणात्मक ढंगले बढ्न गएको छ,’ प्रचण्डले भने, ‘मलाई यो पक्षको गहिरो हेक्का छ । खेल क्षेत्रको राजनीतिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के महत्व छ भन्ने कुरा मलाई राम्रो हेक्का छ ।’

खेल क्षेत्र राष्ट्रिय एकतालाई सुदृढ गर्ने क्षेत्र भएको प्रचण्डले बताए । ‘खेलकुद सामाजिक अनुशासन र सद्भावलाई सुदृढ गर्ने क्षेत्र पनि हो, अन्तर्राष्ट्रिय भाइचारामार्फत मानवजातिलाई नै एउटा हार्मोनीतर्फ लैजाने क्षेत्र पनि हो ।’ प्रधानमन्त्री दाहालले खेल क्षेत्रमा केही गरौँ भन्ने भावना रहेको बताउँदै कार्यक्रमबाट आएका निष्कर्षलाई हेरेर नीति, कार्यक्रम र बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाए । 

खेलकुदमा केही गर्ने भावना 
प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा केही गर्ने भावना आफूमा रहेको जनाएका छन् । ‘मलाई यहाँको खेल क्षेत्रमा केही गरौँ भन्ने भावना छ । तर, हाम्रा सीमाहरू छन् । बजेटका सीमा छन् । अर्थतन्त्रका सीमा छन्,’ उनले भने, ‘यति हुँदाहुँदै पनि आफ्नो पनि खेल क्षेत्रमा विशेष अभिरुचि हुनुका नाताले केही गर्नुपर्छ भन्ने अठोट लिएको छु ।’ प्रधानमन्त्री प्रचण्डले प्रत्येक विद्यालय र गाउँगाउँमा खेल एकाइ गठन गर्दै खेलमैदान बनाउने कुरालाई संस्थागत रूपमा लैजानलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिने बताए । ‘हिमालदेखि पहाड, तराई सबैतिर संरचना निर्माण गर्न सके नेपाल उत्कृष्ट खेलकुद हब हुन सक्छ,’ उनले भने । 

बजेट वृद्धिमा ध्यानाकर्षण
खेल क्षेत्रमा बजेट वृद्धिको विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । ‘खेल क्षेत्रमा बजेट वृद्धिको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बजेट निर्माणको प्रक्रिया चलिरहेको छ । यस विषयमा यहाँ उठेका मर्म र भावनालाई सम्बोधन गर्ने गरी बजेट निर्माणमा मेरो निर्देशन हुनेछ,’ प्रचण्डले भने । 

कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद पूर्वाधार बनाउने विषयमा स्पष्ट हुन जरुरी रहेको बताउँदै प्रधानमन्त्री दाहालले कर्मचारी हस्तान्तरणको विषयमा पनि गम्भीर हुनुपर्ने आवश्यकता पक्ष औँल्याएका छन् । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले खेलकुदमा देखिएको नीतिगत र प्रशासनिक समस्याको हल हुन आवश्यक रहेको बताए । 

यसैगरी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राष्ट्रिय एकताका लागि, व्यक्तिगत स्वास्थ्यसँगसँगै सामाजिक स्वास्थ्यका लागि पनि खेलकुदलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । 

राज्यको दायित्व
राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलकुद विकासमा राज्यको भूमिका महत्वपूर्ण भएको बताएका छन् । ‘खेलकुद पूर्वाधार र खेलकुदको दायित्व सिंगो देशको हो । यसमा राज्यको भूमिका महत्वपूर्ण रहन्छ,’ सस्यसचिव घिसिङले भने, ‘राज्य भनेपछि त्यो नागरिकको पनि हो । खेलकुदको मूल उद्गमका रूपमा रहेको विद्यालयको पनि हो ।’ 

आमनागरिकलाई स्वस्थ बनाउन खेलकुदले धेरै सहयोग गर्ने उनको भनाइ छ । ‘नागरिकलाई स्वस्थ राख्न हजारौँ संख्यामा रोजगार दिन सक्ने औद्योगिक क्षेत्रले पनि किन खेलस्थल नबनाउने भन्ने प्रश्न छ, यसमा निजी क्षेत्रको पनि दायित्व हो,’ घिसिङ भन्छन्, ‘तीनै तहका सरकारको समान दायित्व हो । खेलकुद पूर्वाधार बनाउनका लागि र खेलकुदको विकासको नीति तयार गर्न यो संवादले सही निष्कर्ष निकाल्ने विश्वास छ ।’ उनले कार्यक्रमबाट आएको निचोडलाई सफल बनाउन सबैको महत्वपूर्ण र सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेका छन् ।