
नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवापछि सोमबार आदिल अन्सारी घरेलु क्रिकेटमा फर्किएका छन् । तर, उनले आफ्नो पुनरागमनलाई उत्कृष्ट बनाउन सकेनन् । जनकपुरमा चलिरहेको मेयर कपमा उनले बाराबाट प्रतिस्पर्धा गरेका थिए । तर, पर्साविरुद्ध आदिलले एक रनसमेत बनाउन सकेनन् । इनिङ्सको ८.५ ओभरमा उनी रञ्जित कुमारको बलिङमा डक आउट भए । रञ्जितले आदिललाई क्लिन बोल्ड गरेका थिए । क्यानले उनलाई २१ वैशाखमा निलम्बन फुकुवा गरेको थियो ।
त्यसपछि उनले बाराबाट मेयर कपमा सहभागिता जनाएका हुन् । खेलमा बाराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७४ रन बनाएको थियो । प्रत्युत्तरमा पर्साले १७.३ ओभरमा ६२ रन मात्र जोड्यो । आदिलले बलिङ गर्न पाएनन् । २६ वैशाखदेखि सुरु भएको मेयर कपमा मधेशका आठ जिल्लासहित १२ टोलीले सहभागिता जनाएका छन् ।
भारतको पूर्णिया, दिल्ली, लखनउ र मुजफ्फरपुरका टोली पनि प्रतियोगितामा सहभागी छन् । आयोजकले १२ टोलीलाई चार समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । २०७९ पुस ९ देखि २७ सम्म आयोजित नेपाल टी–२० का दौरान स्पट फिक्सिङमा मुछिएपछि तत्कालीन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका आदिललाई क्यानले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । जिल्ला अदालत काठमाडौंले आदिललाई सफाइ दिएसँगै क्यानले निलम्बन फुकुवा गरेको हो ।