१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ चैत १८ शनिबार ११:३६:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आसिफ र आरिफलाई वीरगन्जमा नागरिक अभिनन्दन, महानगरले दियो दुवैलाई मोटरसाइकल

Read Time : > 1 मिनेट
२०७९ चैत १८ शनिबार ११:३६:००

आइसिसी विश्वकप लिग– २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई शुक्रबार वीरगन्जमा नागरिक अभिनन्दन गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगन्ज महानगरपालिकाले शुक्रबार साँझ भव्य समारोहबीच वीरगन्जवासीको तर्फबाट अभिनन्दन गरेको हो । नागरिक अभिनन्दनसंगै महानगरले यसअघि घोषणा गरेअनुसार शेख दाजुभाइलाई एक–एक थान यमाहा एफजेडएफआई मोटरसाइकल पनि प्रदान गरेको छ ।

आदर्शनगरस्थित पुरानो बसपार्क परिसरमा आयोजित समारोहमा वीरगन्जका मेयर राजेशमान सिंहले दुवै जनालाई दोसल्ला ओढाएर कदरपत्र प्रदानका थिए । संगै उनले दुवैलाई मोटरसाइकलको साँचो पनि हस्तान्तरण गरे ।

वीरगन्जको मुर्ली निवासी आरिफ राष्ट्रिय टिमको ब्याट्सम्यान हुन् भने आसिफ ब्याट्सम्यान तथा विकेटकिपर हुन् । २ चैतमा काठमाडौंमा भएको आइसिसी विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाइको उत्कृष्ट प्रदनका कारण नेपाल आइसिसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो ।

समारोहमा शेख दाजुभाइलाई वीरगन्जवासीको तर्फबाट नागरिक अभिनन्दन गर्दै मेयर सिंहले वीरगन्ज निवासी दुवै खेलाडीको थप हौसला र ऊर्जा बढाउन महानगरले वीरगन्जवासीको तर्फबाट अभिनन्दन गरेको बताए । 

यी दुई खेलाडीले वीरगन्जको मात्र नभइ नेपालकै नाम अन्तर्राष्ट्रिय जगतमा उँचो बनाएको भन्दै मेयर सिंहले भने, ‘आसिफ र आरिफ नेपालकै गहना हुनुहुन्छ । उहाँहरुको साथामा सारा वीरगन्जवासी छन् ।’ 

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले दुवै खेलाडीको क्षमता र प्रतिभालाई अझ उचाइमा पुर्याउनका लागि उनीहरुमा हौसला र ऊर्जा थप्न  वीरगन्ज महानगरपालिका सदैव तयार रहेको बताए ।

उक्त अवसरमा इरानमा सम्पन्न १९ वर्षमुनिको वर्ल्ड कबड्डी च्याम्पियनसिपमा नेपाललाई तेश्रो स्थानमा पुर्याउन सफल राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय वीरगन्ज निवासी दीपेन्द्र यादव र सागर यादवलाई पनि सम्मान गरिएको छ । 

समारोहमा मेयर सिंहले यादवद्वयलाई दोसल्ला र कदरपत्रले सम्मानित गर्दै व्यक्तिग तर्फबाट दुवैलाई जनही २१–२१ हजार रुपैयाँ प्रदान गरे । समारोहमा आसिफ र आरिफका वीरगन्जका प्रशिक्षक जाहुर अन्सारी, क्रिकेटका वरिष्ठ प्रशिक्षक उमेश उपाध्याय, प्रशिक्षक प्रकाश शर्मालगायतलाई पनि सम्मान गरिएको थियो । 

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलको अध्यक्षतामा भएको नागरिक अभिनन्दन समारोहमा वीरगन्जका उपमेयर इम्तियाज आलम, वडाअध्यक्षहरुका साथै वीरगन्जवासीको सहभागिता थियो ।