१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Friday, 21 June, 2024
एन्डर्स फोग रास्मुसेन
२o७९ चैत १७ शुक्रबार o९:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युरोपको दैलोमा भड्किरहेको अर्काे द्वन्द्व 

Read Time : > 2 मिनेट
एन्डर्स फोग रास्मुसेन
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार o९:३७:oo

युरोप र अन्तर्राष्ट्रिय समुदायले नाकाबन्दी हटाउन अजरबैजानलाई दबाब नदिए जारी मानवीय संकट विपत्तिमा रुपान्तरण हुन सक्छ 

यतिखेर सबैका आँखा युक्रेनमाथिको रुसी आक्रमणमा केन्द्रित छ । तर, युक्रेन युद्धको बहानामा युरोपको दैलोमा मडारिँदै गरेको अर्काे संकटलाई नजरअन्दाज गरिनुहुँदैन । अर्मेनिया र अजरबैजानबीच तनाव फेरि बढ्दै गएको छ, जसले अर्काे युद्धको सम्भावना बढाएको छ ।

गत हप्ता मैले नागोर्नाे–काराबाख क्षेत्रको अर्मेनियाली जातीय जनसंख्यालाई अर्मेनिया र बाहिरी विश्वसँग जोड्ने एक मात्र सडक ‘लाचिन करिडोर’को भ्रमण गरेको थिए । डिसेम्बरयता अजरबैजानेलीहरूले वातावरणीय विरोध एवं प्रदर्शनको बहानामा यो करिडोरलाई अवरुद्ध गरिरहेका छन् । यो सबै बाकुमा सत्तासीन शासकको समर्थनमा भइरहेको छ ।

नागोर्नाे–काराबाखका सबै नागरिक एवं व्यावसायिक आवागमनलाई प्रदर्शनकारीहरूका नाममा अवरुद्ध गरिएपछि एम्नेस्टी इन्टरनेसनलले यहाँका करिब एक लाख २० हजार जातीय अर्मेनियाली जीवनरक्षक औषधि तथा स्वास्थ्य सेवासहितका आवश्यक वस्तु एवं सेवाबाट समेत वञ्चित भइरहेको भनेर मानवीय संकटको चेतावनी दिएको छ । अजरबैजान र अर्मेनियाबीचको नागोर्नाे–काराबाख युद्ध अन्त्य गरेको सन् २०२० को युद्धविराम सम्झौताअन्तर्गत अजरबैजानले सडकमा दुईतर्फी निर्वाध आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो । अजरबैजानले नाकाबन्दी हटाउन अस्वीकार गरेर आफ्नो प्रतिबद्धताको उल्लंघन गरेको पाइएपछि अन्तर्राष्ट्रिय अदालत (आइसिजे)ले २२ फेब्रुअरीमा एक आदेश जारी गर्दै उसलाई सडकमा दुईतर्फी आवागमन सुनिश्चित गर्न आवश्यक सम्पूर्ण कदम चाल्न आदेश दिएको थियो । तर, एक महिना बितिसक्दासमेत स्थितिमा कुनै परिवर्तन भएको छैन ।

करिडोरमा तैनाथ रुसी शान्तिसेनाले उक्त मार्गको सुरक्षा गर्नुपर्ने भए पनि उनीहरू यो कदम चाल्न असफल छन् । युरोप र अन्तर्राष्ट्रिय समुदायले नाकाबन्दी हटाउन अजरबैजानलाई दबाब नदिए जारी मानवीय संकट मानवीय विपत्तिमा रुपान्तरण हुन सक्छ । अजरबैजानले नागोर्नाे–काराबाखको गला दबाउन नाकाबन्दी र अन्य उपायको व्यापक प्रयोग गरिरहेको छ । त्यहाँ जातीय सफायाको गम्भीर जोखिम देखिएको छ । जे भइरहेको छ, त्यसबाट हामीले आफ्नो नजर हटाउनु हुँदैन ।

अजरबैजानी शासन (र उसको अनलाइन ट्रोल)ले नाकाबन्दीको प्रभावलाई नजरअन्दाज गर्ने मात्र होइन कि नाकाबन्दी नै नरहेको दाबीलाई जारी राखेका छन् । तर, उनीहरू अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई स्थितिको आकलन गर्न पहुँच दिन भने इन्कार गर्छन् । अन्तर्राष्ट्रिय समुदायको पहिलो प्राथमिकता यो करिडोरमा सत्यतथ्य स्थिति पत्ता लगाउन संयुक्त राष्ट्रसंघ वा युरोपको सुरक्षा तथा सहयोग संगठन (ओएससिई)को तत्ववधानमा मिसन पठाउने हुनुपर्छ । हामीले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभलाई आइसिजेको बाध्यकारी आदेशको उल्लंघन जारी राखे उनले त्यसको परिणाम भोग्नुपर्नेछ भन्ने कुरा हामीले स्पष्ट रूपमा याद दिलाउनुपर्छ । 

रुस, टर्की र इजरायलबाट किनेका हतियारका कारण अजरबैजान सैन्य हिसाबमा अर्मेनियाभन्दा निकै बलशाली रहेको सन् २०२० को नागोर्नाे–काराबाख युद्धले देखाइसकेको छ । यो तथ्य गत सेप्टेम्बरमा पनि प्रस्ट्याइसक्यो । त्यसबखत दुई दिनको लडाइँमा नै अजरबैजानले आर्मेनियाको जेर्मुक सहरलगायतका रणनीतिक स्थानलाई कब्जामा लिएको थियो । 

अर्मेनिया रुसलगायत पाँच पूर्वसोभियत राज्यको क्षेत्रीय गठबन्धन ‘सामूहिक सुरक्षा–सन्धि संगठन’को सदस्य राष्ट्र हो । तर, आफ्नो भूमिमा आक्रमण भएपछि सहयोगका लागि गुहार्दासमेत उसले यो क्षेत्रीय गठबन्धनबाट सहयोग पाउन सकेन । उसलाई एक्लो र असुरक्षित नै छाडियो ।

अजरबैजानले अर्मेनियाली भूमिमा आफ्ना सेना राखेर अनि अर्मेनियाली युद्धबन्दीहरूलाई फिर्ता गर्न अस्वीकार गरेर स्थितिलाई थप खराब बनाएको छ । शान्तिवार्ता रोक्नुले अजरबैजानले शान्तिपूर्ण वार्ताबाटभन्दा पनि सैन्य माध्यमबाट धेरै उपलब्धि हासिल गर्न सक्छ भन्ने स्पष्ट चेतावनी दिन खोजेको संकेत दिन्छ । आगामी महिनामा आर्मेनियाविरुद्ध पुनः आक्रमण हुने सम्भावनालाई नकार्न सकिँदैन ।

आर्मेनियाको परम्परागत सुरक्षा प्रदायक रुस अहिले उसलाई सहयोग गर्न असमर्थ एवं अनिच्छुक छ । यस अवस्थामा युरोपेली संघले यो क्षेत्रमा शान्ति र स्थिरतालाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेल र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दुवैले यो कुरा स्विकारेका छन् । उनीहरूले यसमा आफ्नो विशेष जोडबल पनि लगाएका छन् । सेप्टेम्बरमा आक्रमणको नयाँ शृंखला सुरुवात भएपछि इयूले अजरबैजानसँगको सीमाको निगरानी गर्न आर्मेनियामा एक गैरसैन्य टोली पठाएको छ । तर, इयूले अझै धेरै काम गर्न बाँकी छ । हाल आर्मेनियाली भूभागमा मात्र तैनाथ रहेको इयू मिसनलाई आर्मेनिया–अजरबैजानको सम्पूर्ण सीमाको निगरानी गर्ने गरी तत्काल वृद्धि गरिनुपर्छ । युरोपेली नेताहरूले अलिएभको सरकारलाई अजरबैजानको भूमिमा इयूका कर्मचारीलाई अनुमतिका लागि दबाब दिन आवश्यक छ । निःसन्देह, निशस्त्र इयू मिसन त्यहाँ आक्रमण रोक्न सक्षम हुनेछैन, तर मिसनको उपस्थिति बढाउँदा अजरबैजानलाई सैन्य मुठभेडभन्दा पनि वार्ता रोज्न दबाब पर्नेछ ।

गत वर्ष रुसी ग्यास र तेलबाट तीव्र रूपमा स्थानान्तरण हुँदै गर्दा युरोपेली संघले अजरबैजानसँग बढ्दो रूपमा घनिष्ठ आर्थिक सम्बन्ध निर्माण गर्‍यो । तर, इयूका नेताहरूले अलिएभलाई दण्डहीनता कुनै पनि हालतमा स्वीकार्य नभएको र आफ्ना लागि अल्पकालिक व्यावसायिक हितभन्दा दीर्घकालीन मूल्यमान्यता बढी महत्वपूर्ण भएको र दक्षिण ककेससको शान्ति तथा स्थिरतामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुपर्छ । यदि अजरबैजानले आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धताको धज्जी उडाउँदै गयो र आइसिजेका बाध्यकारी आदेशको अवज्ञा जारी राख्यो भने उसले यसको राजनीतिक तथा आर्थिक परिणाम भोग्नुपर्छ । 

(प्रोजेक्ट सिन्डिकेटका लागि एन्डर्स फोग रास्मुसेनको आलेख । रास्मुसेन नाटोका पूर्वमहासचिव एवं डेनमार्कका पूर्वप्रधानमन्त्री हुन्)

ad
ad
ad
ad