Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२०७९ चैत १७ शुक्रबार ०८:१६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री थ्री नेसन्स कप : घरेलु मैदानमा उपाधि जित्ने नेपालको लक्ष्य

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ चैत १७ शुक्रबार ०८:१६:००

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा नेपालले घरेलु समर्थक र मैदानको सहयोगमा उपाधि जित्ने लक्ष्य राखेको छ । भुटानसँगको कमजोर प्रदर्शन बिर्साउँदै नेपाली खेलाडीले लाओससँगको फाइनलमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा छ । नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि भिडन्तका लागि मानसिक रूपमा तयार भएको बताए । ‘टोलीमा सबै नयाँ खेलाडी छन् । लाओससँग प्रतिस्पर्धा गर्न मानसिक रूपमा तयार छौँ,’ बिहीबार आयोजित प्रि–पोस्ट म्याचमा कप्तान किरणले भने । 

तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । जसमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरेका थिए । नेपालले आफूभन्दा १२ स्थानमुनि रहेको राष्ट्रविरुद्ध जित निकाल्न संघर्ष गरेको देखिन्थ्यो । दोस्रो खेलमा नेपालले खेलको अन्तिम मिनेटमा गोल गर्दै भुटानलाई १–१ को बराबरीमा रोक्दै अन्तिम दुई स्थान पक्का गरेको थियो । भुटानलाई बराबरीमा रोक्दा पनि नेपाल फाइनलमा पुग्ने थियो । 

भुटानसँगको फुटबल इतिहासमा नेपाल पहिलोपटक बराबरीमा रोकियो । नेपालले भुटानसँग अहिलेसम्मकै कमजोर प्रदर्शन गरेको हो । टोलीका अधिकांश सिनियर खेलाडी अस्ट्रेलिया पुगेपछि वर्तमान नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको छ । इटालियन प्रशिक्षक भिसेन्जो अल्बर्टो टोली निर्माणका क्रममा छन् । सिनियर र नयाँ खेलाडीबीचको तालमेल मिलाउन नसक्दा पनि पछिल्ला दुई खेलमा नेपालको प्रदर्शन सोचेजस्तो हुन नसकेको हो । 

विशाल राई, सुजल श्रेष्ठ, सन्तोष तामाङ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुमन लामा, दर्शक गुरुङ, आशिष लामालगायत एक दर्जनभन्दा बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया पुगेका छन् । नेपालसँग पराजित लाओसले भुटानलाई २–१ ले हरायो । भुटान नेपालसँग बराबरीमा रोकिँदा लाओस अन्तिम दुईमा पुग्यो । लाओसले भुटानसँगको प्रतिस्पर्धामा सुधारिएको प्रदर्शन गरेको थियो ।  

सुधारिएको प्रदर्शन हुने अपेक्षा
नेपालका कप्तान किरणले टोलीमा नयाँ अनुहार भएका कारण पनि फाइनल खेल निकै महत्वपूर्ण हुने जनाएका छन् । ‘टोलीमा सबै नयाँ खेलाडी छन् । अहिलेको टोली वातावरण खराब छ । नेपाली टोली निर्माण गर्ने यो निकै महत्वपूर्ण समय हो,’ किरणले भने, ‘यही खेलमार्फत युवा खेलाडीलाई प्रमाणित गर्ने अवसर छ ।’ नेपाल र लाओसबीचको फाइनल खेललाई फिफाको अन्तर्राष्ट्रिय मान्यता हुनेछैन । फिफा विन्डोमा दुई खेल मात्रै हुने हुँदा फिफाले तेस्रो खेललाई मान्यता दिएको छैन । यसैले यो खेलमा गोल गरेको र नेपालले खेलेको तथ्यलाई मानिँदैन । यसअघि नेपाल र लाओसले तीनपटक प्रतिस्पर्धा गरेका छन् ।