१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
निर्माणाधीन विराटनगर विमानस्थल टर्मिनल भवनको नमुना
अर्थ प्रिन्ट संस्करण

आठ अर्बभन्दा बढी लागतमा विराटनगर, नेपालगन्ज र भरतपुर विमानस्थलको स्तरोन्नति गरिँदै 

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ चैत १७ शुक्रबार ११:२१:००

यात्रुको चाप बढ्न थालेपछि आन्तरिक विमानस्थलहरू स्तरोन्नतिमा नागरिक उड्डयन प्राधिकरण (क्यान) सक्रिय भएको छ । क्यानले तीनवटा विमानस्थलका पुराना टर्मिनल भवनहरू स्तरोन्नति सुरु गर्नुका साथै रनवे विस्तार पनि गर्न थालेको छ । देशैभरका व्यस्त विमानस्थल स्तरोन्नति गर्ने योजनाअनुरूप चालू आर्थिक वर्षमा तीनवटा विमानस्थलमा आधुनिक सुविधा सम्पन्न बनाउन थालेको हो । 

विराटनगर, नेपालगन्ज र भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको काम अगाडि बढेको छ । करिब आठ अर्ब लागतमा यी विमानस्थलमा नयाँ टर्मिनल भवन, पार्किङ, एक्सेस रोड, ल्यान्डस्केपिङलगायत कामहरू हुनेछन् । विराटनगर र भरतपुर विमानस्थलमा रनवे विस्तारका लागि थप रकम लाग्नेछ । विराटनगर विमानस्थलमा करिब तीन अर्ब सात करोड, नेपालगन्ज विमानस्थलमा तीन अर्ब एक करोड, भरतपुर विमानस्थलमा एक अर्ब ९२ करोड लगानी लाग्ने क्यानले जनाएको छ । यसै वर्षभित्र भोजपुर विमानस्थलको स्तरोन्नतिका लागि पनि ठेक्का सम्झौता गर्ने तयारी भइरहेको छ । यसका लागि करिब सात करोड लगानी लाग्ने अनुमान छ ।

नेपालगन्जमा रनवे १५ सयबाट बढाएर १७ सय मिटर पुर्‍याउन ५० करोड खर्च भइसकेको छ । आन्तरिक हवाई यात्रुहरूले पनि सुविधाजनक यात्रा गर्न पाऊन् भनेर आधुनिक सुविधासम्पन्न टर्मिनल भवन निर्माण गर्न लागेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । उनले भने, ‘कोभिड महामारीपछि आन्तरिक हवाई यात्रु ह्वात्तै बढेका छन् । तर, दशकौँ पुराना अत्यन्तै साँघुरा र जीर्ण टर्मिनल भवनका कारण विमानस्थलमा हवाई यात्रुलाई सहज सेवा दिन सकस भइरहेको छ ।’ सन् २०२२ मा आन्तरिक हवाई यात्रु ४४ लाख ६६ हजार पुगेका छन् । यो संख्या २०२१ को तुलनामा २६.५८ प्रतिशत बढी हो । यात्रुको संख्या बढ्दै जाँदा दशकौँ पुराना टर्मिनल भवनबाट सेवा प्रवाह गर्न नसकेपछि देशभरका व्यस्त विमानस्थल स्तरोन्नतिमा क्यान तातेको प्रबन्धक नलविक्रम थापाले बताए ।

विराटनगर विमानस्थलमा तीन अर्बभन्दा बढी लगानी 
विराटनगर विमानस्थलमा नयाँ सुविधासम्पन्न टर्मिनल भवन निर्माणका साथै धावनमार्ग पनि विस्तार गर्न लागिएको छ । विमानस्थलमा टर्मिनल भवन, जहाज पार्किङ, एक्सेस रोड, ल्यान्डस्केपिङलगायत काममा करिब तीन अर्ब सात करोड लगानी लाग्ने अनुमान छ ।  विमानस्थलको नयाँ टर्मिनल भवन १६ हजार दुई सय ७७ वर्गमिटर क्षेत्रफलको हुनेछ । पिक आवरमा १८ सय यात्रुलाई सेवा दिन सकिने आन्तरिक विमानस्थलतर्फ देशकै ठूलो टर्मिनल भवन हुनेछ । यो टर्मिनल भवन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा पनि ठूलो हुने क्यानको भनाइ छ । 

टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, तीनवटा भिआइपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, चारवटा प्राइभेट कक्ष, हललगायत सुविधा रहनेछन् । पुरानो टर्मिनल भवन भएको ठाउँलाई पार्किङस्थल बनाइनेछ । 

यस विमानस्थलको १५ सय मिटर लामो धावनमार्गलाई बढाएर १७ सय ७० मिटर लामो बनाउन लागिएको छ । धावनमार्ग विस्तारका लागि थप रकम लगानी गर्नुपर्ने हुन्छ । २०२५ सालमा बनेको आधा शताब्दी पुरानो टर्मिनल भवनले तीन वर्षमा मुहार फेर्ने क्यानले जनाएको छ । नयाँ टर्मिनल भवन निर्माणका लागि केसी–डाँफे जेभीसँग ठेक्का सम्झौता भइसकेको छ भने धावनमार्ग विस्तारका लागि भने अझै ठेक्का सम्झौता भइसकेको छैन । 

‘पुरानो भवनलाई स्तरोन्नति गर्ने होइन, अर्को ठाउँमा नयाँ टर्मिनल भवन बनाउने हो,’ क्यानका प्रबन्धक थापाले भने, ‘अब कम्तीमा २०–२५ वर्षलाई यात्रुको चाप थेग्ने गरी टर्मिनल बनाउँछौँ ।’ हाल विराटनगरमा काठमाडौंबाट बुद्ध, यती, सौर्य र श्री एयरलाइन्सले उडान गर्दै आइरहेका छन् । साथै, पोखराबाट पनि विराटनगरमा सीधा हवाई उडानको तयारी भइरहेको छ ।

तीन अर्बमा नेपालगन्जमा नयाँ टर्मिनल भवन 
कर्णाली प्रदेशकै लाइफलाइन मानिँदै आएको नेपालगन्ज विमानस्थल आधुनिक सुविधासम्पन्न बनाइँदै छ । क्यानले नेपालगन्ज विमानस्थलको स्तरोन्नति, विकास तथा विस्तारका लागि गुरुयोजना बनाएर काम गरिरहेको छ । हाल १५ सय मिटर लामो रनवेलाई दुई सय मिटर बढाएर १७ सय मिटर पुर्‍याउने, रनवे लाइट राख्नेलगायत काम सम्पन्न भइसकेका छन् । ६ वटा एटिआर–७२ वा सोसरहका जहाज पार्किङका लागि एप्रोनसमेत निर्माण भइसकेको छ । यो कामका लागि करिब ५० करोड खर्च भइसकेको क्यानले जनाएको छ ।

विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पनि सुरु भएको छ । पिक आवरमा १६ सय यात्रुले सहजै सेवा प्राप्त गर्न सक्ने गरी डिजाइन गरिएको टर्मिनल भवन १३ हजार एक सय ४५ वर्गमिटर क्षेत्रफलको हुनेछ । नयाँ टर्मिनल भवन, पार्किङ, एक्सेस रोड, ल्यान्डस्केपिङलगायत काममा कुल तीन अर्ब एक करोड खर्च हुनेछ । शर्मा एन्ड कम्पनीसँग तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने सर्तसहित ठेक्का सम्झौता भएको छ । 

नेपालगन्ज विमानस्थल खजुराबाट सन् १९६१ देखि सञ्चालनमा आएकोमा सन् १०८० मा राँझामा स्थानान्तरण गरिएको थियो । यस विमानस्थलबाट काठमाडौं, पोखरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा हवाई सेवा सञ्चालन हुने गर्छ ।