मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मेक्सिको सिटी
२०७९ चैत १६ बिहीबार ०९:२२:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिका प्रवेश गर्न खोज्ने ४० आप्रवासीको जलेर मृत्यु  

Read Time : > 1 मिनेट
मेक्सिको सिटी
२०७९ चैत १६ बिहीबार ०९:२२:००

मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका छिर्ने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजस्थित अध्यागमन हिरासत कक्षमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

विगत केही दिनयता सिउडाड जुआरेजमा अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको भिड लाग्ने गरेको छ । आप्रवासीले आफूहरूलाई मेक्सिकोबाट निकाला गरिने जानकारी पाएपछि हिरासत कक्षमा ओछ्याइएका गद्दा जलाएर विरोध गर्दा उक्त हताहती भएको मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बताएका छन् । 

सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा सो हिरासत केन्द्रबाहिरको फुटपाथमा जलेका शवहरू प्लास्टिकले बेरेर लाइनमा राखिएको देखिन्छ । सुरक्षाका लागि राखिएका सिसिटिभी क्यामेरामा हिरासतमा रहेका आप्रवासीले गद्दामा आगो लगाएपछि धुवाँको मुस्लो छुट्दा सुरक्षाकर्मीहरू त्यसलाई बेवास्ता गर्दैै भवनबाट बाहिरिएका देखिन्छन् । भिडियोमा सुरक्षा अधिकारीहरूले आप्रवासीलाई हिरासतमुक्त गरेको देखिँदैन ।

स्थानीय सञ्चार माध्यमका अनुसार अधिकारीहरूले आप्रवासीलाई मेक्सिको र अमेरिकालाई जोड्ने स्ट्यान्टन–लेर्डाे पुलनजिक हिरासत केन्द्रमा राखेका थिए । आगलागीमा परी २९ जना आप्रवासी घाइतेसमेत भएका छन् । मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्युट (आइएनएम)द्वारा सञ्चालित उक्त केन्द्रमा आगलागीका वेला मध्य र दक्षिण अमेरिकाका ६८ अप्रवासी पुरुष थिए ।   

अमेरिकी भन्सार एवं सीमा अधिकारीले आगलागीमा परी घाइते भएका आप्रवासीलाई स्वीकार गर्ने प्रक्रिया प्रारम्भ गर्न आफूहरू तयार रहेको जनाएका छन् । घाइतेहरूलाई मेक्सिकोबाट एम्बुलेन्समार्फत उपचारका लागि अमेरिकी उपचार केन्द्रमा पुर्‍याइएको छ । मेक्सिकोका अधिकारीले आगलागीमा परी मर्ने एवं घाइते हुनेहरूमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक छन् । 

मेक्सिकोका लागि अमेरिकी राजदूत केन सालाजारले आप्रवासनका जोखिमहरू समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो देश सचेत रहेको बताएका छन् । कोभिड महामारी सुरुवात भएपछि लागू गरिएको कडा नियमका कारण आप्रवासीहरूले अमेरिका प्रवेशको अनुमति नपाएको उनको भनाइ छ । बाइडेन प्रशासनले तत्कालीन राष्ट्रपति ट्रम्पको नीतिको प्रयोग अन्त्य गर्ने घोषणा गरेका भए पनि अहिलेसम्म खारेज भने गरिएको छैन । बाइडेनको उक्त घोषणापछि प्रतिबन्धहरू हट्ने आसमा सिउडाड जुआरेजमा आप्रवासीहरूको आगमन निरन्तर बढिरहेको छ ।