मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १५ बुधबार १३:०३:००
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङ चिनाउने कालिका मन्दिरमा चैत्राष्टमी मेला

Read Time : > 4 मिनेट
२०७९ चैत १५ बुधबार १३:०३:००

यहाँ प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रूपमा छ। जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा कालिका मन्दिरकाे छुट्टै महत्व रहेको छन्। 

बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि बागलुङ कालिका मन्दिर र यहाँ लाग्ने चैते दसैँको मेला बन्न पुगेको छ । बागलुङ भन्नेबित्तिकै यहाँ लाग्ने चैते दसैँ मेला र बागलुङ कालिका मन्दिरसँगै जोडिएर आउँछन्। 

त्यसैले पनि बागलुङ कालिका मन्दिर र चैत्राष्टमी मेलाको विषयलाई लिएर थुप्रै गीत पनि गाइएका छन् । गायक शुभराम भारीले गाएको आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका गीतले कालिका मन्दिरको महिमा बोल्छ।  

त्यस्तै, गायक टीका क्षेत्री प्रकृतिले गाएको चैते दसैँ बागलुङे मेलैमा, विमलराज क्षेत्रीले चैते दसैँ मैलेमा माया बस्या ख्यालख्यालैमालगायतका थुप्र गीतले  चैते दसैँ मेलाबारे बोलेका छन् । गीतले बागलुङ कालिका र चैते दसैँ मेलाबीचको सम्बन्धलाई उजागर गरिएको छ। 

चैत्र शुक्ल अष्टमीका दिन चैत दसैँ मेला 

विक्रम संवत १५९१ मा पर्वते राजा प्रतापी नारायणसिंह मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफूसँगै दाइजोको रूपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखियो। 

पछि मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापनापछि चैते दसैँ मेलाको सुरु भएको किंवदन्ती पाइन्छ। उसो त कालिका मन्दिरमा हरेक दिन पूजापाठ हुन्छ । यद्यपि, चैते दसैँ र बडादसैँमा भक्तजनहरूको ठूलो घुइँचो लाग्छ । विशेषगरी धुमधामका साथ मेला लाग्ने चैते दसैँलाई खास मानिन्छ । हरेक वर्ष चैते दसैँमा यहाँ मेला लाग्छ।

राजा प्रतापी नारायण मल्लले माझकी देवीलाई हालको बाँगेचौरमा स्थापित गरेर आफ्नो राज्यको राजधानी ढोर(ल)थाना म्याग्दीको (बेनी) गएका थिए । तत्पश्चात् उनै कालिका देवीको मन्दिरमा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैते दसैँ मेला गरिने प्रचलन (परम्परा) चलाएको किंवदन्ती रहेको पाइन्छ। 

राजाले देवीलाई ढोर(ल) थाना नलग्नुको पछाडि विभिन्न कारण छन् । पर्वते राजाहरू वैष्णवमार्गी थिए । राजा प्रतापी नारायणका बाजे राजा डिम्ब बम मल्ल जगन्नाथका परं भक्त थिए । जगन्नाथको मन्दिर रहेको गाउँ अर्थात् आसपासमा काटमार गर्ने प्रचलन अहिलेसम्म पनि नरहेको हुँदा देवीको मन्दिर यहाँ स्थापना गरिएको पाइन्छ। 

पछि बागलुङ कालिका भन्ने चलन रहेको बागलुङका पवार खड्का नामक पुस्तकमा उल्लेख गरेका छन्। राजकुमारीको निकै प्रिय माझी देवीलाई बाँगेचौरमा स्थापना गरेपछि रानीको चित्त दुखाइलाई बुझेका राजा प्रतापी नारायणले बाँगेचौरमा देवीलाई स्थापित गरेर चैत्र शुक्ल अष्टमीलाई मध्यनजर गरी चैते दसैँ मेलाको आयोजना गरी रानीसहित आफू आएर देवीको पूजाअर्चना गर्ने, स्थानीय लोकसांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, खेलकुदलगायत हाटबजार सञ्चालन गर्ने साथै जनताको पीरमर्का सुन्ने र बुझने परम्परा कायम गरेको बताइन्छ । बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसी, बोका, राँगा तथा हाँस र सुँगुरसमेत बलि दिइन्छ। 

६ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने

बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार हरेक वर्ष बडादसैँमा चार लाखभन्दा बढी र  चैते दसैँमा ६ लाख आन्तरिक तथा बाह्य पर्यटक मन्दिरको दर्शन तथा पूजापाठ गर्ने अनुमान गरिएको छ। 

बडादसैँमा भाकल गरेकाहरू पूजा गर्न धेरै आउँछन् । चैते दसैँमा भने घुम्न र हेर्नका लागि आउनेहरूको संख्या बढी हुने गरेको खड्काले बताए । बागलुङ कालिकामा गरेको भाकल पूरा भएको भन्दै सुनचाँदी चढाउने चलन पनि छ । भक्तजनले मन्दिरको मूलगेटमा १५ केजी चाँदीको फ्रेम चढाएका छन् । कालिका देवीलाई यसरी सुनचाँदी चढाउने सयौँ वर्ष पुरानो प्रचलन रहिआएको छ।

मन्दिरमा आउने भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन मिलाइएको अध्यक्ष खड्का बताउँछन् । उनले भने, ‘पूजाका लागि लाइनको व्यवस्था गरेका छौँ, मन्दिरलाई अझै आकर्षक बनाइएको छ । पहिलेका पुराना संरचनालाई कलात्मक ढंगबाट पुनर्निर्माण गरिएको छ । यसले पर्यटकलाई झनै आकर्षण गराएको छ ।’
 
सामाजिक र आर्थिक क्षेत्रसँग जोड्ने 

बागलुङ कालिका मन्दिर र चैते दसैँ मेला जिल्लाको आर्थिक–सामाजिक अवस्थासँग जोडिएको छ। बाइसे–चौबिसे राज्य हुँदा एउटा राज्यले अर्को राज्यमाथि आक्रमण गररे कब्जा गर्ने चलन रहेको र देवीको पूजा गरेमा शक्ति प्राप्त हुन्छ र युद्ध जितिन्छ भन्ने विश्वासका आधारमा राजाहरूले पूजापाठको चलन बसाएको संस्कृतिविद् प्रेम छोटा बताउँछन । चैते दसैँ मेला यहाँको सामाजिक र आर्थिक क्षेत्रसँग जोडिएको छ। चैते दसैँको मौका पारेर यहाँका स्थानीय उत्पादनको बिक्री वितरण गर्ने गरिन्छ ।
 
उत्पादन भएका वस्तुलाई बजारको स्राेत 

ग्रामीण भेगमा उत्पादन भएका वस्तुलाई बजारको स्राेत बनेको छ मेला । यसले जिल्लाको आर्थिक क्षेत्रलाई धानेको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। 

चैते दसैँमा देशका विभिन्न ठाउँबाट मेला भर्न र कालिका मन्दिरको दर्शनका लागि आउने गर्दछन् । यहाँको ग्रामीण क्षेत्रमा निगालोको चोयाबाट निर्मित डोको, डाली, नाङ्लो, काठको ठेकी, फलामका भाँडा, मादल मेलामा बिक्री–वितरणका लागि राखिने गरिन्छ, यसले जिल्लाको आर्थिक क्षेत्रलाई टेवा पुग्ने श्रेष्ठले बताए। 

मेलामा विभिन्न ठाउँबाट काठका ठेकाठेकी, बेतबाँसबाट बनेका डाला, डाली, नाङ्ला आदि स्थानीय उत्पादन ल्याएर बिक्री गर्ने चलन अझै पनि कायमै छ । विगतमा यहाँको अर्थतन्त्र चैते दसैँ मेलामा निर्भर रहेको कुरा यहाँका व्यवसायी बताउँछन्। 

‘कुनै वेला सडक नहुँदा चैते दसैँमा लाग्ने मेलाकै भरमा बागलुङको अर्थतन्त्र चलेको थियो,’ श्रेष्ठले भने, ‘तर, अहिले चैते दसैँ मेला भर्न आएकाहरू बजार जाँदैनन्, बजारको व्यापार भने सोचेअनुसारको हुन सकेको छैन ।’ 

दोहोरी गीतको खानी चैते दसैँ मेला

चैते देसैँ मेला दोहोरीगीत लागि एउटा खानीकाे रूपमा रहेको छ । प्रत्येक वर्ष  चैत्राष्टमी मेलाका क्रममा दोहोरी गीत प्रतियोगितालाई निरन्तरता दिने गरिएको छ।

पछिल्लो समयमा उत्पादन भएका अधिकांश कलाकार चैते दसैँ मेलाको उपज भएको लोकदोहोरी गाएक विष्णु खत्री बताउँछन् । ‘देशका विभिन्न स्थानबाट मेलामा दोहोरी गीतमा कलाकार भाग लिने गर्दछन् ।  चैते दसैँ मेलामा लोकदोहोरी प्रतियोगिता हुने चलन निकै पुराना हो,’ खत्रीले भने, ‘चैते दसैँ मेलामा दोहोरी गाउँदागाउँदै म लोकदोहोरी क्षेत्रमा लागेको हुँ।’

पहिले–पहिले म्याग्दी, पर्वतमा महिला र यहाँका पुरुष तथा यहाँका महिला र म्याग्दी पर्वतका पुरुषहरूबीच लगातार दुई–तीन दिनसम्म झाम्रे गाउने चलन भएको अग्रजहरू बताउँछन् ।  त्यतिवेला, सालैजो, यानीमाया, लस्के भाका लगायत यहाँको स्थानीय मौलिक गीतहरू चैते दसैँमा गाउने गरिन्थ्यो। 

अहिले बिस्तारै हराउँदै गयो, गाउन छोडेपछि नयाँ पुस्ताले भुलेको बागलुङका समाजसेवी लालचन्द्र राजभण्डारीले बताए ।  चैते देसैँ मेलाको पहिचानको रूपमा रहेको दोहोरीगीत प्रतियोगितालाई चैत्राष्टमी मेला व्यवस्थापन समितिले यस वर्ष पनि निरन्तरता दिएको छ। चैत १३ देखि सञ्चालित मेला चैत १७ गतेसम्म सञ्चालन हुनेछ। 

भलिबल र छेलोमा युवाको आकर्षण

मेलामा सञ्चालन हुने भलिबल प्रतियोगितमा राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुन्छ । खेलप्रति युवाको आकर्षण पनि बढ्दै गएको छ । भलिबलको पुरस्कार राशि नै तीन लाख रुपैयाँ रहेका कारण पनि मेलामा खेलप्रेमी बढ्दै गएका छन्। 

भलिबल खेल हेर्नकै निम्ति टाढा टाढाबाट आउने गरेको जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगेश भण्डारी बताउँछन्।  मेलामा छेलो प्रतियोगिताले पनि निरन्तरता पाउकाे छ। यहाँ छेलो फाल्नका निम्ति देशका विभिन्न ठाउँबाट आउने गर्दछन्। 

पूर्वाधार निर्माणमा तीव्रता

अहिले बागलुङ कालिका मन्दिर मन्दिरको भौतिक पूर्वाधार निर्माणले गति लिएको छ । मन्दिरको यसै वर्ष छाना मर्मत गरिएको छ भने मन्दिर पसिरमा स्लेट ढुंगा बिछ्याइएको छ । मन्दिरको बृहत्तर विकास गरेर धार्मिक तथा पर्यटन गन्तव्य स्थलको रूपमा अगाडि बढाउने गुरुयोजना निर्माण गरिएको छ। 

दीर्घकालीन रूपमा असर नपर्ने गरी भौतिक निर्माण गर्न गुठी संस्थान र पुरातत्व विभागमा अध्ययनका लागि अगाडि बढाइएको अध्यक्ष खड्काले बताए।

मन्दिरपछाडिको भु प्वाइन्ट र ज्येष्ठ नागरिक आश्रमस्थल पनि सञ्चालन गरिएको छ। मन्दिरमा आउने दर्शनार्थीका निम्ति कालीगण्डकीको पानी लिफ्टिङ प्रविधिमार्फत मन्दिरपरिसरमा ल्याइएको छ।  

मन्दिरको मूलगेटमै पूजा सामग्री किन्न तथा खाजा खानका लागि सुविधासम्पन्न रेस्टुरेन्टसमेत सञ्चालनमा छ । यहाँको आर्थिक र पर्यटन विकासका लागि बागलुङ कालिका र चैते दसैँ मेलाले निकै महत्व बोकेको छ।  

तस्बिर : नारायण रिजाल/नयाँ पत्रिका