
मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले साहुकारपीडितको आन्दोलनलाई समर्थन जनाएका छन्। उनले तराईका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं आएर आन्दोलनरत मिटरब्याजपीडितप्रति ऐक्यबद्धता जनाउँदै आफू उनीहरूको साथमा रहेका बताएका छन्।
‘तपाईंको आँसुको हरेक थोपामा हाम्रो साथ छ, भन्दै मुख्यमन्त्री यादवले भनेका छन, ‘पैदल हिँडेर काठमाडौं पुग्नुभएका र काठमाडौं पुग्न नसकी घरमै उकुसमुकुसमा पर्नुभएका मिटरब्याजपीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरूको समस्याप्रति हामी गम्भीर छौँ।’
मुख्यमन्त्री यादवले ऐक्यबद्धतापत्र जारी गर्दै भनेका छन्, ‘मधेसबाट उठे पनि यो समस्या देशकै हो। एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिए पनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारमा अत्याचार नै गर्ने द्रव्यपिचासी प्रवृत्ति देखिएको छ। शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेशसमेतले मिलेर संयुक्त रूपमा काम गर्न, विशेष अधिकारसम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी छ।’
उनले केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको स्वागत गर्दै मुख्यमन्त्री यादवले समग्र समस्यालाई गम्भीर भएर सोच्न जरुरी भएको बताएका छन्।