१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ चैत १५ बुधबार ०७:२८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोसी नामकरण खारेज आन्दोलन : पहिचानवादी र प्रहरीबीचको झडपले विराटनगर तनावग्रस्त

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ चैत १५ बुधबार ०७:२८:००

प्रदेशको नाम कोसी खारेजीको माग गर्दै पहिचानवादी पक्षधर र प्रहरीबीचको झडपले मंगलबार दिनभर विराटनगर तनावग्रस्त बन्यो । झडपमा नेपाल प्रहरीका १३, सशस्त्र प्रहरीका १५ र १३ प्रदर्शनकारी गरी ४१ जना घाइते भएका छन् । दोहोरो झडपमा घाइते भएका प्रदर्शनकारीमध्ये तीनजनाको अवस्था गम्भीर छ । कोसी नाम खारेज गर्न भन्दै मंगलबारदेखि दोस्रो चरणको आन्दोलन सुरु भएको हो ।

पहिलो चरणको आन्दोलनका क्रममा ५ चैतमा विराटनगरमा निषेधाज्ञा तोड्ने क्रममा भएको झडपमा चार प्रहरी र आधा दर्जन प्रदर्शनकारी घाइते भएका थिए । घाइतेमध्ये धरानका लिम्बुवान भोलेन्टियर्स पदम लिम्बू लाजेहाङको १० चैतमा धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि आक्रोशित भएका पहिचानवादीहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका थिए । 

मंगलबार कोसी नामको पक्षमा मतदान गर्ने सांसदहरू युएनडिपीको दिगो विकाससम्बन्धी दुईदिने कार्यक्रममा विराटनगरको पाञ्चाली चोकमा रहेको होटेल बिगमा आएको सूचना पाएपछि आन्दोलनकारी होटेल घेराउ गर्न पुगेका थिए । प्रहरीले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको थियो । प्रदर्शनकारीहरू उत्तेजित भएर सांसदहरू कार्यक्रममा सहभागी भएको बिग होटेलमा जान खोजेपछि प्रहरीसँग झडप भएको थियो । 

नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन १३ राउन्ड र सशस्त्र प्रहरीले २९ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । नेपाल प्रहरीले १२ राउन्ड रबरको गोली फायर गरेको थियो । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदर्शनकारीले अश्रुग्यास टिपेर उल्टै प्रहरीमाथि प्रहार गर्दै ढुंगामुढा गरेपछि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मे परेको थियो । प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेर होटेलको कफी सपको सिसा फुटाइदिएका छन् । दिउँसो करिब साढे १२ बजेदेखि सुरु भएको झडप ३ बजेसम्म चलेको थियो । सो अवधिभर विराटनगरको बसपार्कदेखि रोडशेष र आसपासको क्षेत्रमा तनाव सिर्जना भएको थियो । त्यहाँ रहेका घर, होटेल र पसल सबै बन्द भएका थिए । 

किराँत राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले झडपका क्रममा घाइते भएकाको सुरुमा विराटनगरको पारस अस्पताल र त्यसपछि बिपी स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको बताए । ‘घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ,’ उनले भने । मोरङका एसपी दीपक पोखरेलले नेपाल प्रहरीतर्फ १३ जना घाइते भएको र उनीहरूको अवस्था सामान्य भएको जानकारी दिए । सशस्त्र प्रहरी मोरङका डिएसपी प्रेम प्रसाईंले झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएको र चारजनाको अवस्था गम्भीर रहेको जानकारी दिए । 

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार आन्दोलनकारीको पनि अभिभावक भएकाले मृतक लिम्बूलाई सहिद घोषणा गरेर पहिचान पक्षधरहरूलाई तुरुन्तै वर्तामा बोलाउन मुख्यमन्त्री हिक्मत कार्कीसँग आग्रह गरेका छन् । कोसी प्रदेशको नामकरण दुईतिहाइबाट भए पनि पहिचान पक्षधरहरूले संघर्ष चर्काउँदै बहिष्कार अभियान चलाएपछि कोसी प्रदेशको पक्षमा मतदान गर्ने सांसदहरू आफ्नो निर्वाचन क्षेत्र जान हिचकिचाउन थालेका छन् ।