
एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको छ ।
मंगलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।
कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव छिटो पार्टी सचिवालयमा पेस गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे टुंगोमा पुग्ने सकिने उनको भनाइ छ ।
त्यसैगरी बैठकले मिटरब्याजपीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । बैठकले पार्टी उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जंगलीले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।