Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ चैत १४ मंगलबार ०६:२९:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खुलामञ्च प्रवेशमा महानगरले बार लगाएपछि साहुकारपीडितको सडकमै वास

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ चैत १४ मंगलबार ०६:२९:००

राजनीतिक दलदेखि संघसंगठनसम्मले विरोध कार्यक्रम गर्ने थलो खुलामञ्चमा सुदखोरपीडित भने वर्जित, सुत्केरीदेखि वृद्धवृद्धासम्म सडकमै रात काट्न बाध्य

राजनीतिक दलदेखि विभिन्न संघसंगठनसम्मले दबाबमूलक कार्यक्रम गर्ने थलो बन्दै आएको खुलामञ्च मिटरब्याजीपीडितका लागि भने वर्जित गरिएको छ । महोत्तरीबाट पैदल हिँडेको १२औँ दिन सोमबार खुलामञ्च पुगेका उनीहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च छिर्न रोक लगाएको हो । 

सुदखोरबाट ठगिएका पीडितले खुलामञ्चबाट राज्यलाई गुनासो गर्न खोज्दा नगरप्रहरीले मूलगेटमै ताला ठोकेको छ । काखे बच्चा च्यापेर आएका सुत्केरीदेखि वृद्धवृद्धासम्म खुलामञ्च गेटअगाडि सडकमै रात काट्न बाध्य भएका छन् । दिउँसो विरोधका क्रममा बोकेका नारालिखित कार्टुन, पम्प्लेट ओछ्याएर सुतेका छन् । महिलाहरू सल र धोती ओछ्याएर सुतेका छन् । 

‘हामी १२ दिन पैदल हिँडेर यहाँ आइपुग्यौँ । काठमाडौंले हाम्रो पीडामा मल्हम लगाइदेला भन्ने आशा थियो, तर त्यसो गरेन,’ पीडित सुरजन तिवारीले गुनासो गरे, ‘हामी खुलामञ्चबाट सरकारलाई पीडा सुनाउन चाहन्थ्यौँ । ताला लगाएर हामीलाई रोकियो ।’

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारी भने उनीहरूलाई खुलामञ्च छिर्न रोकेको विषयमा आफू जानकार नभएको बताउँछन् । ‘तपाईंले राति फोन गर्नुभयो । दिउँसोदेखि म अर्कै कार्यक्रममा व्यस्त थिएँ । यसबारे मलाई कुनै जानकारी भएन,’ उनले दाबी गरे । 

सडकमा बसेका पीडितलाई स्वयंसेवकले त्यहीँ खानपानको प्रबन्ध भने गरिदिएका छन् । मध्यरातमा धर्नास्थल पुग्दा उनीहरू खाना खाँदै थिए । तर, पानी परे ओत लाग्ने ठाउँ छैन, शौच गर्ने ठाउँ पनि छैन । धर्नामा रहेका ४३ वर्षीय शिवानन्द यादवले भने, ‘खाना त खाइयो, तर राति पानी पर्‍यो भने ओत छैन । शौच गर्ने ठाउँ छैन । खुलामञ्चभित्र छिर्न पाएको भए कमसेकम पानी पर्दा ओत त लाग्न पाइन्थ्यो ।’

धनुषा, सिराहा, महोत्तरी, सर्लाहीबाट साहुकारले उठीवास लगाएका पीडितहरू बर्दिबास, पथलैया, हेटौँडा, भीमफेदी, चित्लाङ हुँदै पैदललै काठमाडौं आइपुगेका हुन् । १२ दिनसम्म हिँड्दा उनीहरूको पैतालामा ठेला उठेका छन् । तर, पीडाको पहाड बिसाउन पाएका छैनन् । ‘पैदल हिँड्दा हाम्रो पैताला फुटेका छन्, ठेला उठेका छन्, तर सुदखोर साहुकारविरुद्ध उठ्ने हाम्रो हौसला टुटेको छैन,’ पीडित मनोजकुमार पासवानले भने, ‘न्याय खोज्न काठमाडौं आएका हौँ, न्याय पाएर मात्रै घर फर्किन्छौँ ।’

सुत्केरीको बिचल्ली 
धनुषाको सबैला नगरपालिका– १२ बरखुर्वाकी २५ वर्षीया कल्पना राई ६ महिनाकी सुत्केरी हुन् । उनले यतिवेला शिशु स्याहार्दै घरमै आराम गर्नुपर्ने थियो । तर, साहुले उठीवास लगाएपछि उनी पनि काठमाडौं आइपुगेकी छिन् । श्रीमान् विजय कुँवर वैदेशिक रोजगारमा जाने भएपछि उनले साहुकार मुसहर यादवसँग दुई वर्षअघि ५० हजार ऋण लिएकी थिइन् । पटक–पटक गरेर उनले साहुकारलाई एक लाख रुपैयाँ दिइसकिन् । तर, उनको ऋण चुक्ता भएन । 

ऋण लिँदा उनले दुई लाख रुपैयाँको कपाली तमसुकमा ल्याप्चे लगाएकी थिइन् । तर, साहुकारले कपाली तमसुक च्यातेनन् । त्यसैलाई प्रमाण बनाएर प्रहरी प्रशासन लगाए । छँदाखाँदाको ऐलानी जग्गाबाट समेत उठीवास लगाइदिए । स्थानीय सुकुमबासी बस्तीमा शरण लिएकी उनले भनिन्, ‘श्रीमान् विदेश जाने भए । खर्चका लागि महाजनसँग ५० हजार ऋण लियौँ । त्यसबापत साहुकारले दुई लाख रुपैयाँको कपाली तमसुक बनायो । पटक–पटक गरेर हामीले एक लाख रुपैयाँ महाजनलाई दिइसक्यौँ । तर, उनले कपाली तमसुक च्यातेनन् । बरु त्यही कागजका आधारमा हाम्रो उठीवास लगाइदिए ।’

दूधेबालक काखी च्याप्दै १२ दिनअघि पैदलयात्रामा निस्कँदा उनले काठमाडौंबाट न्याय पाउने सपना देखेकी थिइन् । तर, काठमाडौंले उनको पीडा सुन्ने छाँट देखाएको छैन ।

सोमबार मध्यरात घटनास्थल पुग्दा दूधेछोरा उनको काखमा थियो । उनी चिसो भुइँमा थिइन् । ‘हामीसँग पीडाका पहाड छन् । खुलामञ्चमा बिसाउने चाहना थियो । सरकारलाई सुनाउने रहर थियो । तर, महानगरले गेटमा ताल्चा लगायो । हामी मञ्चसम्म जान सकेनौँ । न्याय पाउने आसमा हिँडेका हामीले अब कसरी न्याय पाउने ?’ उनले प्रश्न गरिन् । 

सिराहा गोलबजार नगरपालिका– ५ की ४२ वर्षीया सन्दलाकुमारी सिंह पनि न्याय पाउने आशामा पैदलै कल्पनासँगै काठमाडौं आइपुगेकी छिन् । गोलबजार– ४ की सम्रिकादेवी साहसँग सन्दलाले दुईपटक गरी एक लाख ३५ हजार ऋण लिएकी थिइन् । त्यसबापत उनले आठ लाख रुपैयाँको कपाली तमसुक बनाएकी थिइन् । पटक–पटक गरी उनले ऋणबापतको सबै रकम भुक्तानी गरिसकिन् । तर, सम्रिकादेवीले उनको ऋण चुक्ता गरिनन् । न त कपाली तमसुक नै चातिदिइन् । ‘ऋण लिएको जम्मा एक लाख ३५ हजार हो । साहुले त्यसबापत आठ लाखको कपाली तमसुक बनायो । ऋणबापतको रकम हामीले बुझाइसक्यौँ । तर, साहुले हाम्रो ऋण चुक्ता गरेको लेखेनन् । न कपाली तमसुक नै नष्ट गरे । पीडा भएपछि न्याय माग्न हामी काठमाडौं आइपुगेका छौँ,’ टुँडिखेल गेटमा धर्नारत उनले भनिन् ।

सिराहाकै धनगढीमाई नगरपालिका– ४ की ३६ वर्षीया सुगन्धा चौधरीको पीडा पनि सन्दलाकुमारी र कल्पनाको भन्दा फरक छैन । उनले स्थानीय साहुकार दयानन्द झासँग तीन वर्षअघि ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । त्यसबापत उनले तीन लाख रुपैयाँको कपाली तमसुक बनाएकी थिइन् । पटक–पटक गरी उनले साहुकारलाई दुई लाख रुपैयाँ भुक्तानी गरिसकेकी छिन् । तर, उनको ऋण घट्नुको सट्टा उनीविरुद्ध साहुकार झाले अदालतमा नौ लाख रुपैयाँ बिगो–दाबी गर्दै मुद्दा हालेका छन् । अदालतमा मुद्दा लड्ने उनको हैसियत छैन, न उनले कुनै वकिल नै चिनेकी छिन् । अदालतका प्रतिनिधि तारेख लिएर घर आउँछन् । साहुकार धम्क्याउन दैनिक घरमा मान्छे पठाउँछन् । पीडा असह्य भएपछि उनी पनि न्याय माग्न पैदालयात्रामा निस्कने निष्कर्षमा पुगिन् र काठमाडौं आइन् । ‘साहुले ऋण लिएभन्दा दोब्बर रकम असुल्यो । तर, ऋण चुक्ता भएन । न तमसुक नै च्यात्यो । उल्टो मविरुद्ध अदालतमा नौ लाखको मुद्दा हालेको छ । पीडा भएपछि न्याय माग्न काठमाडौं आएकी हुँ ।’

न्याय खोज्न ६ महिने शिशु बोकेर काठमाडौं आएकी कल्पना राई भन्छिन्–५० हजार ऋणको एक लाख ब्याज तिरिसकेपछि पनि साहुले जग्गासमेत हडप्यो

धनुषाको सबैला नगरपालिका– १२ बरखुर्वाकी २५ वर्षीया कल्पना राई ६ महिनाकी सुत्केरी हुन् । उनले यतिवेला शिशु स्याहार्दै घरमै आराम गर्नुपर्ने थियो । तर, साहुले उठीवास लगाएपछि उनी पनि काठमाडौं आइपुगेकी छिन् । श्रीमान् विजय कुँवर वैदेशिक रोजगारमा जाने भएपछि उनले साहुकार मुसहर यादवसँग दुई वर्षअघि ५० हजार ऋण लिएकी थिइन् । पटक–पटक गरेर एक लाख तिरिसकिन् । तर, ऋण चुक्ता भएन । किनभने साहुकारले उनलाई दुई लाखको तमसुकमा ल्याप्चे गर्न लगाएको थियो । त्यसैलाई प्रमाण बनाएर उल्टै प्रहरी–प्रशासन लगाएर ऐलानी जग्गाबाट समेत उठीवास लगाइदियो । स्थानीय सुकुमबासी बस्तीमा शरण लिइरहेकी कल्पनाले भनिन्, ‘५० हजार ऋणको एक लाख तिरिसक्यौँ । तर, साहुकारले कपाली तमसुकका आधारमा हाम्रो उठीवास लगायो ।’ दूधेबालक काखी च्याप्दै १२ दिनअघि पैदलयात्रामा निस्कँदा उनले काठमाडौंबाट न्याय पाउने सपना देखेकी थिइन् । तर, काठमाडौंले उनको पीडा सुन्ने छाँट देखाएको छैन । ‘हामीसँग पीडाका पहाड छन् । खुलामञ्चमा बिसाउने चाहना थियो । सरकारलाई सुनाउने रहर थियो । तर, सबैका लागि खुल्ने खुलामञ्चमा महानगरले हाम्रा लागि गेटमा ताल्चा लगायो । हामीले न्याय कहाँबाट र कसरी पाउने ?’ उनले प्रश्न गरिन् । 

मेयर बालेन भन्छन्– रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौँ
खुलामञ्चबाट राज्यलाई आवाज सुनाउन काठमाडौं महानगरले आफूहरूमाथि रोक लगाएको मिटरब्याजीपीडितको गुनासोपछि मेयर बालेन साहले रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले उनीहरूको मागमा ऐक्यबद्धता रहेको पनि जनाएका छन् ।

विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रह्यो । सधैँ काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिँडेर काठमाडौंआउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा वास र खानाको व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्‍यौँ,’ उनले लेखेका छन्, ‘तर, उहाँहरू खुलामञ्चमै बस्न खोज्नुभयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौँ र उहाँहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्दछौँ । हामी चाहन्छौँ यस्तो अवस्थामा कोही काठमाडौं आउन नपरोस्, गाउँगाउँमा सरकार पुगोस् ।’