Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
चितवनमा शनिबार र आइतबार भएको महाधिवेशनबाट निर्वाचित कराँते महासंघका पदाधिकारी
२०७९ चैत १३ सोमबार १०:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कराँते महासंघको नेतृत्वमा लामा

महाधिवेशनबाट २० सदस्य नेपाल कराँते महासंघमा निर्विरोध भएपछि कराँतेभित्रको विवाद अन्त्य भएको नवनिर्वाचित अध्यक्ष युवराज लामाको भनाइ

Read Time : > 1 मिनेट
२०७९ चैत १३ सोमबार १०:१५:००

नेपाल कराँते महासंघको शनिबार–आइतबार भएको महाधिवेशनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव एवं कराँतेका संस्थापकमध्येका एक मानिने युवराज लामालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । लामाको चयनसँगै कराँतेमा एक दशकदेखि देखिएको विवाद अन्त्य भएको मानिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कराँते महासंघ अस्तित्वमा रहँदा कराँतेभित्र विवाद रहेको थियो । कराँतेको विवाद समाधान गर्न परिषद्ले पटक–पटक समिति गठन गरेको थियो ।

 ०७५ फागुन १४ को दिन शम्भु आचार्यको अध्यक्षतामा कराँते महासंघको तदर्थ समिति गठन भएको थियो । यस समितिलाई तीन महिनाभित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी जिम्मेवारी प्रदान गरिएको थियो । यद्यपि, यो समितिले चार वर्षसम्म महासंघको विधान संशोधन तथा निर्वाचनसमेत गर्न सकेन ।

 त्यसपछि राखेपका सदस्यसचिव टंकलाल घिसिङले गत १३ माघमा पूर्वसदस्यसचिव लामाको अध्यक्षतामा नेपाल कराँते महासंघ तदर्थ समिति गठन गरेका थिए । सदस्यसचिव घिसिङले यस तदर्थ समितिलाई तीन महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृति गराई साधारणसभा र निर्वाचन गर्न निर्देशन दिएका थिए । राखेपको यसै निर्देशनअनुसार आइतबार कराँते महासंघको महाधिवेशन भएको हो । 

महाधिवेशनले कुशल खेलप्रशासकको परिचय स्थापित गरेका लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको हो । दुई महिनाअघि तदर्थ समितिको अध्यक्ष बनेपछि लामाले राखेपले दिएको समयसीमाभित्रै विधान संशोधन गरी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । 

‘हामीले राखेपले दिएको समयभित्र सबै कार्य पूरा गरेका छौँ,’ अध्यक्षमा निर्विरोध भएपछि लामाले नयाँ पत्रिकासँग भने, ‘सबैलाई समेटेर अगाडि बढेका छौँ ।’ यसअघिको केन्द्रीय समितिमा रहेका ध्रुवविक्रम मल्ल सहभागी भएनन् । यसअघिका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र कोषाध्यक्ष सानुलाल श्रेष्ठ अस्वस्थताका कारण महाधिवेशनमा उपस्थित हुन सकेनन् । 

लामा नै सदस्यसचिव हुँदा दुईवटा महासंघ
११ वर्षअघि राखेपका सदस्यसचिवमा लामा नै थिए । लामाले खेलकुदको सर्वोच्च निकाय राखेप हाँकिरहँदा कराँते महासंघ दुई–दुईवटा थिए । तत्कालीन समयमा नेपाल ओलम्पिक कमिटीले पुरेन्द्रविक्रम लाखेलाई र राखेपले दावा गुरुङको अध्यक्षतामा नेपाल कराँते महासंघलाई मान्यता प्रदान गरेको थियो । 

एकै खेलका दुई समानान्तर महासंघ हुँदा कराँते खेलमा विवाद अन्तर्राष्ट्रियस्तरमै पुगेको थियो । दुई कराँते महासंघ अस्तित्वमा रहँदा सन् २०१४ को दक्षिण कोरियाको इन्चोन एसियाडमा यसको प्रत्यक्ष असर देखियो । कराँते इभेन्टको अन्तिम समयमा राखेपले इन्चोन एसियाडमा सहभागी गराउन पठाइएको खेलाडीले प्रतिस्पर्धा गर्न पाइनन् । लाखे नेतृत्व रहेको महासंघले पठाएकी विमला तामाङले एकल कातामा प्रतिस्पर्धा गरिन् । उनले नेपाललाई कांस्य पदक दिलाइन् ।

कराँतेको विवाद अन्तर्राष्ट्रिय एरिनामै भयो । विवादबीच इन्चोन एसियाडमा नेपालले प्राप्त गरेको एक मात्र पदक कराँतेमै रह्यो । त्यही ११ वर्षअघिको विवाद आइतबारको महाधिवेशनले समाप्त गरेको छ । ‘अब कराँतेको विवाद समाप्त भएको छ,’ नवनिर्वाचित अध्यक्ष लामाले भने, ‘नेपालमा एउटा मात्र कराँते महासंघ रहनेछ ।’