१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत ११ शनिबार ०७:१८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मोफसल गोल्डकप : उपाधिका लागि सुदूरपश्चिम ११ र मनाङ-मर्स्याङ्दी भिड्दै

Read Time : > 1 मिनेट
२०७९ चैत ११ शनिबार ०७:१८:००

२२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल हुँदै छ । उपाधिका लागि सुदूरपश्चिम ११ ले मनाङ–मर्स्याङ्दीको सामना गर्दै छ । यी दुवै क्लब पहिलोपटक अन्तिम दुईमा पुगेका हुन् । उपाधि जसले जिते पनि तिलोत्तमा गोल्डकपमा नयाँ इतिहास रच्नेछ । फाइनल खेलको अन्तिम नतिजाले तिलोत्तमा गोल्डकपले नयाँ विजेता पाउनेछ । सुदूरपश्चिमले सेमिफाइनलमा थ्री स्टारलाई हराउँदै फाइनल स्थान पक्का गरेको थियो । मनाङले चारपटकको विजेता नेपाल पुलिस क्लब र फ्रेन्ड्सलाई निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

बुटवल–११, देवीनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा सुदूरपश्चिम र मनाङ उपाधि भिडन्तमा तयार छन् । मोफसलमा आयोजना भइरहेको गोल्डकपमा मनाङले त्यति राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । मनाङ यसपटक सुदूरपश्चिमलाई हराउँदै पहिलोपटक उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने योजनामा छ । 

मोफसलका अन्य गोल्डकपको फाइनलमा धेरैजसो ‘ए’ डिभिजन क्लबबीच नै उपाधि भिडन्त भइरहे । यसपटक बुटबलमा ‘ए’ डिभिजन क्लब मनाङले सुदूरपश्चिमको बलियो चुनौती सामना गर्नुपर्ने हुन्छ । सुदूरपश्चिमले फाइनलअघिसम्म टिमवर्कको भावनामा प्रतिस्पर्धा गरेको थियो । । 

तीनपटक विदेशीको पोल्टामा उपाधि
तिलोत्तमा गोल्डकपको इतिहास केलाउने हो भने अहिलेसम्म तीनपटक मात्र पाहुना टोलीले उपाधि उचालेका छन् । यसबाहेक अन्य संस्करणमा नेपालकै टोलीले उपाधि हात पारेका थिए । ०७५ सालमा अफ्रिकन टोलीले उपाधि जितेको थियो । प्रतियोगिताको पहिलो संस्करण सिद्धार्थ खेलकुद परिषद् रुपन्देहीले जितेको थियो । दोस्रो संस्करणको विजेता भारतीय टोली बम्बई फर्टिलाइजर भयो । 

नेपाल पुलिस क्लब प्रतियोगिताको सर्वाधिक विजेतामध्ये एक हो । पुलिसले तेस्रो, नवौँ, दसौँ र १३औँ संस्करण जितेको थियो । कालिका स्पोर्टस् क्लबले चौथोदेखि छैटौँसम्म लगातार उपाधिमाथि ह्याट्रिक गर्‍यो । कुनै समयमा नेपालकै चर्चित क्लब जनकपुर चुरोट कारखानाले पनि गोल्डकपको उपाधि जितेको थियो । आरएनएसी, महिन्द्रा एन्ड महिन्द्रा, त्रिभुवन आर्मी, रुपेन्देही–११, फ्रेन्ड्स, जावलाखेल, संकटा तथा थ्री स्टारले पनि तिलोत्तमा गोल्डकपको ट्रफी जितेका छन् । 

विजेताले ११ लाख पाउने
आयोजकले तिलोत्तमा गोल्डकप फुटबललाई आकर्षक र प्रतिस्पर्धात्मक बनाउन हरेक वर्ष धनराशि वृद्धि गर्दै आएको छ । यसपटकको विजेता टोलीले ११ लाख ११ हजार रुपैयाँ पाउनेछ । उपविजेता टोलीले पाँच लाख ५५ हजार रुपैयाँ पाउनेछ । ०७४ सालको संस्करणमा विजेता टोलीले सात लाख ७७ हजार रुपैयाँ पाएको थियो । ०७५ सालमा उपाधि विजेतालाई आठ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पाउनेछन् । यसैगरी, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकले जनही ३० हजार रुपैयाँ हात पार्नेछन् । तिलोत्तमा गोल्डकप मोफसलकै सर्वाधिक पुरोनो प्रतियोगितामध्ये एक हो । तत्कालीन बुटवल नगरपञ्चायतले ०३१ सालमा प्रतियोगिताको योजना बनायो । ०३३ सालदेखि गोल्डकप सुरु भयो । यस वर्ष आठ टोली सहभागी भएको प्रतिस्पर्धामा मनाङ र सुदूरपश्चिमबीच पहिलोपटक फाइनल खेल हुँदै छ ।