१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:५७:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

मानहानिमा राहुल गान्धीलाई दुई वर्ष जेल

सन् २०१९ को अप्रिलमा कर्नाटक राज्यको चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राहुल गान्धीले ‘किन सबै चोरहरूको साझा थर मोदी हुन्छ’ भन्दै प्रश्न गरेका थिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५७:oo

फौजदारी मानहानि मुद्दामा गुजरातको एक अदालतले भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । एक चुनावी र्‍यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर गान्धीलाई गुजरातको अदालतले बिहीबार दोषी ठहर गरेको हो । 

विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले मानहानि भएको ठहर गर्दै सुरतस्थित अदालतले बिहीबार उक्त आदेश दिएको हो । गान्धी तत्काल जेल जानु पर्नेछैन, किनकि उनलाई उक्त फैसलाविरुद्ध अपिल गर्ने ३० दिनको म्याद दिइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सन् २०१९ को अप्रिलमा कर्नाटक राज्यमा चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा गान्धीले ‘किन सबै चोरहरूको साझा थर मोदी’ हुँदो रहेछ भन्ने प्रश्न गरेका थिए ।

उनले भगौडा व्यापारी निरव मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यस्तो टिप्पणी गरेका थिए । र्‍यालीमा गान्धीले भनेका थिए, ‘यी सबै चोरहरूको उपनाम मोदी किन छ, निरव मोदी, ललित मोदी, नरेन्द्र मोदी ।’ नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानि भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले गान्धीविरुद्ध मुद्दा दायर गरेका थिए । 

गान्धीको अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानि भएको दाबी गर्दै भारतीय जनता पार्टी (भाजपा)का सांसद एवं गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले गान्धीविरुद्ध मुद्दा दायर गरेका थिए

अदालतको फैसला सुन्न नेता गान्धी अदालत पुगेका थिए । ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । मेरो भगवान् सत्य हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो,’ अदालतको आदेशपछि सामाजिक सञ्जालमा महात्मा गान्धीको भनाइ उद्धृत गर्दै राहुल गान्धीले हिन्दीमा लेखेका छन् । 

कांग्रेस पार्टीले अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । गान्धीका वकिलहरूले उचित कानुनी प्रक्रिया अवलम्बन नगरिएको बताएका छन् । उनीहरूले गान्धीको भाषण प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित रहेकाले उजुरीकर्ता पूर्णेश मोदी नभई प्रधानमन्त्री मोदी हुनु आवश्यक रहेको तर्क गरेका थिए । गान्धी उनको अपिलको सुनुवाइ नभएसम्म संसद्मा उपस्थित नहुने कंग्रेस पार्टी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

अदालत परिसरमा गान्धीलाई पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पार्टीका समर्थकले सुरतका विभिन्न क्षेत्रमा गान्धीका पक्षमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ‘भाजपाको अधिनायकवादसामु कांग्रेस नझुक्ने’, ‘राहुल गान्धी हिन्दुस्तानको सिंह हुन्’ लेखिएका प्लेकार्ड बोकेका थिए । 

अदालतको फैसला सार्वजनिक हुनेबित्तिकै दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले नेता गान्धीको समर्थन गर्दै न्यायालयको निर्णयप्रति असहमति जनाएका छन् । ‘गैरभाजपा नेता तथा पार्टीलाई मुद्दा लगाएर हटाउने षड्यन्त्र रचिएको छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

‘कंग्रेससँग हाम्रो मतभेद छ, तर राहुल गान्धीलाई मानहानिको मुद्दामा फसाउनु ठिक होइन । हामी अदालतको समर्थन गर्छौं तर यो निर्णयमा हामी असहमत छौँ,’ जनता र विपक्षी दलले प्रश्न गर्न पाउनुपर्ने तर्क गर्दै मुख्यमन्त्री केजरीवालले लेखेका छन् ।