मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्वरोजगार नेपाली नागरिकलाई पनि सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।
मुना कुँवर काठमाडाैं
२०७९ चैत ९ बिहीबार ०७:३२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारी र स्वरोजगार पनि सामाजिक सुरक्षा कोषमा

१ वैशाखदेखि नेपालमा नै रहेका स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत कोषमा आबद्ध गराइने

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ चैत ९ बिहीबार ०७:३२:००

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्वरोजगार नेपाली नागरिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोषमा सूचीकरण हुने पहिलो कामदार इजरायल रोजगारीमा रहेकी मञ्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई परिचय कार्ड प्रदान गर्दैै बुधबारबाट यसको शुभारम्भ गरेका हुन् ।

सूचीकरणको सुरुवातसँगै वैदेशिक रोजगारीमा रहेका कामदार पनि अब सामाजिक र आर्थिक रूपमा सुरक्षित भएको प्रधानमन्त्री दाहालले बताए । ‘वैदेशिक रोजगारीलाई बाध्यकारी नबनाउने सरकारको नीति छ । तर, पनि अहिले जाँदै गरेका कामदारलाई कुनै दुःख र समस्या नदिन निर्देशको दिएको छु । जाने कामदारले सहज र सरल प्रक्रियामार्फत रोजगारीमा जानुपर्छ,’ उनले भने । 

त्यस्तै, मुख्यसचिव शंकरदास वैरागीले वैदशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षामा आबद्ध गर्दा राष्ट्रिय पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने बताए । अहिले बजारमा देखिएको पुँजीको समस्या केही मात्रामा भए पनि कम हुने र लगानीयोग्य रकमको जोहो हुने उनले बताए । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले भने वैदेशिक रोजगारीमा रहेका कामदारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दा कामदारको सुरक्षाको साथै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिने क्रम पनि बढ्ने बताए ।

 मासिक दुई हजार भुक्तानी गरी कोषमा जोडिन सकिने 
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार वा स्वरोजगार नागरिक मासिक दुई हजार दुई रुपैयाँ भुक्तानी गरी सामाजिक सुरक्षा कोषमा जोडिन सक्नेछन् ।  कोषले बुधबारदेखि आबद्ध हुन चाहने कामदारको सूचीकरण सुरुवात गरेको छ । त्यस्तै, आगामी १ वैशाखदेखि नेपालमा नै रहेका स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत आबद्ध गराइने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । कोषमा आबद्ध हुने वैदेशिक रोजगारीमा रहेका श्रमिक वा स्वरोजगार नेपालीले दुर्घटना र अशक्तता सुविधा, आश्रित परिवार सुविधा र वृद्धावस्था सुरक्षा सुविधा पाउनेछन् । 

श्रमिकले भुक्तानी गरेको दुई हजार दुई रुपैयाँमध्येको ७.४८ प्रतिशतमा हुन आउने सात सय दुई रुपैयाँ दुर्घटना र अशक्तता तथा आश्रित परिवार सुविधा योजनामा जम्मा हुनेछ । बाँकी रकम वृद्धावस्था पेन्सन सुविधामा जम्मा हुने कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए । 

दुर्घटना र अशक्तता सुविधाअन्तर्गत वैदेशिक रोजगारीमा रहेका वा स्वरोजगार रहेका नागरिक विदेशमा नै दुर्घटना भएमा कोषले औषधि उपचारका लागि एक लाख रुपैयाँसम्म भुक्तानी गर्नेछ । त्यस्तै, पूर्ण रूपमा अशक्त भएमा न्यूनतम पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रूपमा आजीवन भुक्तानी गर्नेछ । यदि योगदानकर्ता आंशिक रूपमा अशक्त भएमा अशक्तताका आधारमा भुक्तानी हुने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।

आश्रित परिवार सुविधा योजनाअन्तर्गत कोषका आबद्ध नेपाली नागरिकको विदेशमा नै मृत्यु भएमा पति वा पत्नीले न्यूनतम पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा आजीवन पाउनेछन् । त्यस्तै, मृतकका सन्ततिले शैक्षिक वृत्तिबापत मासिक न्यूनतम पारिश्रमिकको ४० प्रतिशत रकम पाउनेछन् । अविवाहित मृतकको हकमा एकाघरमा बुबाआमाले सो सुविधा पाउनेछन् । 

वृद्धावस्थामा पेन्सन सुविधाअन्तर्गत योगदानकर्ता नेपाली नागरिक ६० वर्ष पुगेपछि सो अवधिसम्ममा कोषमा जम्मा भएको रकम र आर्जन भएको प्रतिफललाई १६० ले भाग गरी आउने रकम मासिक रूपमा आजीवन भुक्तानी हुनेछ । त्यस्तै, विदेशमा रहेका कामदार वा स्वरोजगार नेपाली नागरिकले न्यूनतम पारिश्रमिकको तीन गुणा, अर्थात् २८ हजार एक सय ५५ रुपैयाँसम्म कोषमा जम्मा गर्न सक्नेछन् । तर, सो रकममध्ये दुई हजार दुईमा थप भएको रकम अवकाश बचत सुविधामा जम्मा हुनेछ । यसरी जम्मा भएको रकम योगदानकर्ता नेपाल फर्किएपछि एकमुष्ट रूपमा निकाल्न पाउन सक्नेछन् । योगदानकर्ताले जम्मा भएको रकम र त्यसको प्रतिफलसमेत पाउने कोषका निर्देशक ज्ञवालीले बताए । 

 कसरी जोडिने सामाजिक सुरक्षा कोषमा 
सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेको कामदार वा स्वरोजगार नेपाली नागरिक तीन प्रक्रियाबाट आबद्ध हुने सक्ने कोषका निर्देशक डा. रोशन कोजूले बताए । पहिलोपटक वैदेशिक रोजगारीमा जाने समयमा, विदेशमा रहेका कामदार वा स्वरोजगारको श्रम स्वीकृति नवीकरण गर्ने अवधिमा कोषमा आबद्ध हुन सक्नेछन् । तर, विदेशमा नै रहेका र श्रम स्वीकृति नवीकरण गर्ने समय नभएका कामदार वा स्वरोजगार नागरिक पनि कोषमा आबद्ध हुन सक्नेछन् । 

पहिलोपटक वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिने समयमा नै कोषमा आबद्ध हुन सक्नेछन् । कामदार आफैँले कोषमा गएर वा म्यानपावरमार्फत पनि निवेदन दिन सक्ने कोषका निर्देशक कोजूले बताए । आबद्ध भएपछि कामदारले मेलमार्फत आफ्नो आइडी कार्ड प्राप्त गर्नेछन् । त्यस्तै, विदेशमा नै रहेका कामदारले हाल विदेशमा नै श्रम स्वीकृति नवीकरण गर्न पाउने व्यवस्था  छ । सोही अवधिमा उनीहरूले अनलाइनमार्फत कोषमा आबद्ध हुन सक्नेछन् ।

अनलाइनमार्फत कोषमा आबद्ध हुनका लागि वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको फेमिस सफ्टवेयरबाट निवेदन दिन सकिनेछ । त्यस्तै, विदेशमा रहेको र श्रम स्वीकृति अवधि पनि कायम भएका कामदार वा रोजगारले सामाजिक सुरक्षा काषको वेबसाइटमा गएर कोषमा आबद्ध हुनका लागि निवेदन दिन सक्नेछन् । 

 श्रमिकको भविष्य सुरक्षित भएको छ :  प्रधानमन्त्री
यस कार्यक्रममार्फत विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन र यहाँहरूलाई कहीँ न कहीँ देशसँग जोडिरहन र राज्य यहाँहरूसँगै भएको भावना दिलाउने प्रयास गर्न पाएकोमा म अत्यन्तै हर्षित छु । अब सबै युवाहरू यो दूरगामी महत्वको कार्यक्रममा सहभागी भई लाभान्वित हुन र सुरक्षित महसुस गर्न आह्वानसमेत गर्न चाहन्छु । 

यो योजनाले वैदेशिक रोजगारीमा रहेका श्रमिकको भविष्य सुरक्षित गरेको छ । जीवनको उत्तरार्धमा सबैको पेन्सन सुनिश्चित गरेको छ । साथै, आगामी वैशाख महिनादेखि सुरु हुने सबै अनौपचारिक, स्वरोजगार क्षेत्रका श्रमिकहरूसम्म यो योजना पुग्ने निश्चित भएको हुँदा राज्यले दिने सामाजिक सुरक्षाको दायरा फराकिलो हुँदै गएको छ ।

यसबाट सामाजिक सुरक्षाको दायरामा आउने जनसंख्या ह्वात्तै बढ्ने विश्वास मैले लिएको छु । हाम्रो १५औँ योजनाले लिएको ६० प्रतिशत जनसंख्यालाई कुनै न कुनै रूपमा सामाजिक सुरक्षाको दायरामा ल्याउने लक्ष्यको प्राप्तिमा यसले धेरै ठूलो योगदान गर्नेछ भन्ने विश्वास लिएको छु ।