१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:३६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयात बढ्यो, निर्यात घट्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:३६:oo

चालू आर्थिक वर्ष २०७९/८० को पछिल्ला तीन महिनायता (मंसिरदेखि माघसम्म) आयात बढ्न थालेको छ । सरकारले आयातमाथि कडाइको व्यवस्था हटाएको असर फागुनमा देखिएको हो । भन्सार विभागका अनुसार फागुन एक महिनामा मात्रै एक खर्ब ३९ अर्बको वस्तु आयात भएको छ ।

मंसिरमा एक खर्ब ३२ अर्बको वस्तु आयात भएको थियो । त्यसपछिका दुई महिना आयातमा निरन्तर गिरावट आयो । पुसमा एक खर्ब २७ अर्ब र माघमा एक खर्ब २६ अर्बका वस्तु आयात भयो । फागुनमा भने आयातको ग्राफ उकालो लागेको हो । मासिक आयातमा गिरावट आएसँगै गत वर्षको तुलनामा भने आयात घटेकै देखिन्छ । गत आर्थिक वर्षमा रुस र युक्रेनबीचको युद्धका कारण विश्वबजारमा चुलिएको महँगीको असर नेपाली वैदेशिक व्यापारमा परेको थियो । त्यतिवेला नेपालमा वस्तु आयात पनि बढ्दै गइरहेको थियो । 

गत वैशाखदेखि पुससम्म सरकारले केही वस्तुको आयातमाथि लगाएको प्रतिबन्ध र शतप्रतिशत नगद मार्जिनको व्यवस्थाका कारण चालू आर्थिक वर्षमा तुलनात्मक रूपमा आयात घटेको हो । गत आर्थिक वर्षको पहिलो आठ महिनामा १३ खर्ब आठ अर्बको वस्तु आयात भएको थियो । चालू आर्थिक वर्षको आठ महिनामा १० खर्ब ५८ अर्बबराबर वस्तु आयात भएको छ ।

अत्यधिक आयात हुनेमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, कच्चा खानेतेल, स्मार्टफोन, सुनलगायतका वस्तु छन् । विभागका अनुसार आठ महिनामा ९८ अर्ब ९५ करोडको डिजेल, ४४ अर्ब १५ करोडको पेट्रोल, ३८ अर्ब ७२ करोडको खाना पकाउने ग्यास, १४ अर्ब ५१ करोडको हवाई इन्धन, २७ अर्ब ६७ करोडको भटमासको कच्चा तेल, १० अर्ब ९८ करोडको सूर्यमुखी कच्चा तेल, २० अर्ब ११ करोडको पाम तेल, १६ अर्ब ६० करोडको स्मार्टफोन र १६ अर्ब ४६ करोडको सुन आयात भएको छ । 

 निरन्तर खुम्चिँदै छ निर्यात 
सरकारले आयातमाथिको कसिलो नीति हटाएपछि आयातमा वृद्धि भए पनि निर्यात व्यापार भने ओरालो लागेको छ । विभागका अनुसार फागुनमा ११ अर्ब ३६ करोडको मात्रै वस्तु निर्यात भएको छ । पुसमा १३ अर्ब ५० करोडको निर्यात भएको थियो । माघमा १२ अर्ब ६२ करोड निर्यात गरेको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको फागुनमा नेपालले १६ अर्ब नौ करोडको निर्यात भएको थियो । 

चालू आर्थिक वर्षको आठ महिनाको कुल निर्यातमा समेत कमजोर देखिएको छ । यस अवधिमा एक खर्ब चार अर्ब ७६ करोडको निर्यात भएको थियो । गत आर्थिक वर्षको यही अवधिमा एक खर्ब ४७ अर्ब ७२ करोडको निर्यात भएको थियो । निर्यात हुने प्रमुख वस्तुमा प्रशोधित सूर्यमुखी तेल, पामतेल, कार्पेट, अलैँची, धागो छन् । यसबीच आठ अर्ब ३७ करोडको सूर्यमुखी तेल, १३ अर्ब एक करोडको पाम तेल, सात अर्ब ३८ करोडको गलैँचा, पाँच अर्ब ८६ करोडको अलैँची र तीन अर्ब नौ करोडको धागो निर्यात भएको छ । 

 आठ महिनामा २२ सय विद्युतीय कार आयात
चालू आर्थिक वर्षको आठ महिनामा ६ अर्ब १९ करोडबराबरका दुई हजार एक सय ९८ विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । नेपालमा भारतमा उत्पादित विद्युतीय गाडी सबैभन्दा धेरै आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । भारतबाट मात्रै आठ महिनामा चार अर्ब २६ करोडका एक हजार पाँच सय ७१ विद्युतीय गाडी आयात भएका छन् । नेपालमा भारतबाट टाटाको नेक्सन र टिगोर, महिन्द्रा इभीलगायत गाडी आयात गरिन्छ । यस्तै, पछिल्लो समय टाटाको इभी ट्याक्सी एक्सप्रेस–टी पनि नेपाल भित्रिन थालिसकेको छ । 

चीनबाट तीन सय ६८ विद्युतीय गाडी भित्रिएका छन् । चीनबाट एमजी, निटा भी, बिवाइडी, विलिङलगायत विद्युतीय कार आयात हुन्छन् । यस्तै, दक्षिण कोरियाबाट २५२ र अमेरिकाबाट चारवटा विद्युतीय गाडी आयात भएका छन् । दक्षिण कोरियाबाट हुन्डाई कोना र अमेरिकाबाट टेस्ला विद्युतीय कार नेपाल भित्रिने गरेका छन् । यसअघि कोरियाबाट कियाको सोल र निरो इभी आयात हुने गरेकोमा पछिल्लो समय कर बढेपछि आयात करिब ठप्प छ । इन्डोनेसियाबाट पनि तीनवटा विद्युतीय कार भित्रिएको विभागको तथ्यांक छ ।

नेपालमा धेरै गाडी एक सय किलोवाटसम्मका आयात हुने गरेका छन् । सरकारले एक सय किलोवाटसम्मका विद्युतीय गाडीमा कर सहुलियत दिएको हुँदा सस्तो पर्ने भएकाले आयात धेरै भएको हो । आठ महिनामा आयात भएका कुल २१ सय ९८ विद्युतीय कारमध्ये एक सय किलोवाटसम्मका २१ सय ३९ रहेका छन् । यस्तै, एक सयदेखि दुई सय किलोवाटसम्मका ५२ र दुुई सयदेखि तीन सय किलोवाटसम्मका सातवटा विद्युतीय गाडी नेपाल आएको विभागले जनाएको छ ।