१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ८ बुधबार ०९:५७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तीन करोडमा आठवटा गाडी खरिद गर्दै काठमाडौं महानगर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ८ बुधबार ०९:५७:००

काठमाडौं महानगरपालिकाले आठवटा नयाँ गाडी किन्ने योजना अघि सारेको छ । दुई करोड १० लाख रुपैयाँमा ६ वटा विद्युतीय कार र एक करोडमा दुईवटा जिप खरिद गर्न लागेको हो । 

महानगरसँग हाल सबै प्रकारका गरी एक सय ३४ वटा गाडी छन् । त्यसमध्ये फोहोर बोक्ने कन्टेनर ७० वटा, कार २० वटा, जिप १५ वटा, पानीको ट्यांकर २० वटा र पाँचवटा बु्रमर चालू अवस्थाका छन् । बाँकी गाडी मर्मत गर्नुपर्ने अवस्थाका छन्, जुन टेकुस्थित वातावरण विभागपरिसरमा लिलामका लागि राखिएको छ । यी गाडीको लिलाम प्रक्रिया भने सुरु नगरिएको वातावरण विभाग प्रमुख रविमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महानगरमा हाल प्रयोग भइरहेका अधिकांश गाडी पनि पुराना भइसकेका छन् । ‘महानगरका सीमित कर्मचारी र जनप्रतिनिधिले चढ्नेबाहेकका अन्य गाडी थोत्रा भइसकेका छन्,’ उनले भने, ‘धुवाँ धेरै फाल्ने र ब्रेक नलाग्ने भएकाले बिस्तारै हटाउँदै जानुपर्छ ।’ कतिपय त ३० वर्ष पुराना गाडीसमेत रहेको उनले बताए । प्रयोगमा रहेकामध्ये फोहोर संकलन गर्ने तीनवटा भ्यान, पाँचवटा जिप, तीनवटा ट्यांकर ३० वर्षभन्दा पुराना छन् । 

खरिद गर्न लागिएका नयाँ गाडी बजार अनुगमन र विभागीय प्रमुखहरूका लागि हो । तीनवटा कार वातावरण विभाग, सहरी व्यवस्थापन विभाग र वित्त विभागका लागि हुन् भने अन्य दुईवटा जिप महानगर प्रहरीका लागि हो । त्यसबाहेक अन्य तीनवटा कार बजार अनुगमनका लागि हो । उपमेयर सुनीता डंगोलले सबै विभाग तथा शाखाहरूबाट बजार अनुगमनका लागि गाडी अपुग भएकाले नयाँ गाडी खरिद गर्न माग गरेकी थिइन् । 

वैशाखभित्रै नयाँ गाडी आइसक्ने
नयाँ गाडी खरिदका लागि एक साताअघि टेन्डर आह्वान गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । आगामी वैशाखसम्म नयाँ गाडी खरिद गरिसक्ने महानगरको योजना छ । ‘केही विभाग र कर्मचारीका लागि गाडी अपुग छ, नगर प्रहरीलाई पनि गाडी चाहिएको छ, यही कारण नयाँ खरिद गर्न लागेका हौँ,’ प्रवक्ता मानन्धरले भने । महानगरका मेयर बालेन्द्र साह पाँच वर्षअघि खरिद गरेको करिब दुई करोड पर्ने टोयटा कम्पनीको कार चढ्छन् । उपमेयर सुनीता डंगोल ८० लाख पर्ने गाडी चढ्छिन् । मेयर र उपमेयरले विभाग, नगर प्रहरी र बजार अनुगमनका लागि चाहिने गाडी खरिद प्रक्रिया अघि बढाउन जिन्सी तथा खरिद शाखालाई निर्देशन दिएपछि टेन्डर आह्वान गरिएको हो ।